एन्फा राजनीति : महासचिव राईलाई बर्खास्त गर्न माग

आइतबार, १४ साउन, २०८०
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईको कार्यक्षमता र योग्यतामाथि नौ प्रश्न गर्दै सदस्य अनिल मल्लले गरे बर्खास्त गर्न माग

अखिल नेपाल फुटबल संघ (एन्फा) सदस्य अनिल मल्लले महासचिव किरण राईलाई बर्खास्त गर्न माग राखेका छन् । मल्लले १९ साउनमा हुने बोर्ड बैठकअघि महासचिव राईको कार्यक्षमता र योग्यतामाथि प्रश्न गर्दै ९ आरोप लगाएका छन् । बर्खास्तको मागसँगै मल्लले विधान संशोधन र नयाँ जिल्ला गठनको माग पनि राखेका हुन् । ‘कार्यसमिति बैठकको निर्णयलाई कार्यान्वयनमा लैजान नसक्नेलगायत धेरै काम हुन सकेका छैनन् । कार्यक्षमता र योग्यता नदेखेर बर्खास्त गर्न माग गरेको हो,’ नयाँ पत्रिकासँग बोल्दै सदस्य मल्लले भने । ‘हाम्रो विधानमा पनि धेरै त्रुटि छन् । तिनलाई पनि सच्याउनुपर्छ,’ मल्लले थपे । 

पंकजविक्रम नेम्बाङ ०७९ असार ६ गते निर्वाचित भएपछिको पहिलो कार्यसमितिको बैठकले महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरेको थियो । तर, पछिल्ला केही बैठकमा बहुमत सदस्यले नै दुवैको नियुक्ति प्रक्रिया विधानसम्मत नभएको आरोप लगाउँदै आएका छन् । यही विरोधका कारण साउन २ र ५ मा एन्फाको बैठक बस्नै सकेन । 

पाँच महिनाअघि पनि १२ सदस्यले महासचिव राई र कोषाध्यक्षको राजीनामा माग गर्दै एजेन्डा थप गर्न माग गरेका थिए । तर, अध्यक्ष नेम्बाङले एजेन्डा नथप्दा फागुन १० र १७ को बैठकले पूर्णता पाउन सकेन । फागुन १७ मा बहुमत सदस्यले राई र जोशीको राजीनामा हस्ताक्षरसहित माग गर्दा सदस्य मल्लले भने राईलाई नै साथ दिएका थिए । तर, पछिल्लो समय एन्फाको राजनीतिले नयाँ मोड लिँदा मल्ल राईलाई नै हटाउन लागिपरेका छन् । 

कर्मचारीको तलब वृद्धिसहित ११ बुँदा एजेन्डा
हाल भने मल्लले महासचिव रार्ईको मात्रै राजीनामा माग गरेका छन् । एन्फा कार्यसमिति बैठक १९ साउनमा बस्नुअघि विधानअनुरूप मल्लले एजेन्डा थप गर्न माग गरेका हुन् । महासचिव राईले सबै कार्यसमितिलाई विविधसहित ११ एजेन्डामा छलफल हुने जानकारी गराएका छन् । जसमा महिला फ्रेन्चाइज लिग सञ्चालन, संघको आपत्कालीन समितिको बैठकले गरेको निर्णय अनुमोदन, थ्री नेसन्स कप विजेतालाई पुरस्कार, आर्थिक वर्ष ०७९÷८० को लेखा परीक्षण, विशेष साधारणसभा मिति निर्धारण, कर्मचारी सुविधा वृद्धिलगायत ११ बुँदा समावेश छन् । एन्फाको विधानअनुसार सदस्यहरूले एजेन्डा थपको मौका पाउँछन् । बैठकको पाँच दिनअघि एजेन्डा थप गर्ने अवसर सदस्य पाउँछन् । आज एजेन्डा थप्ने अन्तिम दिन रहेको छ । सदस्यहरूले माग गरेको एजेन्डा थप गर्ने या नगर्ने अध्यक्षले बैठकको तीन दिनअघि निर्धारण गरेर सार्वजनिक गर्नेछन् । 

