खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीले ससुराको बैंक खातामार्फत घुस लिने गरेको खुलेको छ ।
विदेशबाट खाद्यान्न आयात गर्न स्वीकृति दिनका लागि उनले बैंक खातामै घुस लिन्थे । त्यसका लागि ससुरा वसन्तकुमार बस्यालको बैंक खाता खोलेर त्यसको एटिएम आफैंले प्रयोग गर्दै आएका थिए । ज्वाइँको कारण ससुराविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । ७६ वर्षीय बस्याल पनि पूर्वकर्मचारी हुन्। उनले आफ्नो खाता ज्वाइँले प्रयोग गर्दै आएको बयानमा खुलाएका छन्।
अधिकृत अधिकारीले ५३ व्यवसायीसँग २८ लाख २० हजार घुस लिएको अख्तियारको छानबिनबाट खुलेको छ । आयोगले अधिकृत अधिकारीसहित उनका ससुरा बस्याल तथा साथीहरू रश्मिला श्रेष्ठ र सुरेश चौधरीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अधिकारीले घुस असुल्न श्रेष्ठ र चौधरीको खाता पनि प्रयोग गर्दथे । घुस नदिई स्वीकृति नै नदिने भएपछि व्यवसायीले उनीविरुद्ध अख्तियारमा उजुरी गरेका हुन्।
१६ चैत ०८२ मा अधिकारीविरुद्ध व्यवसायी हर्ष वंसलले उजुरी दिएका थिए । अधिकृत अधिकारीले उनीसँग दुईपटक गरी बैंक खातामै पाँच हजार घुस लिएका थिए । त्यसको प्रमाणसहित उनले उजुरी दिएपछि आयोगले अधिकारीलाई पक्राउ नै गरेर अनुसन्धान गरेको थियो । अनुसन्धान लम्बिएपछि उनलाई पाँच लाख धरौटीमा छाडेर विस्तृत छानबिन भएको थियो । अनुसन्धानका क्रममा उनको मोबाइलबाट थप घुस कारोबार पुष्टि भएका हुन् । उनको ह्वाट्सएपमा पैसा मागेको विषयदेखि पैसा खातामा जम्मा गरिएका स्क्रिनसट तथा भौचरसमेत भेटिएका छन् ।
अधिकारीले आफ्नै बैंक खातामा एक लाख ३९ हजार, वसन्तकुमार बस्याल क्षेत्रीको खातामा आठ लाख ९४ हजार पाँच सय, रश्मिता श्रेष्ठको खातामा १४ लाख ९३ हजार ३७५ तथा सुरेश चौधरीको खातामा दुई लाख ६९ हजार घुस लिएको छानबिनबाट पुष्टि भएको छ । ती खाताको एटिएम भने अधिकारी आफैँले प्रयोग गर्दै आएको उनको आफ्नै बयान छ । विदेशबाट खाद्य सामग्री आयात गर्दा विभागको स्वीकृति लिनुपर्ने व्यवस्था छ । स्वीकृति रोकेर अधिकारीले डिल गर्दथे । घुस खाएपछि मात्र स्वीकृति दिन्थे । उनीबाट आजित भएपछि व्यवसायी अख्तियार पुगेका हुन् ।
कोसँग कति कति घुस लिए ?



