इजरायलका दुवै गठबन्धन प्यालेस्टिनीप्रति अनुदार

आइतबार, १५ कार्तिक, २०८३
प्रिन्ट संस्करण

 

  • अन्तर्राष्ट्रिय समुदायले आफ्नो मौनता र सम्झौतापरस्त नीति नत्यागे प्यालेस्टिनीले भोग्नुपरेको कठिनाइ अहिलेकै जस्तो कायम रहन्छ

इजरायली चुनावको मिडिया कभरेज मुख्यतः दुइटा गठबन्धनमा केन्द्रित रह्यो । दुईमध्ये एउटाको नेतृत्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गरेका छन् भने अर्को गुटको नेतृत्व ‘इजरायल डिफेन्स फोर्स (आइडिएफ)’का पूर्वप्रमुख गादी आइजेनकोटले ।

बाहिरी पर्यवेक्षकका लागि ‘नेतन्याहु–समर्थक’ र ‘नेतन्याहु–विरोधी’जस्ता लेबलले चुनावमा दुई विपरीत दृष्टिकोणको प्रतिनिधित्व गर्ने समूह छन् भन्ने परेको हुन सक्छ । हुन पनि विश्वका धेरै देशमा फरक दल वा दलका गठबन्धनले देशको भावी दिशाबारे फरक–फरक दृष्टिकोण पेस गर्ने गर्छन् । तर, इजरायलको सन्दर्भमा विशेषगरी प्यालेस्टिनीहरूसँग जोडिएका विषयमा यो कुरा लागू हुँदैन ।

विदेशी कूटनीतिज्ञहरू अझै पनि इजरायल र भावी प्यालेस्टिनी राज्यको सह–अस्तित्व रहने काल्पनिक ‘दुई–राज्य समाधान’को भविष्यबारे चासो राख्ने गर्छन् । उनीहरूको बहसमा गाजाको पुनर्निर्माण योजनाको चर्चा हुन्छ । तिनका लागि यस विषयमा प्रगतिको बाधक नेतन्याहु हुन् । यस्तो सोच राख्नेका लागि नेतन्याहु नभएमा सबै कुरा परिवर्तन हुनेछ भन्ने परेको छ । तर, यो एक सदिच्छा मात्र हो ।

तीन वर्षदेखि गाजामा इजरायली नरसंहार चलिरहेको छ । यस नरसंहारमा संलग्नहरूलाई युद्ध अपराधसम्बन्धी सम्भावित अभियोग लाग्ने सम्भावना कायम रहेको, युद्धमा भएका कैयौँ अत्याचारको दस्ताबेजीकरण भएको र संलग्नमाथि अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे)मा मुद्दा चलिरहेको सन्दर्भमा नेतन्याहुले कम भोट ल्याउने सोच थियो । तर, अघिल्लोपटकको भन्दा केही सिट गुमाए पनि फेरि पनि नेतन्याहुकै लिक्युड पार्टी २७ सिटसहित पहिलो दल बनेको छ ।

केही विश्लेषकले इजरायली मतदाताले चुनावको समयमा प्यालेस्टिनीप्रति भएका दुर्व्यवहारहरू, त्यसले भविष्यमा पार्न सक्ने परिणाम वा कम्तीमा त्यसले उनीहरू आफैँलाई पार्ने असरबारे सोच्नेछन् ठानेका थिए । तर, उनीहरूले त्यसो गरेनन् । बरु, धेरैजसोले त्यस्ता उम्मेदवारलाई मतदान गरे, जसले उनीहरूले जस्तै प्यालेस्टिनीहरूको स्वतन्त्रता अस्वीकार गरे र पश्चिम किनारको निरन्तर औपनिवेशीकरणलाई समर्थन गरे । बहुसंख्यक इजरायली मतदाताले अहिले गाजाको निरन्तर विनाश, प्यालेस्टिनीहरूको निरन्तर नरसंहार र सार्वभौम छिमेकी राष्ट्रहरू सिरिया र लेबनानमाथि निरन्तर बमबारीलाई समर्थन गर्ने गरेको पाइएको छ । यो कुरा चुनावमा उठेका उम्मेदवारले व्यक्त गरेका नारा र भाषणबाट पनि स्पष्ट हुन्छ– नेतन्याहुलाई समर्थन गर्नेहरूले गाजालाई पूर्ण नष्ट गर्न आह्वान गरेको सुनियो । अर्को प्यालेस्टिनी भूमि ‘पश्चिम किनार’लाई गाजाकै स्थितिमा पुर्याइदिनुपर्ने राय पेस गरे । प्यालेस्टिनीहरू कोही पनि निर्दोष नरहेकाले सबैमाथि आक्रमण स्वीकार्य भएको तिनको आसय थियो । धेरै उम्मेद्वारको चुनावी विज्ञापनमा बुलडोजरले प्यालेस्टिनीका घर भत्काइरहेका, प्यालेस्टिनीहरू भोकै राखिएका र इजरायली बमले आमनागरिकको बसोवास क्षेत्रमा पनि बमबारी गरिरहेको देखाएको देखियो । 