बहुमत सदस्यले राजीनामा माग गर्दै
यसअघि पनि असन्तुष्ट रहेका सदस्यले पुनः राईको राजीनामा माग्ने तयारी गरेका छन् । आइतबार अन्तिम दिन बहुमत सदस्यले हस्ताक्षरसहित सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुगेर राजीनामापत्र बुझाउने तयारी गरेका छन् । शनिबार कार्यालय बिदा हुँदा थप एजेन्डा बढ्न पाएन । ‘आज शनिबार सबै आ–आफ्नो कार्यक्षेत्रमा रह्यौँ । आइतबार मुख्यालयमा पुगेर वा मेलमार्फत बहुमत सदस्यद्वारा राजीनामा माग गर्छाैं,’ संस्थापनइतर पक्षका एक सदस्यले नयाँ पत्रिकासँग भने । 

यसअघि पनि असन्तुष्ट रहेका उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी तथा सदस्यहरू मल्लसहित रवीन्द्र चन्द, भोजराज शाही, रमेश व्यञ्जनकार, रुपेश अधिकारी, मणिराज विष्ट र मनीष जोशीले हस्ताक्षर गरिसकेका छन् । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष दीपक खतिवडा तथा सदस्यद्वय महेन्द्र क्षेत्री र पेमा लामाले अन्तिम दिन हस्ताक्षर गर्ने बुझिएको छ । यता, अध्यक्ष नेम्बाङनिकट रहेका उपाध्यक्ष दावा लामासँगै सदस्यहरू भरत बुढ थापा, सरिला श्रेष्ठ, दीपेन्द्र धिमाल, टीका लामा, विकासनारायण श्रेष्ठ र पुरुषोत्तम थापासहित सातजनाले हस्ताक्षर गर्नेछैनन् । 

पटक–पटक राजीनामा माग
यसअघि पनि कार्यसमितिका बहुमत सदस्यले अक्षम भन्दै महासचिव राईलाई बर्खास्त गर्न माग राखेका थिए । अध्यक्षले राई र जोशीको राजीनामा एजेन्डा थप नगर्दा बैठक बहिष्कार हुँदै आएको छ । पछिल्लोपटक फागुन १७ मा केही सदस्यबीच हात हालाहालको अवस्था सिर्जना भयो । जसका कारण बैठककोठाका केही थान सिसाका गिलास फुटेका थिए भने कुर्सी जथाभावी फ्यालिए । तीन उपाध्यक्ष शाही, केसी र खतिवडासहित ११ जनाले फागुन १७ को बैठक बहिष्कार गर्दै अध्यक्षले तानाशाही ढंगले बैठक अगाडि बढाएको आरोप लगाएका थिए । अध्यक्ष नेम्वाङका सहकर्मी नवीन पाण्डेलाई विदेश विभाग प्रमुखबाट हटाउन पनि ११ सदस्यले नै जोड दिएका थिए । हाल भने पाण्डे विदेश विभाग र अध्यक्षका सल्लाकार दुवैबाट टाढिएका छन् । उनले महासचिव राईसँगको टसलकै कारण राजीनामा दिएको खुलासा भएको थियो । 

मल्लले लगाएका नौ आरोप
१. कार्यसमितिले गरेका निर्णय लागू नगरी पेन्डिङ गरेको 
२. कार्यसमितिका पदाधिकारी सूचनाको हकबाट वञ्चित भएका
३. बैठकमा उपस्थित नभएको पदाधिकारी कोरम पुर्‍याउन अवैध माइन्युट हस्ताक्षर गर्न लगाएको
४. संघहरूको निर्वाचनमा मनोमानी ढंगले पत्राचार गरेको
५. स्थायी समितिको अधिकार हस्तक्षेप गरेको
६. जिल्ला अध्यक्षसँग अपहेलित व्यवहार गरेको
७. आर्थिक नियमावलीविपरीत कार्य गरेको
८. बैठकको एजेन्डा लुकाएको
९. बन्द कोठामा बसी आफूखुसी माइन्युट गरेको

See More On

सुझावित समाचार