नेपालको राजनीति आज एउटा निर्णायक मोडमा उभिएको छ । यो मोड कुनै एक दल, एक नेता वा एक घटनाले बनाएको होइन । यो मोड तीन दशक लामो असफल अभ्यास, टुट्दै गएको जनविश्वास र एकैपटक जागृत भएको नयाँ पुस्ताको सामूहिक चेतनाले बनाएको हो । यही ऐतिहासिक क्षणमा एउटा प्रश्न सम्पूर्ण समाजमाथि उठिरहेको छ– के रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ अब पनि आ–आफ्नै बाटो हिँडिरहनेछन् या समयले दिएको साझा दायित्व स्विकारेर एउटै राष्ट्रिय यात्रामा उभिनेछन् ?
यो लेख कुनै व्यक्तिको जयगान होइन, न कुनै दलको प्रचार । यो त एउटा राष्ट्रिय दबाबपत्र हो– इतिहास, पुस्ता र लोकतन्त्रले यी तीन व्यक्तिमाथि सुम्पेको जिम्मेवारीको दस्ताबेज । जेन–जी आन्दोलन, चेतनाको उदय : गत भदौको जेन–जी आन्दोलन आकस्मिक आक्रोशको विस्फोट मात्र थिएन । त्यो त लामो समयदेखि भित्रभित्रै उम्लिरहेको असन्तुष्टिको संगठित अभिव्यक्ति थियो ।
बेरोजगारी, भ्रष्टाचार, अवसरमा पहुँच नहुनु, योग्यताभन्दा चाकडीको शासन– यी सबै कारणले युवापुस्तालाई सडकमा ल्यायो । यसको सबैभन्दा सकारात्मक पक्ष के हो भने युवाले फेरि राजनीतिप्रति चासो राख्न थाले । उनीहरू अब ‘राजनीति फोहोरी खेल हो’ भनेर पन्छिन चाहँदैनन्, बरु ‘राजनीति किन फोहोरी बनाइयो’ भनेर प्रश्न गर्न थालेका छन् । यही जागरणले नेपाललाई विश्वमै चकित पार्ने अवस्था सिर्जना गर्यो ।
तर, यसको अर्को पाटो पनि छ । केही ठाउँमा शक्तिको दुरुपयोग, अराजक व्यवहार र आवेगले आन्दोलनको नैतिक बल कमजोर बनाउने प्रयास भए । यही कारण आजको मुख्य चुनौती आन्दोलनलाई संरक्षण, परिष्करण र संस्थागत दिशा दिनु हो । यदि यो जागरण नेतृत्वविहीन रह्यो भने पुरानै शक्तिले यसलाई ‘अराजक’ ठहर गरेर दमन गर्नेछ, इतिहासले पटक–पटक देखाइसकेको यथार्थ यही हो ।
जेन–जी आन्दोलनले नयाँ राजनीतिक संस्कारको माग गर्यो । युवा अब केवल आलोचना होइन, परिणाम देखाउन चाहन्छन् । सडकमा उठेको प्रश्न संसद्, सरकार र संविधानमार्फत समाधान नभए यसको वैधता नै कमजोर हुनेछ । यही वेला रवि लामिछाने धरौटीमा छुटेको समयलाई अवसरका रूपमा परिणत गर्न सकिन्छ । उनको भूमिकाले केवल कानुनी प्रक्रियामा सीमित नभई सबै पक्षलाई साझा पहल गर्न प्रेरित गर्ने क्षमता राख्छ र त्यो क्षमता एउटा सीमित घेरालाई तोडेर ठुलो र उदार मनका साथ सबैको कल्याण र समयको मागका लागि सदुपयोग हुनुपर्छ ।
रविको राजनीतिक कमान्ड, बालेनको उत्प्रेरक शक्ति र कुलमानको कार्यान्वयन क्षमता, यी सबै एकै ठाउँ आए भने त्यो केवल दल होइन, राष्ट्रिय परियोजना बन्न सक्छ
