सम्झौताको आठ वर्षसम्म पुलको पिल्लरसमेत बनेन

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण
  • सवा २४ करोड लागतमा दुई वर्षभित्र पूरा गरिसक्नुपर्ने कैलालीको धनगढी नगरपालिकास्थित शिवगंगा नदीमाथिको पक्की पुलको काम शून्य

कैलाली, उदयपुर, कास्कीलगायतका विभिन्न जिल्लामा निर्माणाधीन दर्जनौँ पक्की पुल अलपत्र अवस्थामा छन् । धेरैजसो स्थानमा ठेकेदारको लापरबाहीका कारण पुल अलपत्र परेका छन् । केही ठाउँमा सरकारले ठेक्का सम्झौता रद्द गरेर नयाँ प्रक्रिया अघि नबढाएकाले पिल्लर मात्र ठडिएको अवस्थामा छन् । सरकारी निकायले वेलैमा अनुगमन र निरीक्षण नगर्दा पुल निर्माणमा राज्यको करोडौँ रुपैयाँ लगानी खेर गएको छ ।

कैलालीको धनगढीस्थित शिवगंगा नदीमा पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र छ । पुल निर्माण गर्न आठ वर्षअघि ठेक्का सम्झौता भएकोमा हालसम्म पुलको पिल्लरसमेत बनाइएको छैन । धनगढी उपमहानगरको वडा नम्बर १६ को पथरी र वडा नम्बर १७ को रामपुर गाउँ जोड्ने पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले नदी तर्दा खेप्नुपर्ने सास्ती अझै उस्तै छ ।

कैलालीको धनगढीस्थित शिवगंगा नदीमा पुल निर्माण नभएपछि धनगढी उपमहानगरले ह्युमपाइप राखेर अस्थायी आवतजावतका लागि सहज बनाएको छ ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार २७ असार ०७४ मा १४ करोड २६ लाख रुपैयाँमा पप्पु एडभेन्चर जेभीसँग पुल निर्माणको सम्झौता भएको थियो । ‘दुई वर्षभित्र पुल निर्माण गरिसक्नुपर्ने सम्झौता हो, तर अहिलेसम्म काम भएको छैन,’ सडक डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख इन्जिनियर राजेशकुमार यादवले भने, ‘निर्माण कम्पनी अदालत गएकाले ठेक्का तोड्न पनि सकेका छैनौँ ।’

निर्माण कम्पनीले सुरुको सम्झौता अवधि सकिएपछि पुलका चारवटा पिल्लरको जग हाल्ने काम गरेको थियो । सडक डिभिजनले परीक्षण गर्दा डिजाइनअनुसार जगको काम नभएको पाइएपछि थप काम अगाडि बढ्न सकेन । नयाँ डिजाइन बनाएर पहिले तोकिएको भन्दा ५० मिटर आसपासभित्र काम सुरु गर्न भनिए पनि निर्माण कम्पनीले वास्ता नगरेको डिभिजन प्रमुख यादवले बताए ।

‘निर्माण कम्पनीले चारवटा पिल्लरको फाउन्डेसनको काम गरेको थियो । परीक्षण गर्दा डिजाइनअनुसार काम नभएको पाइएपछि हामीले नयाँ डिजाइन बनाएर अर्को ठाउँमा काम पत्राचार गर्‍यौँ,’ यादवले भने, ‘त्यसपछि उसले डिजाइन नै दिएन ।’ जगको काम डिजाइनअनुसार नै भएको दाबी गर्दै निर्माण कम्पनीले एक महिनाअघि उल्टै उच्च अदालत महेन्द्रनगरमा मुद्दा दिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । कार्यालयका अनुसार स्वतन्त्र निकायबाट जगको परीक्षण हुनुपर्ने माग निर्माण कम्पनीले गरेको छ । फाउन्डेसनको काम गरेबापत निर्माण कम्पनीले दाबी गरेकोमध्ये साढे दुई करोड रुपैयाँ भुक्तानी लगिसकेको र डेढ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको डिभिजन प्रमुख यादवले बताए ।

पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र हुँदा सरोकारवाला निकायले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन सकेको छैन । धनगढी उपमहानगरपालिकाले पनि पुल अलपत्र पारिएको भन्दै ठेक्का तोड्न सडक डिभिजनलाई पत्राचार गरेको थियो । सडक डिभिजनले भने सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेकाले पुलको म्याद पटक–पटक थप हुँदै आएको दाबी गरेको छ ।

