चारमहिने अभियानको समीक्षामा जसपा नेपाल

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

जसपा नेपालले चारमहिने संगठन निर्माण अभियानको समीक्षा थालेको छ । राजधानीमा शनिबार सुरु केन्द्रीय कार्यकारिणी समितिको बैठकमा नेताहरूले समीक्षात्मक धारणा राखेका छन् । पहिलो दिन शनिबार कोशी, मधेश र बागमती प्रदेशका नेताहरूले समीक्षात्मक धारणा राखेका छन् ।

जनतासँग जसपा नेपाल अभियान प्रभावकारी भएको नेताहरूको दाबी छ । अभियान वडा तहसम्म उत्साहजनक रूपमा सञ्चालन भएको नेताहरूले ‘ब्रिफिङ’ गरेका छन् । जसपाले चार महिनादेखि ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ सञ्चालन गरिरहेको छ । प्रत्येक केन्द्रीय सदस्यलाई कम्तीमा एउटा पालिकाको जिम्मा दिइएको छ । केही सदस्यलाई भने एकभन्दा बढी पालिकाको जिम्मा परेको छ ।

कोशी प्रदेशमा अधिकांश ठाउँमा अभियान प्रभावकारी रूपमा सञ्चालन भएको कोशीबाट प्रतिनिधित्व गर्ने नेताहरूले दाबी गरेका छन् । ‘अपवादमा केही ठाउँमा बाहेक अभियान सन्तोषजनक रह्यो,’ नेता जयराम यादवले भने । अधिकांश ठाउँमा वडा तहसम्म सन्तोषजनक रूपमा अभियान सञ्चालन भएको उनीहरूको दाबी छ । केही वडामा भने अभियान सञ्चालनमा कठिनाइ भएको उनीहरूको गुनासो छ ।

मधेश प्रदेशका प्रायः सबै ठाउँमा वडा तहसम्म उत्साहजनक रूपमा अभियान सञ्चालन भएको दाबी नेताहरूले गरेका छन् । ‘मधेशका सबै ठाउँमा वडावडासम्म कार्यक्रम उत्साहजनक रह्यो । पार्टीप्रति जनता आशावादी छन्,’ हरिनारायण यादव, सुरिता साह, राजु गुप्तालगायतले बैठकमा भने, ‘अभियानबाट उत्साह थपिएको छ ।’

बागमती प्रदेशमा भने अभियान सञ्चालनमा केही कठिनाइ भएको नेताहरूको भनाइ थियो । बागमतीमा वडा तहमा पुग्न नसकेको, जिल्लामा सीमित भएको नेताहरूले स्विकारेका छन् । ‘बागमतीमा अभियान अझ प्रभावकारी बनाउनुपर्नेछ । अभियान जिल्ला र केही पालिकामा सीमित बन्न पुग्यो । वडावडासम्म प्रभावकारी रूपमा लान सकिएको छैन,’ विद्युत् बज्राचार्य, सुनी लामालगायतले भने । बाँकी सदस्यले आइतबार धारणा राख्नेछन् ।

बैठकको सुरुमा अध्यक्ष उपेन्द्र यादवले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’को समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजनालगायतका एजेन्डा प्रस्तुत गर्दै सदस्यहरूको धारणा माग गरेका थिए । सदस्यहरूले धारणा राखेपछि अध्यक्षले सम्बोधन गरेर बैठक सक्ने तयारी छ । पार्टी विभाजनपछि जसपा नेपालले जनतासँग जोडिने अभियानलाई प्राथमिकता दिएको छ । संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ पार्टी गठन गरेपछि जसपा नेपाल वडाकेन्द्रित अभियानमा छ ।

सुझावित समाचार