पुरानो राजनीति र गहिरिँदो वितृष्णा : कांग्रेस, एमाले र माओवादी (नेकपा) तीनै दल आज जनताको नजरमा विश्वासयोग्य विकल्प रहेनन् । समस्या केवल भ्रष्टाचार होइन, संरचनागत पतन पनि हो । यी दल विचारभन्दा व्यक्ति, नीतिभन्दा स्वार्थ र संगठनभन्दा गुटमा सीमित भए । एमालेमा केपी ओली पुनः निर्वाचित हुँदै हाबी हुनु, नयाँ नेतृत्वलाई अस्वीकार गर्नु र पुरानो संरचना जोगाउने प्रयास हुनु, कांग्रेसमा शेरबहादुर देउवाको फेरि चुनाव लड्ने चाहना देखिनु, गगन थापाहरूविरुद्ध मोर्चाबन्दी हुनु र संसद् पुनस्र्थापनाको माग गर्दै अदालतलाई राजनीतिक दबाबमा पार्ने प्रयास हुनुले पुरानो नेतृत्व परिवर्तन होइन, सत्ता दोहोर्याउने रणनीतिमा मात्रै केन्द्रित छ भन्ने प्रमाणित हुन्छ । यही कारण नागरिकमा वितृष्णा गहिरिँदै गएको छ । जनताले नयाँ अनुहार मात्र होइन, नयाँ संस्कार खोजिरहेका छन् । पुरानो शक्तिले आफ्नो स्वार्थ र गुटलाई प्राथमिकता दिन्छ । नयाँ पुस्ता अब यो स्विकार्न चाहँदैन । युवाले परिणाममुखी, जवाफदेही र पारदर्शी नेतृत्व खोजिरहेका छन् ।
रवि–बालेन–कुलमानको मिलनले यही गतिरोधलाई तोड्न सक्छ । तीनैजनाले साझा पहल गरेर पुरानो शक्तिको प्रभावलाई सन्तुलनमा राख्नुपर्छ । रवि धरौटीमा रहेकै वेला उनले सबै पक्षलाई जुटाउन पहल गर्नुपर्छ, बालेनको प्रशासनिक अनुभव र कुलमानको संस्थागत दक्षता मिसाएर एउटै दिशा निर्माण गर्नु जरुरी छ ।
रवि, बालेन र कुलमान, किन यी तीन ? : रवि लामिछाने जनआक्रोशका भाष्य हुन् । उनको भाषणले आमनागरिकको दबिएको आवाज बोल्छ । बालेन शाह युवाको आत्मविश्वास र अस्वीकारोक्तिका प्रतीक हुन् । उनका स्ट्याटस मौन तर शक्तिशाली राजनीतिक वक्तव्यजस्ता देखिन्छन् । कुलमान घिसिङ भने भाषण होइन, एक्सन हुन्, काम गरेर देखाउने क्षमताको जीवित प्रमाण । यी तीनैका आआफ्नै कमजोरी पनि नभएका होइनन् । तर, यिनै तीनमा आजको नेपाललाई चाहिने पूरक क्षमता पनि छ । रविको राजनीतिक कमान्ड, बालेनको उत्प्रेरक शक्ति र कुलमानको कार्यान्वयन क्षमता, यी एकै ठाउँ आए भने त्यो केवल दल होइन, राष्ट्रिय परियोजना बन्न सक्छ ।
तर, एउटा स्पष्ट चेतावनी आवश्यक छ, यी तीनैजना आसेपासेको साँघुरो घेरामा पर्नुहुँदैन । तर, विडम्बना ! पुराना राजनीतिक दलको कमजोरी दोहोर्याउँदै यिनीहरूका आसेपासेले नेतृत्वलाई सीमित घेराभित्रै राख्न खोजेजस्तो पनि देखिन्छ । केपी ओलीलाई बा भनेझैँ यिनका कार्यकर्ता, शुभचिन्तक कतै एमाले पथमा जान लागेका त होइनन् भन्ने आशंका पनि पैदा हुन्छ । यिनले यसबाट सचेत हुनु जरुरी छ । हो, पुरानो राजनीति यहीँ चुक्यो । ‘राम्रा’लाई भन्दा ‘आफ्ना’लाई जोगाउने प्रवृत्तिले नै सबै आन्दोलन विफल भए । यदि नयाँ शक्ति पनि यही बाटामा गए भने जनताले माफी दिनेछैनन् । अहिले आमसर्वसाधारण नागरिकले बालेनको मौनता, रविको गर्जन र कुलमानको ‘एक्सन’बाट धेरै आशा गरेका छन् ।
