चालु आर्थिक वर्षको साढे सात महिनामा लुम्बिनी प्रदेसमा सवारी दुर्घटनामा परी तीन सय तीन जनाले ज्यान गुमाएका छन् । चालु आवमा एक हजार दुई सय ६३ वटा सवारी दुर्घटना भएकोमा एक हजार नौ सय १८ जना घाइते भएको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले जानकारी दिए ।
उनले चालु आवको माघ महिनासम्म बाँकेमा भएको दुर्घटनामा ४७ जनाले ज्यान गुमाएको र तीन सय १० जना घाइते भएको बताए ।उनले उनले लुम्बिनी प्रदेशमा फागुन महिनामा मात्र २९ जनाले ज्यान गुमाएको बताए । गत आवमा लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा परी सय जना बालकालिकासहित तीन सय ९५ जनाले ज्यान गुमाउनु परेको उनले उल्लेख गरे । ‘अअव्वस्थित सडक पूर्वाधार, चालकको लापरवाही, सचेतनाको कमीले दुर्घटना बढ्दो छ,’उनले भने ।
नेपालगंञ्जमा आयोजित कार्यक्रममा एसपी खत्रीले एक जनाको लापरवाहीले दुर्घटना हुने र अकालमा ज्यान जाने तथा घाइते, अपांग, अशक्त बन्नु परिरहेको बताए । ‘ट्राफिक प्रहरीले मात्र दुर्घटना न्युनीकरण सम्भब छैन । सडक विभाग, ट्राफिक, चालक, पैदल यात्रु, विद्युत प्राधिकरण, यातायात व्यवस्था कार्यालय, स्थानीय, प्रदेश र संंघ सरकारको पनि उत्तिकै भूमिका रहन्छ,’ उनले भने ।
दुर्घटना न्युनीकरण गर्न स्थानीय तहले अति व्यस्त चोक र सडकका आकासे पुल, ट्राफिक लाइट, छाडा पशुचौपायाको उचित व्यवस्थान गर्नुपर्ने उनको भनाइ छ । ‘यातायात व्यवस्था कार्यालयले पुराना सवारी साधन चेकजाँच गरि पुराना गाडी चलाउनमा बन्देज लगाउन सक्ने हो भने पनि केहि हदसम्म दुर्घटना न्युनीकरण गर्न सकिन्छ,’एसपि खत्रीले भने, ‘यात्रुहरूले पनि जेब्रा क्रसिङ र आकासे पुलको प्रयोग गर्ने, बाटो काट्दा दायाँबायाँ हेरेर काट्ने, सकभर जेब्राक्रसबाट बाटो काट्ने, सवारीसाधनको गती हेर्ने, सवारी साधनमा यात्रा गर्दा फुन्डिएर, छतमा बसेर यात्रा नगर्ने , सिटभन्दा बढी तथा कोचाकोच यात्रु नराख्ने हो भने पनि दुर्घटनाबाट जोगिन सकिन्छ ।’
विद्युत् प्राधिकरणले सडकको बिच भागमा रहेका पोल नहाटाउँदा दुर्घटनाको जोखिम बढाएको उनको भनाइ छ । ‘सम्बन्धित निकालयले सडकमा सिसी क्यामेरा जडान गर्ने र सडक रेखा चुस्तदुरुस्त राख्ने, चालकले पनि बस स्टप भएको ठाउँमा मात्र गाडी रोक्ने, लेन अनुशासनको पालना गर्ने र तीव्र गतिमा गाडी नचलाउने हो भने दुर्घटना कम गर्न सकिन्छ, उनले भने ।