अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान एन्फा महासचिव किरण राईविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्। आफूविरुद्ध लगाएको झुटा र तथ्यहीन आरोप नसच्याएको भन्दै थापाले आइतबार भोटाहिटी पुगेर ब्युरोमा उजुरी दिएका हुन्।
‘ममाथि अत्यन्तै गम्भीर आरोप लगाउनुभएको विषयमा मैले उहाँलाई ती झुटा र तथ्यहीन आरोप सच्याउन र आत्मालोचना गर्न अनुरोध गर्दा पनि नसच्याएपछि बाध्य भएर कानुनी कारबाहीको प्रक्रियामा गएको हो,’ थापाले भने।
राईले शनिबार एक अन्तर्वार्तामा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेकोजस्ता आधारहीन आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास गरेको थापाको जिकिर छ।
थापाले आरोप प्रमाणित गरेर कानुनअनुसार कारबाही गर्न वा आत्मालोचना गर्न २४ घन्टे विकल्प दिएकोमा पूरा नभएपछि उजुरी गरेको बताए। ‘मैले उहाँको अन्तर्वार्ता आएलगत्तै सामाजिक सञ्जालमार्फत उहाँलाई ममाथि लगाएका आरोप प्रमाणित गरेर कानुनअनुसार कारबाही गर्न वा आफैँ आत्मालोचना गर्न भनेर दुई विकल्प दिएको थिएँ। मैले २४ घण्टाभित्र आत्मालोचना गर्न सार्वजनिक रूपमा अनुरोध गरे तापनि उहाँले त्यसलाई समेत बेवास्ता गरेपछि बाध्य भएर कारबाहीका लागि उजुरी दिएको हुँ।’
हाल थापा भने फिफाको १० वर्षे प्रतिबन्धमा छन्। उनको प्रतिबन्ध फुकुवा हुन दुई वर्ष पनि बाँकी छैन। यसैबिच वर्तमान नेतृत्वको निकै आलोचना भइरहँदा महासचिव राईले यस्तो अभिव्यक्ति दिएका हुन्। पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएपछि राईलाई महासचिवमा नियुक्त गरिएको थियो। त्यसयता राईको कार्यकाल सधैँ विवादस्पद हुँदै आएको छ। कुनै समय राईलाई निकाल्न बहुमत १२ सदस्यले लिखित हस्ताक्षर बुझाए पनि अध्यक्ष नेम्वाङले बचाउँदै आएका छन्।
थापाले कानुनी राज्यमाथि विश्वास गर्ने एउटा अनुशासित नागरिकको नाताले चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता कपोलकल्पित प्रपोगान्डा गर्नेमाथि कारबाही हुने विश्वास लिएको बताए।
थापाले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा पनि छानबिन गर्न र आफू दोषी भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताएका छन्।