मध्यावधि निर्वाचनले अन्त्य गर्न सक्छ ‘ट्रम्प युग’

मंगलबार, १७ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • डेमोक्य्राट्सबिच देखिएको अस्तव्यस्तताले मध्यावधि निर्वाचनको परिणाम ‘ट्रम्पवाद’का लागि एक अस्थायी धक्का मात्र बन्न सक्छ

मध्यावधि चुनावअघि सार्वजनिक भएका तथ्यांक र जनमत सर्वेक्षणले एउटै संकेत गरिरहेका छन्, निर्वाचनमा रिपब्लिकन पार्टीले नराम्रो हार व्यहोर्ने निश्चितप्रायः छ । मध्यावधिको संघारमा डोनाल्ड ट्रम्पको ‘अनुमोदन दर’ तत्कालीन राष्ट्रपति ह्यारी ट्रुम्यानपछिकै सबैभन्दा कम छ । र, यो थप घट्दो क्रममा छ । डेमोक्रेटिक पार्टीले सिनेटमा रिपब्लिकनको बहुमत उल्ट्याउने र तल्लो सदनमा स्पष्ट बहुमत हासिल गर्न सक्ने सम्भावना उच्च छ ।

डेमोक्रेटिक पार्टीको बहुमतले अमेरिकामा केही महत्वपूर्ण परिवर्तन ल्याउन सक्छ । ट्रम्पले आफ्नो कार्यकालमा ल्याएका विवादित नीतिजस्तै आप्रवासनमाथिको कडाइ, विश्वभरका देशसँग सुरु गरेको व्यापार युद्ध, संघीय कर्मचारीतन्त्रको व्यापक कटौती, इरानसँगको द्वन्द्व र उनका आफ्नै परिवारका भ्रष्टाचारका घटनामाथि संसदीय निगरानी वा नियन्त्रण बढ्नेछ । संसद्को दुवै सदनमा फरक पार्टीको बहुमत आएपछि अन्तिम कार्यकालको बाँकी दुई वर्ष मात्र रहेका ‘ट्रम्प’ धेरै हिसाबमा बाँधिनेछन् । यो एक हिसाबले ‘ट्रम्प युग’को अन्त्य हुनेछ ।

‘द न्युयोर्क टाइम्स’का स्तम्भकार डेभिड वालेस–वेल्सले लेखेझैँ ‘सबै संकेतहरूले नोभेम्बर ३ को मध्यावधि निर्वाचनले एउटा राजनीतिक युगको अन्त्य गर्ने संकेत गर्दै छन् ।’ तथापि, त्यसपछि आउने अवस्था सहज भने हुनेछैन, अमेरिकाले ट्रम्पको स्वच्छन्दताबाट त छुटकारा पाउला, तर उनले सिर्जना गरेका समस्याले अझै पनि देश विभाजित र कमजोर नै रहिरनेछ । ट्रम्पले विगत ६ वर्षको शासनकालमा यस्ता नीति लागू गरिरहे, जसलाई उल्ट्याउन लगभग असम्भवजस्तो छ । तिनलाई बदल्नका लागि ठुलो मिहिनेत, विधायकी संघर्ष र देशका दुवै दलबिच बिरलै देखिने समन्वय र सहमति हुनुपर्छ ।

ट्रम्पको निर्णयले ‘युएसएआइडी’को अस्तित्व लगभग समाप्त भएको अवस्था छ । त्यसबाहेक ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डिओजिई)’नामक निकायले बन्द गरेका अरू धेरै सरकारी निकाय पनि फिर्ता ल्याउन कठिन हुनेछ । उता, सम्पूर्ण विश्वलाई लपेटेको भन्सार साम्राज्यको प्रभाव अलग छँदै छ । ट्रम्पले सशक्त बनाएको आप्रवासन तथा भन्सार निकाय ‘आइसिई’ अर्को सम्बोधन गर्नुपर्ने विषय हुनेछ । र, सबैभन्दा गाह्रो कुरा इरानसँगको युद्ध हुनेछ । अर्थात्, डेमोक्रेट्सले ट्रम्पले स्थायी रूपमा बदलिदिएको देशको सामना गर्नुपर्नेछ । ‘मागा’ (मेक अमेरिका ग्रेट अगेन) नामक आन्दोलन अहिलेसम्म ट्रम्पसँग बलियो गरी जोडिएको छ । ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि यो अभियान बढ्दो रूपमा कमजोर देखिँदै छ । ‘ब्रेक्जिट’ र अन्य संस्थापनविरोधी आन्दोलनमा जब आन्दोलनका नेता नै संस्थापन बन्छन् (अझ लामो समय संस्थापनमा रहन्छन्), तब तिनको प्रतिरोधी क्षमता कमजोर बन्छ । यसका बाबजुद ट्रम्पपछि उम्मेदवार बन्ने रिपब्लिकन नेता, जो भए पनि, चाहे त्यो आकर्षणविहीन जेडी भान्स नै किन नहुन्, तिनले ट्रम्पको आधार प्रयोग गरेर केही सफलता हासिल गर्न सक्छन् ।