अनि नेतन्याहुको विपक्षी गुटका उम्मेद्वारको अडान कस्तो देखिन्छ त ? प्यालेस्टिनी सम्बन्धमा उनीहरूको अडान नेतन्याहुको भन्दा खासै फरक छैन । उदाहरणका लागि, नेतन्याहुका कट्टर प्रतिद्वन्द्वी एभिग्डोर लिबरम्यानले लामो समयदेखि ‘गाजामा बस्ने कोही पनि निर्दोष छैनन्’ भनाइ दोहोर्याइरहे । लिबरम्यान र उनको पार्टीका सदस्यले युद्ध सुरु भएदेखि नै गाजामा खानाको गाडी प्रवेश रोक्ने प्रयासलाई सघाउँदै आएका छन् । त्यस्तै, उनले खुलेआम लेबनान कब्जा गर्नुपर्ने आह्वान गर्छन् ।

यायर गोलानजस्ता वामपन्थी मानिने विपक्षी दलका सदस्यसमेत प्यालेस्टाइनको अन्तर्राष्ट्रिय मान्यताको आलोचना गर्ने गर्छन् । नियन्त्रित पश्चिम किनारमा अवैध इजरायली बस्ती निर्माणलाई उनी सही ठहर्याउँछन् । विपक्षी दलका एकजना पनि उम्मेदवारले प्यालेस्टिनी राज्य स्थापनाको समर्थन गर्दैनन् । त्यसैले, मतपत्रमा नरसंहार रोक्ने र ‘दुई–राज्य समाधान’ कार्यान्वयनजस्ता विषय हुनेछैन । चुनावी मुद्दा मुख्यतः ‘हरेदिम’ (देशका अति–रुढिवादी यहुदीहरू)ले युद्धहरूमा भाग लिनुपर्छ कि पर्दैन र प्यालेस्टिनीहरूलाई कति कठोर सजाय दिनुपर्छ भन्ने वरिपरि केन्द्रित रह्यो । संक्षेपमा भन्दा नेतन्याहुको सट्टा आइजेनकोटको नेतृत्वमा सरकार बन्यो भने धेरैमा इजरायली सरकारको अनुहार बदलिन सक्छ, उसको नीति होइन ।

आखिर कस्तो समाजले युद्ध अपराधको आह्वान गर्ने राजनीतिज्ञलाई अत्यधिक मतदान गर्छ ? यस प्रश्नको जवाफ यस तथ्यमा निहित छ कि इजरायलमा यी अपराध सामान्यीकरण भइसकेका छन् । अझ युद्ध अपराध यति धेरै सामान्य भइसकेका छन् कि यिनको पक्षमा वकालत नगर्नुलाई चाहिँ अनौठो मानिन थालेको छ । आखिर, दशकौँदेखि कुनै पनि इजरायलीले जग्गा हडप्ने, हत्या गर्ने, विनाकारण कैद गर्ने, प्यालेस्टिनीहरूलाई सामूहिक सजाय दिने वा नरसंहार गर्नेजस्ता कुनै पनि अपराधका लागि कहिल्यै कुनै परिणाम भोग्नुपरेको छैन । पश्चिमले इजरायलीहरूका यी कामको बचाउ गर्दै आएको छ । पश्चिमको यही समर्थनले इजरायलले जघन्य अपराधका कारणसमेत अन्तर्राष्ट्रियस्तरमा यसको कुनै परिणाम भोग्नुपरेको छैन ।

इजरायलले गरिरहेको गलत कामको अन्त्य देशभित्रबाट आउनेछैन । यो त विश्वले उसका कर्मका लागि दण्डित हुनुपर्ने चेतावनीबाट मात्र आउन सक्छ । आर्थिक प्रतिबन्ध प्रभावकारी हुन सक्छन् । व्यापक प्रतिबन्धमार्फत इजरायललाई आर्थिक र राजनीतिक रूपमा एक्ल्याउन सके मात्र उनीहरूले जवाफदेही हुनु नपर्ने अवस्था अन्त्य भएको सन्देश प्रवाहित हुनेछ । यसैले, आगामी दिनमा जुनसुकै समूहको सरकार बने पनि अन्तर्राष्ट्रिय समुदायले आफ्नो मौनता र सम्झौतापरस्त नीति नत्यागे प्यालस्टिनीप्रति इजरालयको व्यवहार ज्युँकात्युँ रहन्छ ।

(बुट्टु प्यालेस्टिनी वकिल र राजनीतिक विश्लेषक हुन्) 
अलजजिराबाट 

सुझावित समाचार