लोकतन्त्रमा असुरक्षित प्रेस

मंगलबार, १७ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • प्रेस काउन्सिलको क्षेत्राधिकारलाई मिचेर सिधै अपराध अनुसन्धान वा साइबर ब्युरोका प्रहरी टोली न्युजरुममा पस्नु कानुनी शासनको उपहास हो

नेपालमा पछिल्लो समय सञ्चार माध्यम र पत्रकारमाथि भइरहेको प्रहरी हस्तक्षेप, समाचार कक्ष (न्युजरुम)मा सादा पोसाकका प्रहरीको उपस्थिति र समाचारको स्रोत खोतल्ने प्रयासले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको छ । कात्तिक १३ गते, शुक्रबार नयाँ पत्रिका, नेपाल प्रेस, दियो पोस्ट, मोटिभेट न्युजलगायत सञ्चारगृहमा सादा पोसाकका प्रहरी टोली प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र सोधपुछ गर्ने घटनाले नेपालको पत्रकारिता र संवैधानिक अधिकारको बहसलाई फेरि सतहमा ल्याइदिएको छ ।

सञ्चारगृहमा सादा पोसाकमा प्रहरी प्रवेशको घटनाले विगतका निरंकुश शासनकालका काला दिनहरूको सम्झना दिलाएको छ । सो दिन नयाँ पत्रिकालगायत सञ्चारगृहका कार्यालयमा त प्रहरी प्रवेश गर्यो नै, सोधपुछका नाममा प्रहरीले पत्रकारलाई केहीबेर नियन्त्रणमा समेत राखेको समाचार अहिले नेपालका लागि मात्र होइन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सम्पूर्ण विश्व समुदायका लागि चिन्ताको विषय बनेको छ । यो घटनाले आमनेपालीको मात्र होइन, सम्पूर्ण विश्वकै ध्यानाकृष्ट गरेको छ । ​यस संवेदनशील विषयलाई निम्नानुसार विश्लेषण गर्न सकिन्छ :

​पत्रकारितामा स्रोतको सुरक्षा र अन्तर्राष्ट्रिय मान्यता : पत्रकारितामा ‘समाचारको स्रोतको सुरक्षा’लाई विश्वव्यापी रूपमा मौलिक अधिकारका रूपमा स्वीकार गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय दस्ताबेजमा पत्रकारितामा स्रोतको सुरक्षाका सम्बन्धमा स्पष्ट दृष्टिकोण व्यक्त गरिएको छ । कहाँसम्म भने अदालतले समेत पत्रकारलाई स्रोतको खुलासा गर्न दबाब दिन नसक्ने मानिन्छ । नेपालमै पनि यस्ता अनेक नजिर उपलब्ध छन् ।

अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारका अन्तर्राष्ट्रिय विशेषज्ञ मानिने टोबी मेन्डल र लामो समयसम्म अन्तर्राष्ट्रिय पत्रकार महासंघका महासचिव रहेका एडिन ह्वाइटजस्ता विद्वान्ले पनि आफ्ना विभिन्न अभिव्यक्तिमार्फत पत्रकारलाई आफ्नो स्रोत खुलाउन बाध्य पार्न नसकिने पक्षमा धारणा व्यक्त गरेको स्मरणीय छ । विज्ञका अनुसार पत्रकारलाई आफ्नो स्रोत खोल्न दबाब सिर्जना गरिएका अवस्थामा खोजमूलक पत्रकारिता पूर्णरूपमा ध्वस्त हुन सक्छ । गत कात्तिक १३ गते प्रहरी नियन्त्रणबाट मुक्त गरिएका पत्रकारले नियन्त्रणमा रहँदा प्रहरीले मोबाइल फोनको खोजी गर्दै समाचार स्रोतबारे जानकारी मागेको कुरा सार्वजनिक गरेका छन्, जुन अत्यन्त दुःखद र अन्तर्राष्ट्रिय मान्यताविपरीत छ ।

​पत्रकारितामा स्रोतको रक्षा गर्नु पत्रकारको दायित्व मानिन्छ । एयटा व्यावसायिक पत्रकार आफूलाई असुरक्षित बनाएर भए पनि स्रोतको रक्षाका लागि अडिग रहन्छ । विश्वको पत्रकारिता इतिहासमा प्रसिद्ध ‘वाटर गेट’ काण्डको रिपोर्टि्र यसको ज्वलन्त उदाहरण हो । त्यससम्बन्धी समाचारको स्रोत पत्रकारले कहिल्यै खुलाएनन् । आफ्नो जीवनको उत्तरार्द्धमा स्रोत स्वयंले आफ्नो खुलासा गरेका थिए ।

स्रोत सुरक्षित रहँदैन भने राज्यभित्रका भ्रष्टाचार, अनियमितता र गलत कामबारे पत्रकारलाई कसैले पनि सूचना दिने आँट गर्दैन, यो सत्य हो र यसलाई सबैले स्विकार्नुपर्छ । प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएर उसको फोन खोल्न लगाउनु वा स्रोत माग्नु अन्तर्राष्ट्रिय मानव अधिकार कानुन, संयुक्त राष्ट्र संघको महासन्धि र नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताको ठाडो उल्लंघन हो ।

