त्रिविले ल्यायो ३० अर्ब ८७ करोड ११ लाखको बजेट

परीक्षाको नतिजा महिना दिनमै सार्वजनिक गर्न शिक्षामन्त्रीको निर्देशन

शुक्रबार, २३ असोज, २०८३
प्रिन्ट संस्करण

देशकै ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रका लागि ३० अर्ब ८७ करोड ११ लाखको बजेट ल्याएको छ । असारमै ल्याउनुपर्ने नीति तथा कार्यक्रम र बजेट त्रिविले बिहीबार मात्रै ६७औँ वार्षिक दिवसको बैठकबाट पारित गरेको हो ।

बजेट र नीति तथा कार्यक्रम पारित गर्ने बैठकमा त्रिवि कुलपतिसमेत रहने प्रधानमन्त्री उपस्थित हुने परम्परा छ । तर, प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा उपस्थित नभएपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बैठक बसेको थियो । अन्य विश्वविद्यालयको सभामा पनि प्रधानमन्त्री शाह सरिक भएका छैनन् ।

त्रिविले प्रधानमन्त्री शाहलाई अध्यक्षताका लागि बोलाएको थियो । तर, प्रधानमन्त्री नआउने भएपछि शिक्षामन्त्रीकै अध्यक्षतामा बैठक बसेर नीति तथा कार्यक्रम, बजेट र ग्रेस लिस्ट पारित गरिएको हो । बजेट र ग्रेस लिस्ट पारित गर्नका लागि सभाको छुट्टाछुट्टै बैठक बसेको थियो । प्रस्तावित बजेटको ४९.३८ प्रतिशत आन्तरिक स्रोत र बाँकी ५०.६२ प्रतिशत नेपाल सरकारसँग माग गर्ने उल्लेख गरिएको छ । त्रिविका उपकुलपति प्रा.डा. भोला थापाले त्रिविले देशको शैक्षिक, बौद्धिक, सामाजिक तथा आर्थिक विकासमा महŒवपूर्ण भूमिका निर्वाह गरेको भन्दै यसको शैक्षिक कार्यक्रम खोज, अध्ययन, अनुसन्धान र जीवनोपयोगी बनाउनुपर्ने बताए । ‘आगामी पुस्ताका लागि कस्तो विश्वविद्यालय निर्माण गर्ने भन्ने सन्दर्भमा पनि गम्भीर आत्मसमीक्षा र संकल्प गर्नुपर्नेछ,’ उनले भने, ‘विश्वविद्यालय केवल ज्ञान प्रदान गर्ने संस्था मात्र नभई ज्ञान उत्पादन, अनुसन्धान, आलोचनात्मक चिन्तन, नवप्रवर्तन र राष्ट्र निर्माणका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्ने आधारशिलासमेत छ, डिजिटल प्रणालीमार्फत शिक्षामा हामीले सुधार ल्यानेछौँ ।’ बैठकमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र सिवाकोटीले ६४औँ ग्रेस लिस्टका साथै आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम र बजेट पेस गरेका थिए ।

९५ हजार विद्यार्थीको ग्रेस लिस्ट पारित
सभाले १ असार ०८२ देखि ०८३ असार मसान्तसम्म त्रिविबाट ट्रान्सक्रिप्ट लिइसकेका ९५ हजार ५४० विद्यार्थीको ग्रेस लिस्ट पारित गरेको छ । उक्त ग्रेस लिस्टमा व्यवस्थापन संकायका ४३ हजार १४२, शिक्षाशास्त्र संकायका १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायका १५ हजार ४४१, कानुन संकायका तीन हजार एक, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानका ५ हजार १६०, चिकित्साशास्त्र अध्ययन संस्थानका एक हजार ९२०, कृषि र पशुविज्ञान अध्ययन संस्थानका ४६३ र वनविज्ञान अध्ययन संस्थानका १९२ विद्यार्थी छन् । उक्त विद्यार्थी संख्यामध्ये स्नातक तहमा ७२ हजार ४०४, स्नातकोत्तर तहमा २२ हजार ५३३, एमफिल तहमा २५३, पिजिडिएसतर्फ १८४ र विद्यावारिधितर्फ १६६ जना रहेको त्रिविका उपकुलपति प्रा.डा. भोला थापाले जानकारी दिए ।

एक महिनामै नतिजा सार्वजनिक गर्न निर्देशन
सभा बैठकमा बोल्दै शिक्षा तथा खेलकुदमन्त्री तथा सहकुलपति पोखरेलले त्रिभुवन विश्वविद्यालयको नेपालको उच्च शिक्षामा ठुलो हिस्सा रहेकाले यसले थिंक ट्यांकको भूमिका निर्वाह गर्नपर्ने बताए । ‘विश्वविद्यालयका पाठ्यक्रमहरूमा आमूल परिवर्तन गरी रोजगारीमूलक उच्चशिक्षा उपलब्ध गराउनुपर्छ, विश्वविद्यालयले समग्र देशको शिक्षा क्षेत्रलाई मार्गदर्शन गर्नुपर्छ,’ उनले भने, ‘समयमा परीक्षा र नतिजा प्रकाशन नभएको भन्ने गुनासो आइरहेको छ, यसलाई सम्बोधन गरी एक महिनामै नतिजा प्रकाशन गर्नुपर्नेछ । शैक्षिक क्यालेन्डरको अक्षरशः पालन हुनुपर्छ, त्रिविको बेरुजु फर्स्योट गरी आर्थिक अनुशासनलाई जोड दिनुपर्छ ।’ उनले त्रिविको प्रशासनिक अधिकारको विकेन्द्रीकरण गरी शैक्षिक गुणस्तर र सुशासनको प्रत्याभूति गराउनेतर्फ ध्यान दिएर काम गरिने बताए ।

सुझावित समाचार