ताप्लेजुङ/ जिल्लाको फुङलिङ नगरपालिका–१, आमबोटेमा अरिंगालले टोकेर तीनजना घाइते भएका छन्। बिहीबार दिउँसो ३ बजेतिर घाँस काट्न गएका ५० वर्षीया हरिमाया मादेन, ५० वर्षीया तारा विक र ५० वर्षीय भीमकुमार लिङ्खिम अरिंगालको टोकाइबाट घाइते भएका हुन्।
अरिंगालले टोकेपछि तीनैजनालाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको अस्पतालले जनाएको छ। तीनैजनाको अवस्था मध्यम छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घटनास्थल सदरमुकाम फुङलिङबाट करिब सात किलोमिटर पश्चिममा पर्छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।