​संवैधानिक अधिकार र नियमनकारी निकायको उपेक्षा : ​नेपालको संविधान २०७२ ले प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’को प्रत्याभूति गरेको छ । संविधानको धारा १९ ले विद्युतीय वा अन्य कुनै माध्यमबाट छापा वा प्रकाशन गर्न, समाचार रोक्न वा सेन्सरसिप लगाउन नपाइने व्यवस्था गरेको छ । यस्तै, सूचनाको हकसम्बन्धी ऐन २०६४ ले पनि शंखघोषकर्ता (ह्विसल ब्लोअर) को सुरक्षाको परिकल्पना गरेको छ ।

समाचारको विषयमा कसैको असहमति वा आपत्ति भएमा त्यसको न्यायपूर्ण निरूपणका लागि प्रेस काउन्सिल नेपालजस्तो निकाय विद्यमान छ । तर, पछिल्लो समयमा काउन्सिललाई ओझेलमा पार्दै सरकारका निकाय आफैँ समाचार कक्षमा गएर ‘सत्य’ खोतल्ने प्रयासमा सक्रिय हुन खोजेको पाइएको छ, जुन संविधानले निर्दिष्ट गरेको प्रावधानविपरीत हो भन्दा फरक पर्दैन । समाचार लेखेकै भरमा काउन्सिलको क्षेत्राधिकारलाई पन्छाएर सीधै अपराध अनुसन्धान वा साइबर ब्युरोका प्रहरी टोली न्युजरुममा पस्नु कानुनी शासनको उपहास हो । यति मात्र होइन, यसलाई अदालतलाई ‘बाइपास’ गर्ने प्रवृत्तिका रूपमा पनि बुझ्न सकिन्छ ।

​राज्य संयन्त्रको असंसदीय र गैरजिम्मेवार व्यवहार :  ​यस घटनामा सबैभन्दा शंकास्पद र निन्दनीय पक्ष भनेको राज्यका जिम्मेवार निकायको पन्छिने प्रवृत्ति हो । पछिल्ला समयमा प्रहरी पत्रकारलाई नियन्त्रणमा लिन जहाँ–जहाँ सक्रिय भएका छन्, प्रत्येक ठाउँमा उनीहरू सादा पहिरनमा प्रस्तुत भएका छन् र कुनै पनि घटनामा पत्रकारलाई पक्राउ गरिएको भनेर स्वीकार गरेका छैनन् । प्रत्येकजसो घटनामा सोधपुछका नाममा पत्रकारलाई नियन्त्रणमा लिइएको पाइएको छ । अर्को कुरा पनि महŒवपूर्ण छ, त्यो के भने पत्रकारलाई नियन्त्रणमा लिइसकेपछि सरकारका कुनै पनि निकायले जिम्मेवारी स्वीकार गरेका छैनन् । यस्तोमा यही सन्दर्भलाई नजिर मानेर भोलिका दिनमा गैरराज्य पक्ष पनि यसरी नै सक्रिय भएछन् भने त्यसपछिको परिणाम के हुन्छ ? कल्पना मात्र गर्नु पनि असहज हुन्छ ।

​सादा पोसाकका प्रहरी सञ्चारगृहमा छिर्छन्, पत्रकार र तिनका डिजिटल उपकरणलाई नियन्त्रणमा लिन्छन्, तर पछि कुनै पनि उच्च निकायले त्यसको औपचारिक जिम्मेवारी लिन मान्दैनन् । गृह मन्त्रालय, प्रहरी मुख्यालय र प्रधानमन्त्री कार्यालय एक–अर्कातिर औँला देखाएर पन्छिन खोज्नुले राज्यभित्रै ‘छाया सत्ता’ वा स्वेच्छाचारी समूह सक्रिय छ कि भन्ने डरलाग्दो आशंका पैदा गरेको छ भन्नु अस्वाभाविक हुँदैन ।

सरकारलाई नै खबर नगरी प्रहरी यसरी सञ्चारगृहमा छिरेको हो भने त्यो झनै गम्भीर सुरक्षा असफलता हो । सरकारकै इसारामा यस्तो कृत्य भएको हो भने त्यो लोकतन्त्रमाथिको कपटपूर्ण प्रहार हो ।

निरंकुश शासनको पुनरावृत्ति र लोकतन्त्रमाथि प्रहार : ​पञ्चायतकाल वा संकटकालका वेला सादा पोसाकमा प्रहरी वा गुप्तचर सञ्चारगृहवरपर घुम्ने, पत्रकारलाई तर्साउने र समाचार रोक्न दबाब दिने गरिन्थ्यो भन्नेजस्ता कुरा अतीतका स्मृतिमा सीमित छन् । वर्तमानमा त्यस्तो अनुभूति गर्नु निश्चय पनि लोकतन्त्रमाथिको उपहास हो । लोकतान्त्रिक सरकारको पालामै यस्ता अभ्यास दोहोरिनुले हाम्रा राजनीतिक दल र नेतृत्वको लोकतान्त्रिक प्रतिबद्धतामाथि ठुलो प्रश्न उब्जाएको छ ।

