हाम्रो देशमा अचेल भौतिकशास्त्रका नियमहरू धमाधम फेल खाइरहेका छन् । न्युटनले भनेका थिए, ‘हरेक वस्तु तल खस्छ ।’ तर, यहाँ मूल्य कहिल्यै खस्दैन । यो यस्तो विचित्र भूमि हो, जहाँ मान्छेको इमान, नैतिकता र आदर्श दिनहुँ ओरालो लाग्छ, तर प्याज, गोलभेडा र काउलीको भाउ भने निरन्तर सगरमाथातिर उकालो लाग्छ ।
हिजोआज सुन पसलमा भन्दा तरकारी बजारमा बढी सुरक्षा गार्ड देखिन थाले भने अचम्म नमान्नुहोस्, सुन त अब ‘मध्यम वर्गीय’ धातु भइसक्यो, ‘अभिजात वर्ग’को पहिचान त अब भान्साको तरकारीले दिन्छ !
कुनै पनि तरकारीको जीवनकथा आफैँमा एउटा महाकाव्य हो । जब त्यो किसानको बारीमा माटोमैलो भएर लमतन्न परिरहेको हुन्छ, त्यो जेन–जी आन्दोलनपछिको हर्क साम्पाङजस्तो सस्तो र मूल्यहीन हुन्छ । किसानको आँसुले सिँचिएको तरकारी, बिचौलियाको गाडीमा चढ्नुअघि सोचिरहेको हुन्छ, ‘कसैले त मेरो मूल्य देला !’
तर, जब त्यो बिचौलिया, थोक विक्रेता र खुद्रा व्यापारीको त्रिवेणीमा डुबुल्की मारेर काठमाडौंको बजारमा पदार्पण गर्छ, त्यसको कायापलट भइसकेको हुन्छ । अब यो धरानबाट बुर्कुसी मारेका हर्क साम्पाङ हुन्नन्, जेन–जी विद्रोहपछि भक्तहरूले ‘प्रधानमन्त्री बनिदेऊ न श्याम चस्मेश्वर !’ भन्दा टिमुर्किएर हिँडेको बालेन शाहजस्तो पहुँचभन्दा बाहिर र किनिसाध्य नहुने भाउभक्षी हुन्छ । तपाईंले त्यसलाई छुन खोज्नुभयो भने पसले आँखा तरेर भन्छ, ‘हेरेर मात्र चित्त बुझाउनुस् दाइ, यो हेर्ने चिज हो, किन्ने होइन !’
तरकारी साहुजीको ‘बहाना–शास्त्र’ गज्जबको छ । तरकारी बजारका साहुजीहरू साधारण व्यापारी होइनन्, उनीहरू ‘बहाना–शास्त्र’का प्रणेता हुन् । हरेक मूल्यवृद्धिको पछाडि उनीहरूसँग यस्तो अकाट्य तर्क हुन्छ, जसको अगाडि हार्बर्ड पढेर आएको भने फाँफाँफुँउ गर्दै सिँगौरी खेलिरहेका अर्थशास्त्रीका अर्थशास्त्र पनि फिक्का लाग्छ ।
हिजै मात्र साहुजीलाई सोधेँ, ‘यो धनियाँको मुठालाई सय रुपैयाँ किन ?’
उहाँले गम्भीर मुद्रामा प्रवचन सुरु गर्नुभयो,
‘अघिल्लो हप्ता पानी अलि बढी पर्यो, धनियाँलाई रुघा लाग्न सक्छ । त्यसको स्वास्थ्य बिमा शुल्क जोड्नुपर्छ ।’
‘एक महिना मात्रै अघि चन्द्रग्रहण थियो । धनियाँले हाम्रो रक्षा गर्यो । ग्रह–शान्ति पूजाको खर्च जोड्नुपर्छ !’
‘हाम्रो तरकारी ल्याउने ड्राइभरले टिकटकमा भिडियो हाले, भाइरल भयो, अब ऊ ‘सेलेब्रिटी’। भाडा बढाउनुपर्छ ।’
‘बाटोमा धुलो उड्यो । हामीले पालले छोप्यौँ, ‘फेयरनेस’ जोगायौँ । त्यो पैसा कसले तिर्छ ?’
फेरि यो धनियाँमा अलि महँगो ब्रान्डको विषादी हालेको । ग्राहकलाई कडा र महँगो विषादीको ‘प्रिमियम’ अनुभव दिइरहेका छौँ । ‘प्रिमियम’ अनुभवको मूल्य पनि त ‘प्रिमियम’ नै तिर्न पर्यो ।’
ग्राहक सुनिरह्यो, उसलाई लाग्यो, ऊ धनियाँ होइन, कुनै बहुराष्ट्रिय कम्पनीको सेयर किन्ने भएकोजस्तो लाग्यो ।
अब हामी उपभोक्ताको धर्मसंकटमा प्रवेश गरौँ । हामी तरकारी किन्न जाँदैनौँ, ‘आर्थिक साहसिक यात्रा’मा निस्किन्छौँ । पहिले सजिलै ‘एक किलो गोलभेडा दिनुस्’ भनिन्थ्यो । अहिले ‘एक पाउ दिनुस्’ न अलि सर्माउँदै भनिन्छ । फेरि साहुजी पनि तलदेखि माथिसम्मै हेरेर ठुल्ठुला आँखा लगाएर ठुलै स्वरमा भन्दिन्छन्, ‘एक पाउ?’
त्यो दिन टाढा छैन, जब हामी सुन पसलमा जस्तो तरकारी पसलमा गएर भन्नु पर्नेछ–
‘साहुजी, आधा तोला गोलभेडा र दुई मासा खुर्सानी दिनुस् त !’
लाग्छ, अब तरकारीको झोला युग सकिएर तोला युग सुरु भइसक्यो । तरकारी खानु अब आवश्यकता होइन, यो महँगो विलासिता हो । यसको बानीले घरखेत मात्र सिध्याउँदैन, यसले हाम्रो आर्थिक सन्तुलनलाई नै भस्मे हान्छ । हिसाब गरेर हेर्दा, तरकारी खाने बानी त खड्गप्रसाद ओलीजीको दम्भभन्दा पनि महँगो
पर्ने देखियो ।
अब म गम्भीरतापूर्वक वैकल्पिक ऊर्जा स्रोतको रूपमा झोलिलो खानेकुरा र भिटामिन ट्याब्लेटतिर लाग्ने सोच्दै छु । भविष्यमा नातिनातिनाले संग्रहालयमा काउलीको प्रतिमा हेरेर सोध्लान्– ‘हजुरबुबा, साँच्चै यस्तो बहुमूल्य चिज खानुभएको थियो ?’
म लामो सास फेर्दै भन्नेछु– ‘हो बाबु, त्यो एउटा हरित युग थियो ! अहिले हामी हरिप युगमा छौँ ।’
बजार जानु अब ध्यान बस्नेजस्तै अभ्यास हो, सास नियन्त्रण गरेर पसलभित्र छिर्ने, मूल्य सुनेर शान्त रहन सक्ने, र फर्कँदा जीवनका क्षुद्र दु:खलाई क्षमाशील दृष्टिले हेर्ने । आखिर, महँगो त जीवन नै हो, तरकारी त त्यसको स्वाद मात्र हो ।