निर्वाचन लोकतन्त्रको एक मात्र बाटो : रवि लामिछाने धरौटीमा बाहिर निस्किएका छन् । यो केवल कानुनी प्रक्रिया होइन, लोकतान्त्रिक परीक्षाको घडी पनि हो । पुराना शक्तिले प्रतिशोधको राजनीति गर्ने स्पष्ट छ । समयमै निर्वाचन भएन भने जेन–जी र नयाँ शक्तिमाथि प्रतिशोध झन् तीव्र हुनेछ । लोकतन्त्रमा निर्वाचनको विकल्प हुँदैन । त्यसैले, यी तीनैजनाले स्पष्ट रूपमा समयमै निर्वाचनको माग गर्दै संयुक्त पहल लिनुपर्छ । चुनावबाट भाग्ने होइन, चुनाव जितेर प्रणाली बदल्ने साहस देखाउनुपर्छ । निर्वाचनले केवल व्यक्तिको लोकप्रियता होइन, प्रणालीगत सुधार र संस्थागत शक्ति सुदृढ गर्नुपर्छ । साझा मोर्चा, साझा रणनीति र स्पष्ट एजेन्डाविना, जनताले विश्वास गर्न सक्दैन ।
साझा चुनावी मोर्चा, रास्वपा र उज्यालो नेपाल : हालको वस्तुस्थितिमा उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एउटै चुनाव चिह्न (घन्टी) लिएर निर्वाचनमा जानु व्यावहारिक र सन्देशमूलक हुनेछ । यसले मत विभाजन रोकेर दुईतिहाइनजिकको जनादेश सम्भव बनाउँछ । सकिन्छ भने हर्कको श्रम संस्कृति पार्टीलगायत अन्य वैकल्पिक सोच भएकाहरूलाई पनि यस मोर्चामा सामेल गराउनुपर्छ । दुईतिहाइको उद्देश्य सत्ता होइन । उद्देश्य हो, संविधान संशोधन, संरचनागत सुधार र विकासको स्थायी जग । यसले पुराना शक्ति र नयाँ नेतृत्वबिच सन्तुलन कायम गर्ने अवसर दिन्छ ।
निर्वाचनपछि खुला महाधिवेशन र संस्थागत दल : निर्वाचन जितेपछि सबैभन्दा ठुलो परीक्षा सुरु हुन्छ, दल निर्माणको । व्यक्तिकेन्द्रित दल होइन, संस्थागत, लोकतान्त्रिक र पारदर्शी पार्टी निर्माण नै दीर्घकालीन समाधान हो । खुला महाधिवेशनमार्फत पार्टीको नाम, सिद्धान्त, विधान र नेतृत्व तय गरिनुपर्छ । पार्टीको मूल आधार हुनुपर्छ, स्वाभिमान र सबैको समृद्धि । यो दल लोकतान्त्रिक, प्रगतिशील, समानुपातिक–समावेशी र अग्रगामी चरित्रको हुनुपर्छ । सबै तहको नेतृत्व सार्वभौम सदस्यको प्रत्यक्ष मतबाट चयन होस् ।
भौगोलिक, जनसंख्या, समुदाय, उमेर र लैंगिक आधारमा पूर्ण समानुपातिक संरचना अनिवार्य होस् । नेतृत्व एक व्यक्ति, बढीमा दुई कार्यकाल, निरन्तर नहुने गरी अधिकतम आठ–दश वर्षसम्म सीमित रहोस् । पार्टी कोष पारदर्शी होस् । खर्चको सीमा नाघे उम्मेदवारी खारेज होस् । अल्पमत पक्षलाई निर्भीक आलोचनाको पूर्ण अधिकार होस् । कुशासन र भ्रष्टाचारसँग शून्य सहनशीलता अपनाइयोस् । नेतृत्वमा कुनै पनि नैतिक