मंसिर पहिलो साता एमालेको राष्ट्रिय भेला

४ पुसमा पालिका अधिवेशनको मिति तय

शुक्रबार, २३ असोज, २०८३
प्रिन्ट संस्करण

एमालेले आगामी मंसिरको पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । स्थायी समितिको बिहीबारको बैठकले राष्ट्रिय भेलाको निर्णय गरेको हो । ४, ५ र ६ मंसिरमध्ये कुनै दुई दिन आयोजना गर्ने गरी राष्ट्रिय भेलाको निर्णय भए पनि मिति भने अझै तय भइसकेको छैन ।

‘पहिलो साता दुई दिन भेला गर्ने निर्णय भएको छ, मिति छलफलमै रहेकाले अन्तिम तय हुन बाँकी छ,’ सचिव पद्मा अर्यालले भनिन् । बैठकले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशन मिति तोकेको पनि उनले जानकारी दिइन् । बैठकले पार्टीका वडा कमिटीहरूको अधिवेशन आगामी २६ मंसिर र पालिका तहको अधिवेशन आगामी ४ पुसमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने भएको छ । पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गरिने प्रचार विभागका प्रमुख नीरज आचार्यले बताए ।

बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीको वरिष्ठ नेता पद तथा गोपनीयताको शपथ लिएकी छिन् । ८ असोजमा सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत भण्डारी दुई कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गरेर पुनः ११ वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी हुन् । उनी ०७२ सम्म एमाले उपाध्यक्ष थिइन् । भण्डारीले अध्यक्ष ओलीपछिको दोस्रो वरीयतामा रहेर उनको काममा सघाउनुका साथै पार्टीको उचित नीति र निर्णय लिने काममा भूमिका खेल्नेछिन् । त्यस्तै, कमिटीले तोकेको जिम्मेवारीहरू पूरा गर्ने अधिकार पनि केन्द्रीय कमिटीले दिएको छ ।

शंकरलाई आठौँ, ईश्वर पोखरेललाई अन्तिम रोमा आसन 
स्थायी समिति बैठक नेताहरूको मर्यादाक्रमअनुसार सञ्चालन भएको छ । पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारी वरिष्ठ नेताका रूपमा पार्टीमा फर्किएलगत्तै अध्यक्ष ओलीले दायाँतर्फ भण्डारी र बायाँतर्फ उपाध्यक्ष रामबहादुर थापा बादललाई राखेका छन् । यसअघि दायाँतर्फ बादलसहित उपाध्यक्षहरू र बायाँतर्फ महासचिव शंकर पोखरेलसहित उपमहासचिव र सचिवहरूलाई राख्ने अभ्यास थियो । मर्यादाक्रमअनुसार रोअनुसार नै नेताहरूको आसन मिलाएर बैठक सञ्चालन भएको सचिव पद्मा अर्यालले बताइन् ।

जसअनुसार दायाँतर्फ दोस्रो मर्यादाकी भण्डारीपछि बायाँतर्फ तेस्रो मर्यादाका बादल, भण्डारीपछि चौथो मर्यादाका विष्णु पौडेललाई राखिएको छ । आठौँ मर्यादामा रहेका महासचिव पोखरेल दायाँतर्फ क्रमशः भण्डारी, पौडेल र अर्का उपाध्यक्ष गोकर्ण विष्टपछि बसेका छन् । त्यस्तै, बायाँतर्फ बादलपछि उपाध्यक्षद्वय पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तपछि लेखराज भट्टसहित क्रमशः नेताहरू बसेका थिए । स्थायी समितिमा मनोनीतमध्ये पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पदाधिकारीहरूभन्दा पछाडिपट्टिको रोमा बसेका थिए । १९ पदाधिकारीपछिको २०औँ नम्बरको आसनमा ईश्वर बसेका थिए ।

सुझावित समाचार