नदीमा पुल नहुँदा खासगरी बर्खायाममा स्थानीयले नदी तर्न बढी सास्ती खेप्नुपर्छ । बर्खामा गोरुगाडामा चढेर नदी वारपार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । वडा नम्बर १६ का अध्यक्ष रामलाल चौधरीले नदीमा पुल नहुँदा बर्खामा धनगढी जान घुमाउरो बाटो प्रयोग गर्ने गरिएको बताए । हिउँदका लागि अहिले उपमहानगरले ह्युमपाइप राखेर अस्थायी आवतजावत सहज बनाएको उनले बताए ।

‘पुल बन्ने भनेको ८–१० वर्ष भइसक्यो । पिल्लरै ठडिएको छैन,’ अर्का स्थानीय मोति रानाले भने, ‘पुल बनेको भए सजिलो हुन्थ्यो ।’ धनगढीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बेहडाबाबा जाने यो छोटो बाटो पनि हो । पुल नहुँदा स्थानीय बासिन्दादेखि बेहडाबाबा जाने पर्यटकले समेत सास्ती खेप्नुपरेको रानाले बताए । पुल नहुँदा बेहडाबाबा जानेहरूले उर्मा गाउँ भएर जाने बाटो प्रयोग गर्छन् ।

‘ठेकेदार, सम्बन्धित निकाय, मन्त्री, सांसदलाई भेटेर पुल निर्माणको काम अगाडि बढाइदिन पटक–पटक भन्यौँ तर काम भएन,’ वडाध्यक्ष चौधरीले भने, ‘सडक डिभिजनले ठेक्का तोडिदिएको भए उपमहानगरपालिका आफैँले पुल बनाउने कुरा थियो । मेयरसाप पनि यसका सकारात्मक हुनुहुन्छ ।’ 

सात वर्षदेखि अलपत्र छ फिर्के पुल
कास्की/पोखरा–बागलुङ राजमार्गअन्र्तगत पोखरा महानगरका वडा नम्बर २, ४ र ५ को सिमानामा पर्ने फिर्के खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अलपत्र छ । अत्याधुनिक तथा देशकै नमुना एक्स्ट्रा डोज ब्रिज ३० महिनाभित्र निर्माण सम्पन्न गर्न सडक डिभिजन कार्यालय पोखराले ८ असोज ०७५ मा शान्ति आरोग्य जेभीलाई ठेक्का दिएको थियो । ३० चैत ०७७ मा सम्पन्न गर्ने गरी भ्याट, कन्टेन्जेन्सीलगायत अन्य गरी १७ करोड १० लाखमा निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले सात वर्ष पुग्न लाग्दा करिब ३५ प्रतिशतको हाराहारीमा मात्र काम सम्पन्न गरेपछि १० वैशाख ०८२ मा ठेक्का सम्झौता रद्द गरिएको थियो । पुलको पुरानो ठेक्का सम्झौता रद्द गरिए पनि नयाँ प्रक्रिया अगाडि बढाइएको छैन । ८ असोज ०७५ मा ३० महिनामा सक्ने गरी सम्झौता भएको पुलको काम निर्धारित समयमा नसकिएपछि विभिन्न मितिमा गरी तीनपटक म्याद थप गरिएको थियो । 

तेस्रोपटक थप भएको म्याद सकिएर एक वर्ष बित्दासमेत सम्झौताअनुसार काम नभएपछि सडक कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ अनुसार ठेक्का सम्झौता रद्द गरेको हो । समयमा काम नसकिएपछि २३ असार ०७८ मा २२ असोज ०७८ सम्म निर्माण सक्ने गरी पहिलोपटक, ६ भदौ ०७९ मा २७ असार ०८० भित्र काम सक्ने गरी दोस्रोपटक र ३१ असार ०८० मा २० असार ०८१ मा काम सक्ने गरी तेस्रोपटक म्याद थप भएकोमा थपिएको समय एक वर्ष सकिन लाग्दासमेत निर्माणले गति नलिएपछि सम्झौता रद्द गरिएको हो । पोखरालाई बागलुङसँग जोड्ने भूपि शेरचन राजमार्गको प्रवेश विन्दुको रूपमा रहेको पोखराको जिरो किलोमिटरदेखि हरिचोकसम्मको सडक यसअघि दुई लेनको मात्र थियो । दुई लेनको सडकलाई विस्तार गरी करिब नौ वर्षअघि ६ लेनको बनाइएको थियो ।

उदयपुरमा एक दशकदेखि अलपत्र छन् ६ पक्की पुल

६ वर्षअघि ढलेर अलपत्र अवस्थामा रहेको उदयपुरको त्रियुगा नदीमाथिको पुल । ०७३ भित्र सम्पन्न हुनुपर्ने पुल अझै अलपत्र छ । 