उता, डेमोक्रेटिक पार्टीमा समस्या नभएको होइन । डेमोक्य्राट नेतृत्वले अगाडि बढ्ने कि पछाडि हट्ने भनेर भावी बाटो पहिल्याउन सकिरहेका छैनन् । पार्टीको पुरानो समूह दुई भागमा विभाजित छन्, जसमा एउटामा वयोवृद्ध विचारको निरन्तरता मानिने नेता छन् । अर्कोमा वयोवृद्ध नेता आफैँ छन् । पहिलोमा कमला ह्यारिस पर्छिन्, जसको अघिल्लो राष्ट्रपतीय उम्मेद्वारीलाई धेरैले पुरानो नेताको आकर्षणविहीन निरन्तरता मात्र ठाने । उता, यस समूहको पछिल्लो हिस्सामा न्यान्सी पेलोसी, चक सुमर, हिलारी क्लिन्टनजस्ता वयोवृद्ध नेता छन्, जोसँग पार्टीमा बिताएको समयबाहेक देखाउनलाई केही छैन ।

बाराक ओबामा मात्र अहिले मताधारलाई अझै प्रभावित पार्न सक्ने डेमोक्रेटिक नेता हुन् । उनले यही प्रभावको उपयोग गर्दै मिसिगन राज्यका सिनेटका उम्मेदवार अब्दुल एल–सयदलाई समर्थन जनाए । राष्ट्रपति निर्वाचनको दौडमा निर्णायक मानिने यो राज्यबाट पहिलो मुस्लिम सिनेटर बनेर इतिहास रच्ने संघारमा रहेका एल–सयदलाई अहिलेसम्म अन्य वरिष्ठ डेमोक्य्राट नेताहरूले या त हल्का या त अनिच्छुक समर्थन जनाएका छन् । यसको मुख्य कारण इजरायलप्रतिको उनको दृष्टिकोण हो । पार्टीको वामपन्थी समूहका एल सयदले गाजामा इजरायलले ‘नरसंहार’ मच्चाएको भन्दै त्यस देशलाई अमेरिकी आर्थिक सहयोग बन्द गरिनुपर्ने बताउँदै आएका छन् ।

इजरायलबाट लगानीको विषय डेमोक्य्राट्समाझ ठुलो विवादको विषय बनेको छ । यो केवल राजनीतिक वा वैचारिक अडानभन्दा अहिले पार्टीभित्रको नयाँ विभाजन रेखाजस्तो देखिन्छ । विवाद कतिसम्म चुलिएको छ भने एल सयदसँग प्राइमरीमा हारेकी डेमोक्य्राट्सले रिपब्लिकन प्रतिद्वन्द्वी माइक राजर्सलाई समर्थन जनाइन् । यो हेर्दा यस्तो लाग्छ, केही डेमोक्य्राट नेता वामपन्थी सर्तमा चुनाव जित्नुभन्दा बरु हार्न र पार्टीबाट बाहिरिन तयार देखिएका छन् ।

यी सबै कुराले यस्तो भविष्यतर्फ संकेत गर्छन्, जहाँ ट्रम्प स्वयं त सत्तामा नहोलान्, तर समर्थकमाझ त्यतिवेला पनि उनको पर्याप्त प्रभाव बाँकी रहनेछ । अर्कोतर्फ, डेमोक्रेटिक पार्टीभित्रको अस्तव्यस्त अवस्थाले मध्यावधि निर्वाचनमा देखिएको लहर ‘ट्रम्पवाद’का लागि केवल एक अस्थायी धक्का मात्र बन्न सक्छ । त्यसले कुनै नयाँ व्यवस्थाको सुरुवात गर्दैन । अर्थात्, मध्यावधि निर्वाचनले ट्रम्प युगको अन्त्य त गर्ला, तर त्यसपछिको अवस्था पनि ‘दीर्घ–ट्रम्प’कै स्थितिजस्तो हुन सक्छ, जहाँ रिपब्लिकन पार्टी उनीविना अघि बढ्ने बाटो पहिल्याउन असमर्थ रहन्छ । उता डेमोक्य्राटिक पार्टी पनि ट्रम्पको विरोध गर्नुबाहेक आफ्नो खास वैचारिक आधार वा उद्देश्य के हो भन्ने कुरा ठम्याउन असफल रहिरहन सक्छ ।

द गार्जियनबाट

(सुडानमा जन्मिएकी पत्रकार मलिक ‘वी निड न्यु स्टोरिज’ पुस्तककी लेखिका हुन्)

सुझावित समाचार