- दक्षिण अफ्रिकाका ब्याट्सम्यान लुआन ड्रे प्रेटोरियसले पुरुष टी–२० फर्म्याटमा ७९ बलमा सर्वाधिक १८८ रन बनाउँदै वेस्ट इन्डिजका क्रिस गेलले १३ वर्षअघि राखेको रेकर्ड भंग गरे
दक्षिण अफ्रिकाका ब्याट्सम्यान लुआन ड्रे प्रेटोरियसले पुरुष टी–२० क्रिकेटमा नयाँ व्यक्तिगत रेकर्ड राखेका छन् । उनले सिएस टी–२० च्यालेन्ज कपमा टाइटन्सबाट प्रतिस्पर्धा गर्दै यस विधामा सर्वाधिक व्यक्तिगत स्कोर रेकर्ड बनाएका हुन् । उनले १३ वर्षअघि वेस्ट इन्डिजका बायाँहाते ब्याट्सम्यान क्रिस गेलको रेकर्ड भंग गरेका छन् ।
सिएसए टी–२० च्यालेन्जमा २० वर्षीय प्रेटोरियसले नाइट्सविरुद्ध नटआउट एक सय ८८ रन बनाए । उनले केवल ७९ बलमा १५ चौका र १३ छक्का प्रहार गरेका थिए ।
सन् २०१३ मा गेलले इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरबाट पुणे वारियर्सविरुद्ध ६६ बलमा एक सय ७५ रन बनाएका थिए । टी–२० फर्म्याटमा सर्वाधिक व्यक्तिगत रन प्रेटोरियसको
नाममा रह्यो ।
उत्कृष्ट फर्ममा रहेका उनले सेप्टेम्बरमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा विस्फोट ब्याटिङ गरेका थिए । उनले जिम्बाबेविरुद्ध ९४ रन र नामिबियासँगको खेलमा एक सय एक रन बनाएका थिए ।
४० बलमा शतकीय इनिङ्स
नाइट्सविरुद्ध प्रेटोरियसले विस्फोटक ब्याटिङ गरे । उनले पहिलो अर्धशतक केवल २४ बलमा पूरा गरेका थिए । त्यसपछि शतकीय इनिङ्स खेल्ने उनले १६ बल सामना गरेका थिए । प्रेटोरियसले कम बलमा टी–२० क्रिकेटमा एक सय ५० रन बनाउने रेकर्डको बराबरी गरेका छन् । उनले आरोन फिन्च र मार्कस स्टोइनिससँग बराबरीमा गरेका हुन् ।
प्रेटोरियस इतिहासमै टी–२० फर्म्याटमा दोहोरो शतक लगाउन १३ रनले चुके । टाइटन्सले शनिबार नाइट्सविरुद्ध पहिलो ब्याटिङ गरी २० ओभरमा तीन विकेट गुमाएर दुई सय ६७ रनको योगफल खडा गरेको थियो । सिएसए टी–२० च्यालेन्जको इतिहासमा दोस्रो ठुलो स्कोर हो ।
सन् २०२२ मा टाइटन्सले नाइट्सविरुद्ध तीन विकेटमा दुई सय ७१ रन बनाएको थियो । प्रेटोरियसका डेवाल्ड ब्रेभिसले च्यालेन्ज कपमा यसअघि सर्वाधिक व्यक्तिगत रन जोडेका थिए । उनले सन् २०२२ मा नाइट्सविरुद्ध एक सय ६२ रन बनाएका थिए । प्रेटोरियसको २०२६–२७ सिजनको पहिलो खेल हो ।