आइसिसीको पहलपछि युएईले दियो भिसा

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को पहलपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (युएई)को भिसा पाएको छ । जेन–जीले गरेको प्रदर्शनका कारण नेपालको पछिल्लो घटनाक्रमपछि युएईले नेपालीलाई भिजिट भिसा दिन रोक लगाएपछि अहिले त्यसको असर क्रिकेट टोलीलाई पनि परेको हो । नेपालले आगामी २७–३० सेप्टेम्बरसम्म युएईको सारजहाँमा वेस्ट इन्डिजविरुद्ध तीनवटा टी–२० आई खेल्ने तालिका छ । 

गत साता युएईले नेपाली टोलीलाई भिसा नदिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसीको सहारा लिएको हो । क्यानका प्रवक्ता छुम्बी लामाले आइतबार नेपाली टोलीको भिसा आएको बताए । यसअघि क्यानले गत बिहीबार टोलीलाई बिदाइसमेत गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका सचिव पारस खड्काले संयुक्त रूपमा बिदाइ गरेका थिए । 

क्यानले शुक्रबार युएई पठाउने योजना बनाए पनि भिसाकै कारण टोली रोकिएको थियो । क्यानले युएईको सरकार, त्यहाँको क्रिकेट बोर्ड र आइसिसीसँग समन्वयपछि टोलीको भिसा आएको हो । नेपालले वेस्ट इन्डिजविरुद्धको टी–२० आई सिरिजलाई आसन्न विश्वकपअन्तर्गत एसिया छनोटको तयारीका रूपमा लिएको छ । टी–२० सिरिजपछि टोली विश्वकप छनोट खेल्न ओमान जानेछ । 

सुझावित समाचार