उदयपुर/ उदयपुरका विभिन्न नदी र खोलामा निर्माणाधीन ६ वटा पक्की पुल एक दशकदेखि अलपत्र छन् । कतै म्याद थप गरेर राखिएको छ भने कतै नदीको बाढीको चपेटामा परेका छन् । निर्माण सुरु भएको तीन वर्षभित्र सम्पन्न हुनुपर्ने पुल अलपत्र परेपछि स्थानीय मारमा परेका छन् । त्रियुगा नदीको सिवाई र बेल्हा जोड्ने पुल, उदयपुरबाट खोटाङ जोड्ने सुनकोशी नदीका चार पुल, बेलका नगरपालिका– ३ मा पर्ने गिदेरी खोलाको पुल अलपत्र अवस्थामा छन् । सुनकोशीमै पर्ने उदयपुर–खोटाङ धाप्लाङघाट र उदयपुर भोजपुर जोड्ने रानीटारको पुल १० वर्षदेखि अलपत्र छन् । ३० असार ०७३ मा ०७६ असारसम्म काम सक्ने गरी दुई पुलकै ठेक्का रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौंले लिएको थियो । 

शिलान्यासमै एक वर्ष ढिलाइ भयो । ०७३ मा शिलान्यास हुनुपर्नेमा ०७४ भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए । देउवाले दुई पुलको शिलान्यास नेपाली सेनाको हेलिकोप्टरबाट आएर गरेका थिए । उदयपुर र भोजपुरको बिचमा पर्ने रानीटारमा पहिलोपटक शिलान्यास गरे, त्यसपछि हेलिकोप्टरबाटै खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशी किनार धाप्लाङमा हिन्दु परम्पराअनुसार ब्राह्मण पढाएर शिलान्यास गरेका थिए । 

उदयपुर र भोजपुर जोड्ने पुल उदयपुरको बेल्टार–रानीटार हुँदै भोजपुर सडकखण्डमा पर्छ । उदयपुर र खोटाङ जिल्ला जोड्ने पुल गाईघाट–साउने–धाप्लाङ हुँदै बराहापोखरी सडक खण्डअन्तर्गत पर्छ । रसुवा स्वच्छन्द पप्पु जेभीले एउटा पुल २२ करोड २५ लाख रुपैयाँका दरले दुवै पुल ४४ करोड ५० लाख रुपैयाँमा सम्पन्न गर्नुपर्ने थियो । पाँच स्पान भएको दुवै पुलको २०० मिटर लम्बाइ र १०.५ मिटर चौडाइ छ । २९ असार ०७६ भित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले ३० असार ०७३ मा ठेक्का सम्झौता गरेको पूर्वी सेक्टर कार्यालय धरान सुनसरीले जानकारी दिएको छ । 

०७९ को चुनावताका उदयपुर र खोटाङलाई छोटो दूरीमा सडक सञ्जालसँग जोड्ने भन्दै सुनकोशी नदीको वंशिलाघाटमा मोटरेबल पक्की पुल निर्माण गर्न शिलान्यास गरिएको थियो । १ पुसमा तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले पुलको शिलान्यास गरेका थिए । उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ सिवाईबाट बेल्टार–वीरेन्द्र बजार–छुइला–वंशिलाघाट हुँदै खोटाङ–दिक्तेल सडकखण्डअन्तर्गत पर्ने दुधकोशी नदीको वंशिलामा मोटरेबल पक्की पुल बन्नुपर्ने थियो । तर अहिलेसम्म १७ प्रतिशत काम भएको छ । 

गत वर्ष ०८१ असोजमा बाढीले बगाएको फोक्सिनटारको पुल पनि अलपत्र छ । सगरमाथा लोकमार्गकै गाईघाट–खोटाङ–दिक्तेल खण्डको सुनकोशी नदीमा पर्ने फोक्सिनटारको पुल बाढीले बगाएको थियो । उदयपुरको चौदण्डीगढी नगरपालिका– ५, सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुल निर्माणाधीन अवस्थामा ढलेपछि ६ वर्षदेखि अलपत्र छ । 

बेलका नगरपालिका–३ स्थित गिदेरी खोला पक्की पुल ०७० जेठमा शिलान्यास भएको थियो । ०७३ भित्र सम्पन्न हुनुपर्ने पुल अझै अलपत्र छ । पप्पु मृत सञ्जीवनी जेभी बानेश्वरले १३ करोड ३९ लाख ६७ हजार चार सय ७९ रुपैयाँ लागतमा दुई सय १८ मिटर लम्बाइ तथा सातवटा वेल फाउन्डेसन पिल्लर र ६ वटा स्पान रहेको गिदेरी खोलाको पुलको काम अहिलेसम्म करिब ७० प्रतिशतभन्दा बढी हुन सकेको स्थानीयको छैन । १२ वर्षमा तीनपटक म्याद थपिएको छ ।

See More On

सुझावित समाचार