अखिल नेपाल फुटबल संघ (एन्फा) लगातार दुई महिनामा दोस्रोपटक कारबाहीमा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई एक हजार अमेरिकी डलर जरिवाना सुनाएको हो । ९ अक्टोबरमा भियतनामविरुद्धको खेलमा नेपालका मिडफिल्डर लाकेन लिम्बूले रातो कार्ड पाएपछि एएफसीले एक हजार जरिवाना गराएको हो ।
लाकेनले पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाएका थिए । त्यसैले उनी एक खेलमा प्रतिबन्धमा परे । एएफसीको अनुशासन तथा नैतिकता समितिको अक्टोबर १३ गते बसेको बैठकबाट लाकेनलाई जरिवाना तोकिएको बताइएको छ । एएफसीले लाकेनलाई अनुशासनात्मक र नैतिकता संहिता धारा ४७ अन्तर्गत प्रतिबन्ध गरेको जनाएको छ । त्यस्तै, जरिवाना भने धारा ४८.२ अन्तर्गत लिइएको छ । धारा ११.३ बमोजिम कारबाहीको निर्णय भएको मितिबाट ३० दिनभित्र जरिवाना तिर्नुपर्नेछ ।
नेपालले एसियन कप छनोट प्रतियोगिताको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्ध दुई लेग खेलेको थियो । पहिलो लेगमा नेपाल ३–१ ले पराजित भएको थियो । अक्टोबर १३ मा भएको दोस्रो लेगमा भियतनामले नेपाललाई १–० ले हरायो । तर, दोस्रो खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनुपथ्र्यो । तर, एएफसीले दशरथ रंगशालालाई अयोग्य घोषणा गरेपछि खेल भियतनाम नै पुगेको हो । एन्फाले भियतनाममा ४० जनाको जम्बो टोली पठाएको थियो । समूहमा लगातार हारपछि नेपालले एसियन कप खेल्ने सम्भावना सकिएको थियो ।
फुटसल नखेल्दा पनि कारबाही
नेपाल लगातार दुई महिनामा दोस्रोपटक एएफसीको कारबाहीमा परेको हो । यसअघि फुटसल एसियन कप छनोट प्रतियोगितामा सहभागिता नभएपछि नेपाल कारबाहीको भागीदार भएको थियो । समयमै नाम फिर्ता नलिएपछि अगस्ट २१ मा एएफसीले एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गराएको थियो । त्यस्तै, दुई वर्षपछि हुने अर्को संस्करणमा समेत सहभागिता जनाउन नपाउने गरी कारबाही गरेको थियो ।
पूर्णिमा र मीना पहिलोपटक टिममा
स्ट्राइकर पूर्णिमा राई र मीना देउवाले पहिलोपटक नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा स्थान बनाएका छन् । नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले भारत र इरानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन् । स्ट्राइकर सावित्रा भण्डारीको कप्तानीमा रहेको टोलीमा पहिलोपटक पूर्णिमा र मीना अटाएका हुन् । फरवार्ड अनिता केसी, रक्षक अमृता जैशी र अट्याकिङ मिडफिल्डर विमला चौधरी टोलीमा अटाएनन् । यस्तै, दीपा शाही र हिराकुमारी भुजेलले टोलीमा कमब्याक गरेका छन् । घाइते गीता राणा पनि टिममा छैनन् । नेपालले यही कात्तिक ७ मा इरान र कात्तिक १० मा भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ ।
पूर्णिमा र मीनाले तीन महिनाअघि बंगलादेशको ढाकामा सम्पन्न साफ यू–२० च्याम्पियनसिप खेलेका थिए । नेपाल उपविजेता बन्दा पूर्णिमा १० गोलसहित उच्च गोलकर्ता बनेकी थिइन् । त्यस्तै, मीनाले सात गोल गरेकी थिइन् । बंगलादेशपछि यी दुईले भुटानमा सम्पन्न एएफसी छनोट खेलेका थिए । दुवै खेलाडीले घरेलु फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।
नेपाली टिममा अनिता बस्नेत, अञ्जना रानामगर, निवर्तमान कप्तान अञ्जिला तुम्बापो सुब्बा, विमला विक, दीपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाईं, मीना देउवा, निशा थोकर, प्रीति राई, प्रतीक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मिकुमारी घिसिङ, रेखा पौडेल, पूर्वकप्तान रेनुका नगरकोटे, सजनी थोकर, सरस्वती चौधरी, सरू लिम्बू र उषा नाथ रहेका छन् ।