अमेरिकाले वासिंटनका लागि दक्षिण अफ्रिकाका राजदूतलाई देशनिकाला गर्ने भएको छ । विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसुलले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै उनलाई देशनिकाला गर्ने घोषणा गरेका हुन् । ‘संयुक्त राज्य अमेरिकाका लागि दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान् देशमा स्वागत छैन,’ राजदूतलाई देशनिकाला गर्ने घोषणा गर्दै रुबियोले लेखेका छन्, ‘इब्राहिम रसुल अमेरिकालाई घृणा गर्ने एक जातिगत राजनीतिज्ञ हुन् ।’ दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालयले शनिबार दक्षिण अफ्रिकाका राजदूतलाई देशनिकाला गर्ने अमेरिकी निर्णय ‘खेदजनक’ भएको बताएको छ ।
‘उनलाई हामीसँग छलफल गर्न आवश्यक छैन । उनलाई अमेरिकामा अस्वीकार्य व्यक्ति मानिनेछ,’ विदेशमन्त्रीले भने । कूटनीतिक शिष्टाचार र विशेष सुविधाको दुरुपयोग गर्ने, कूटनीतिक मर्यादाको उल्लंघन गर्ने व्यक्तिलाई ‘होस्ट कन्ट्री’ले अस्वीकार्य व्यक्ति घोषणा गर्न सक्छ ।
वासिंटन र प्रिटोरियाबिचको बढ्दो तनावबिच राजदूतलाई देशनिकाला गर्नु अमेरिकाको एक दुर्लभ कदम हो । ट्रम्पले गत फेब्रुअरीमा दक्षिण अफ्रिकालाई दिइने अमेरिकी सहयोग रोक्का गरेका थिए । गत हप्ता ट्रम्पले दक्षिण अफ्रिकाका किसानलाई संयुक्त राज्य अमेरिकामा बसोवास गर्न स्वागत गरिएको भन्दै सरकारले गोराहरूको भूमि ‘जफत’ गरिरहेको आरोप दोहोर्याएका थिए । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘सुरक्षाका कारण दक्षिण अफ्रिकाबाट आएका कुनै पनि किसान परिवारलाई त्यस देशबाट पलायन हुनुपरेमा नागरिकताको द्रुत मार्गको व्यवस्था गर्दै उनीहरूलाई संयुक्त राज्य अमेरिकामा आमन्त्रित गरिनेछ ।’ दक्षिण अफ्रिकी मूलका अर्बपति इलन मस्कले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाको सरकारमाथि ‘खुलेआम रंगभेदी स्वामित्वसम्बन्धी कानुन’ रहेको आरोप लगाउँदै आएका छन् । मस्क ट्रम्पका निकटतम सहयोगीमध्येका एक हुन् ।