रसुवागढीमा साढे सात किलो सुन बरामद

दुई महिनाअघि टोखाको झोरमा बरामद २५ करोड रुपैयाँ र साढे सात किलो सुन तस्करीको प्रकृति एउटै

सोमबार, ६ जेठ, २०८२
डिजिटल संस्करण
रसुवागढीमा साढे सात किलो सुन बरामद

अर्जुन पौडेल, प्रमुख जिल्ला अधिकारी, रसुवा

सुन तस्करी गर्ने उद्देश्यले रसुवाको केरुङ नाकातर्फ लैजाँदै गरेको २५ करोड रुपैयाँ बरामद भएको दुई महिना नबित्दै सोही नाकाबाट भित्रिएको साढे सात किलो सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो साढे १ बजे गोसाइँकुण्ड गाउँपालिका– २ रसुवागढीबाट सुन बरामद गरेको हो । सुन तस्करीमा गोसाइँकुण्ड– ५ का २५ वर्षीय किशोरकुमार भुजेल पक्राउ परेका छन् । 

जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले केरुङबाट स्याउ लोड गरी नेपाल भित्रिएको बा.७झ ६२०१ कन्टेनरमा फल्सबटम बनाई सुन ल्याइएको बताए । ‘रसुवागढीको भन्सार क्षेत्रबाटै सात किलोभन्दा धेरै सुन बरामद भएको छ । स्याउ ल्याउने कन्टेनरभित्र फल्सबटम बनाई सुन तस्करी भएको देखियो । एकजना पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ पर्ने भुजेल कन्टेनरचालक हुन् । उनले स्याउसहितको कन्टेनर काठमाडौंतर्फ लैजाँदै थिए । सोही क्रममा उनी पक्राउ परेका हुन् । बरामद सुन क्याबिनतर्फ चालक सिटभन्दा माथि बनाइएको फल्सबटममा भेटिएको थियो । गत ४ चैतमा टोखाको झोरममा बरामद २५ करोड रुपैयाँ पनि क्याबिनतर्फ चालक सिटभन्दा माथि बनाइएको फल्सबटममै बरामद भएको थियो । 

जिप्रका रसुवाका प्रमुख डिएसपी हेमबहादुर शाहीले गत ४ चैतमा टोखाको झोरबाट बरामद २५ करोड रुपैयाँ तस्करी र आइतबार रसुवागढीमा बरामद सुन तस्करी गर्ने ‘मोडस अपरेन्डी’ एउटै भएको बताए । ‘चालक सिटभन्दा माथि फल्सबटम बनाई सुन लुकाइएको रहेछ । गत ४ चैतमा टोखाको झोरमा बरामद २५ करोड रुपैयाँ पनि त्यस्तै ठाउँमा लुकाइएको थियो ।

त्यसो हुँदा दुईवटा घटनाको ‘मोडस अपरेन्डी’ मिल्छ,’ उनले भने । प्रहरीका अनुसार बरामद सुनको परिमाण सात किलो ६५३ ग्राम छ । सातवटा बिस्कुट र स–साना टुक्रामा विभाजन गरी सुन काठमाडौंतर्फ तस्करी हुँदै थियो । सुन, कन्टेनर र स्याउ रसुवागढीस्थित भन्सार कार्यालयमा बुझाइएको जिप्रका रसुवाका इन्स्पेक्टर राजु शाहले बताए ।

गत ४ चैतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले टोखाको झोरबाट केरुङतर्फ लैजाँद गरिएको ना.७ख १६५२ नम्बरको कन्टेनरमा विभिन्न दरका अमेरिकी डलर र युरो बरामद गरेको थियो । जसको नेपाली दर २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ थियो । घटनामा कन्टेनरचालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा पक्राउ परेका थिए । पछि घटनाको अनुसन्धान राजस्व अनुसन्धान विभागले गरेको थियो । 

घटनामा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका नारायण पौडेल संलग्न रहेको खुलेको थियो । पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन प्रकरणमा पनि जोडिएका थिए । तस्करीमा संलग्न पौडेल माओवादी नेता हुन् । उनी भोटेकोशी गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार पौडेलका सहोदर दाजु हुन् । राजकुमार माओवादीकै टिकटमा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा पनि उनी सोही गाउँपालिका अध्यक्षमा उठेका थिए । तर, उनी कांग्रेस उम्मदवार पासाङनुर्बु शेर्पासँग पराजित भएका थिए । 

 अर्जुन पौडेल, प्रमुख जिल्ला अधिकारी, रसुवा
रसुवागढीको भन्सार क्षेत्रबाटै सात किलोभन्दा धेरै सुन बरामद भएको छ । स्याउ ल्याउने कन्टेनरभित्र फल्सबटम बनाई सुन तस्करी भएको देखियो । एकजना पक्राउ परेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

सुझावित समाचार