संकट देखिनासाथ राजीनामा दिई मार्गप्रशस्त गर्ने संस्कार विकास गरियोस् । व्यक्ति पूजा, अन्धभक्ति, जयगान र ‘हिरोइज्म’ होइन, विवेकसम्मत, तार्किक र संस्थागत प्रक्रियामा विश्वास गरियोस् । चुनावमा एउटै र चुनावपछि अर्को गठबन्धन गरेर मतदातालाई धोका नदिइयोस् । स्पष्ट बहुमत नआएसम्म प्रतिपक्षमा बस्ने धैर्य देखाइयोस् । देश बनाउने गफभन्दा पहिले सुशासित पार्टी बनाएर उदाहरण प्रस्तुत गरियोस् ।
नयाँ पुस्ता, राज्य क्षमता र समयको जोखिम : नेपालको राजनीतिक बहस आज व्यक्ति र घटनाकेन्द्रित भएर मात्र टिक्न सक्दैन । मुख्य प्रश्न राज्यको क्षमता र पुस्तागत भरोसासँग जोडिएको छ । आजको युवा पुस्ता रोजगारी, सेवा प्रवाह, न्याय र अवसरका मामिलामा राज्यलाई अक्षम ठान्न थालेको छ । यही कारण ठुलो संख्यामा युवा बिदेसिन बाध्य छन् ।
यदि यही अक्षम संरचना यथावत् रह्यो भने आगामी दशक नेपालका लागि जनसांख्यिक लाभ होइन, गहिरो संकटको दशक बन्नेछ । यस्तो अवस्थामा नयाँ नेतृत्वले केवल आलोचना होइन, परिणाम देखाउनुपर्छ । बालेनको काठमाडौंमा देखिएको प्रशासनिक दृढता, कुलमानले ऊर्जा क्षेत्रमा देखाएको संस्थागत सुधार र रविले राजनीतिमा उठाएको जवाफदेहिताको प्रश्न, यी सबै संकेत हुन् कि राज्यले चाहेमा काम गर्न सक्छ । तर, यी प्रयास छरिएर होइन, राष्ट्रिय नीतिगत तहमा एकीकृत हुन जरुरी छ । त्यसका लागि निर्वाचनमार्फत प्राप्त बलियो जनादेश अपरिहार्य हुन्छ ।
संविधान संशोधनको बहसलाई पनि यही सन्दर्भमा हेरिनुपर्छ । यो सत्ताकेन्द्रित स्वार्थका लागि होइन, शासन प्रणालीलाई कार्यकुशल बनाउने उपकरणका रूपमा आवश्यक छ । अस्थिर सरकार, अस्वाभाविक गठबन्धन र निर्णयहीनताको चक्र तोड्न स्पष्ट बहुमत र संस्थागत सुधार अनिवार्य छन् । यो अवसर गुम्यो भने पुराना शक्ति फेरि नयाँ अनुहार खोजेर पुरानै शैलीमा फर्कनेछन् । निर्वाचनमा ढिलाइ हुनेछ, अदालत र सडकको राजनीति बलियो हुनेछ र नयाँ पुस्तामाथि प्रतिशोध झन् संस्थागत हुनेछ । त्यसैले आजको प्रश्न ‘को लोकप्रिय छ ?’ होइन, ‘को जिम्मेवारी लिन तयार छ ?’ भन्ने हो ।
अन्तिम चेतावनी, इतिहासले माफी दिनेछैन : रवि, बालेन र कुलमान मिल्न सकेनन् भने जेन–जी आन्दोलन विखण्डित हुनेछ । पुराना शक्ति पुनः हाबी हुनेछन् । त्यसको सबैभन्दा ठुलो नैतिक जिम्मेवारी यी तीनैजनामाथि आउनेछ । यो अब व्यक्तिगत चाहनाको प्रश्न होइन । यो समयले थोपरेको साझा दायित्व हो । इतिहासले ढोका एकपटक मात्र खोल्छ । यो अवसर गुम्यो भने भविष्यले माफी दिनेछैन । आजै निर्णय गर्ने कि भोलि पछुताउने, यो छनोट अब यी तीनैजनाको हातमा छ ।
(भुसाल सामाजिक अभियन्ता हुन्)