कांग्रेसमा सभापतिसहित १८ पदाधिकारीका लागि ७१ जना चुनावी मैदानमा छन् । सभापतिको प्रतिस्पर्धा खासै चर्चामा छैन । सभापतिका लागि तीनजनाले उम्मेदवारी दर्ता गरे पनि प्रत्याशी किशोरसिंह राठोरले उम्मेदवारी फिर्ता लिएर गगनलाई नै समर्थन गरेका छन् । स्कुले जीवनमा गगनका गणित गुरु श्यामकृष्ण खड्गी सभापतिका लागि प्रतिस्पर्धामा छन् ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भइसकेका छन् । शर्मा र भुसाल विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए ।
उपसभापतिमा खुलातर्फ दुई पदका लागि गोविन्द भट्टराई, चन्द्र भण्डारी, चन्द्रमोहन यादव, धनराज गुरुङ, दीपक गिरी, मधु आचार्य र सुरेन्द्र पाण्डे गरी सातजना प्रतिस्पर्धामा छन् । उनीहरूबिच तीव्र प्रतिस्पर्धा रहेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् । नेतृत्वको आग्रहमा मीनेन्द्र रिजाल र देवराज चालिसेले भने उम्मेदवारी फिर्ता लिएका थिए । उनीहरूमध्ये विशेष महाधिवेशनमा भण्डारी र आचार्य मात्र सहभागी भएका थिए ।
समावेशी उपसभापतिमा एक पदका लागि पाँचजना चुनावी मैदानमा छन् । विनोद चौधरी, जीवन परियार, फरमुल्लाह मन्सुर, रञ्जित कर्ण र सीता गुरुङ छन् । तत्कालीन सहमहामन्त्री मन्सुरलाई तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशनमा लागेकै कारण तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै कारबाही गरेको थियो । चौधरी विशेष महाधिवेशनमा सहभागी भएका थिए ।
सबैभन्दा बढी चासो महामन्त्रीमा
सबैभन्दा बढी चासो महामन्त्रीमा छ । खुला महामन्त्री दुई पदका लागि विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरेसहित आठ उम्मेदवार छन् । पौडेल र घिमिरे दुवैलाई विरासत जोगाउनुपर्ने चुनौती छ । विद्यार्थी राजनीतिबाट स्थापित दुवै चर्चित युवा नेता हुन् । विशेष महाधिवेशन सम्पन्न गर्न दुवैले महत्वपूर्ण भूमिका खेलेका छन् ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशन अगाडि बढाइरहेका वेला उनकै गृहजिल्लाका नेता नैनसिंह महर पनि महामन्त्रीका दाबेदार छन् । कर्णालीबाट निवर्तमान उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिमबाट शेरबहादुर देउवा नहुँदा भूगोल समेटेर कांग्रेसलाई अगाडि बढाउने उनको सोच छ । महर पनि विद्यार्थी राजनीतिबाटै आएका हुन् । महामन्त्रीका दाबेदार सुनील शर्मा अर्का चर्चित पात्र हुन् । राजनीतिका साथै स्वास्थ्य क्षेत्रबाट उनले सेवा गर्दै आएका छन् ।
विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका उदयशमशेर राणा पनि महामन्त्रीको दौडमा छन् । उनी देउवा पक्ष छाडेर विशेष महाधिवेशनमा सहभागी भएका थिए । राणा तरुण दलबाट स्थापित भएका नेता हुन् ।
गगनको टिममै बसेर विगतमा काम गरेका शंकर तिवारीले पनि महामन्त्रीमै उम्मेदवारी दिएका छन् । तिवारी यसअघि केन्द्रीय सदस्य पनि भएका छैनन् । उनले राजनीतिक विश्लेषकको रूपमा समेत परिचय बनाएका छन् । अमरसिंह पुन र डा. सन्तोष उपाध्याय पनि प्रत्याशी छन् । पुनः लुम्बिनी प्रदेशका सभापति हुन् भने उपाध्याय चिकित्सक पेसामा छन् ।