नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) वीर अस्पतालबाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नाम्सबिच बिहीबार खेलाडी र प्रशिक्षकलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यका साथ सम्झौता भएको छ ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङ र नाम्सका उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार खेलाडी र प्रशिक्षकको सहजताका लागि सम्पर्क अधिकृत तोकेर सुविधा दिन लागिएको छ । यो सम्झौता पाँच वर्षको हुने र पछि सहमतिमा नवीकरण हुने सक्ने गरी अगाडि बढाइने राखेपले जनाएको छ ।
दुई पक्षबिच ११ बुँदामा सहकार्य हुने सदस्यसचिव घिसिङले बताए । नाम्सले खेलकुदमा नै काम गर्ने प्राविधिकसँगै कर्मचारीलाई पनि यो सुविधा उपलब्ध गराउनेछ । खेलाडीहरूले उपचारका क्रममा प्रयोगशालाबाट दिने सुविधामा विभिन्न चरणमा सहुलियत पाउनेछन् । अस्पतालका सबैखाले सेवामा ओलम्पियनले सबैभन्दा धेरै ८० प्रतिशत छुट पाउनेछन् ।
एसियाली र दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गर्ने तथा राष्ट्रिय टिमका खेलाडीले ६० प्रतिशत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले ५० प्रतिशत र राखेपका कर्मचारीले ४० प्रतिशत छुट पाउनेछन् ।