​राज्यशक्तिको दुरुपयोग गरेर मिडियालाई तर्साउन खोज्नुलाई सरकार आफ्ना कमजोरी र आलोचनाबाट डराएको संकेतका रूपमा पनि बुझ्न सकिन्छ । यस्ता कदमले सरकारलाई क्षणिक रूपमा समाचार दबाउन मद्दत गरे पनि दीर्घकालमा यसले सरकारको नैतिक धरातल र नागरिक विश्वासलाई पूर्ण रूपमा समाप्त पार्न भूमिका निर्वाह गर्नेछ ।

​प्रेस स्वतन्त्रता केवल पत्रकारहरूको अधिकारको विषय मात्र होइन, यो नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारसँग जोडिएको विषय पनि हो । सञ्चारगृहमा सादा पोसाकका प्रहरी पठाएर स्रोत माग्ने र भयको वातावरण सिर्जना गर्ने कार्य पूर्ण रूपमा गैरकानुनी, असंवैधानिक र निन्दनीय छ । सरकारले यस घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कारबाही गरी नागरिकसमक्ष स्पष्ट जवाफ नदिएसम्म लोकतन्त्रको रक्षामाथि प्रश्न उठिरहनेछ ।

लोकतान्त्रिक भनिएका देशमा प्रेस स्वतन्त्रता र सूचनाको हकलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ । कुनै सरकारले पत्रकारिताका माध्यमबाट सम्प्रेषण हुने समाचार वा सूचनाबाट त्रसित भएर पत्रकारलाई विनाजानकारी धरपकड गर्ने, नियन्त्रणमा लिने वा धम्क्याउने कार्य गर्छ भने त्यसले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै स्तरमा गम्भीर नकारात्मक असर पार्ने निश्चित छ ।

​नकारात्मक प्रभाव : यस्ता कार्यले अनेक नकारात्मक प्रभाव पर्न सक्छ । यस्ता कार्यले नागरिकको सूचनाको हकमा प्रहार गर्ने सम्भावना रहन्छ । समाचारका माध्यम नियन्त्रणमा लिँदा आमनागरिकले सत्य र निष्पक्ष सूचना पाउने अधिकारबाट वञ्चित हुनुपर्छ । त्यस्तै, यस्तो प्रवृत्तिले ‘स्व–सेन्सरसिप’ बढाउँछ । सरकारी धरपकडको डरले पत्रकार र सञ्चारगृहले खोजमूलक समाचार वा सरकारको आलोचनात्मक रिपोर्टिङ गर्न छाड्ने खतराको उपस्थितिमा स्व–सेन्सरसिप बढ्न सक्छ ।

यस्ता घटनाले भ्रष्टाचार र अनियमिततासमेत वृद्धि गर्ने वातावरण निर्माणमा सघाउने तथ्यलाई इन्कार गर्न सकिँदैन । स्वतन्त्र पत्रकारिताले सरकारका गलत काम उजागर गर्छ । पत्रकारलाई नियन्त्रणमा लिँदा भ्रष्टाचार, शक्ति दुरुपयोगको प्रवृत्ति मौलाउने र शासनको पारदर्शितमा कमी आउन सक्छ ।

यति मात्र होइन, यस्ता घटनाले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा हेरिने दृष्टिकोणमा समेत भिन्नता आउन सक्छ । अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकारसम्बन्धी निकायले यस्ता घटनालाई अत्यन्त गम्भीरतासाथ लिने कुरा हामीलाई विदितै छ । यस्तोमा नेपालको लोकतन्त्रका सन्दर्भमा अन्तर्राष्ट्रियस्तरमा ​‘छद्म–लोकतन्त्र’को छवि निर्माण हुने खतरा बढ्न सक्छ अर्थात् कागजमा लोकतान्त्रिक तर व्यवहारमा निरंकुश शासन चलाउने देशका रूपमा अन्तर्राष्ट्रिय जगत्ले चित्रित गर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । लगातारका यस्ता घटनाका कारण विश्व प्रेस स्वतन्त्रता सूचकांकमा समेत नेपालको अवस्थामा गिरावट आउन सक्ने सम्भावना बढ्छ ।

सारमा, पञ्चायतकाल वा संकटकालमा जस्तै सादा पोसाकका प्रहरी पठाएर न्युजरुममै त्रास सिर्जना गर्ने अभ्यासले लोकतान्त्रिक शासन व्यवस्थाकै खिल्ली उडाएको छ । सरकार र सरकारी निकायले आफ्नो आलोचना वा समाचार रोक्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतन्त्रका मूल्य–मान्यताविपरीत हुन्छ ।

यस्ता गैरकानुनी र स्वेच्छाचारी कदमले सरकारलाई राजनीतिक वा नैतिक रूपमा कुनै लाभ पुर्याउँदैन, बरु राज्यप्रति नागरिक र सञ्चार जगत्को विश्वास कमजोर बनाउँछ । सम्बन्धित निकाय यसप्रति सचेत हुनैपर्छ । 

सुझावित समाचार