अमेरिकी ओपनर आन्द्रेस गौसले नेपाल प्रिमियर लिग (एनपिएल) र टी–२० करिअरकै पहिलो शतकीय इनिङ्स खेल्दा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको छ । एनपिएलकै सर्वाधिक महँगो टोलीका रूपमा रहेको पोखराले शुक्रबार त्रिवि क्रिकेट मैदानमा पहिलो जित निकाल्दा अर्का ओपनर दिनेश खरेलले पनि अर्धशतक बनाएका थिए । एनपिएलको ११ खेल सम्पन्न हुँदा पहिलोपटक कुनै पनि फ्रेन्चाइज टोलीको १० विकेटको जित र खेलाडीले शतक बनेका हुन् ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले टस जितेर पहिले ब्याटिङ गरी २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७० रनको बलियो योगफल बनाएको थियो । प्रत्युत्तरमा पोखराका गौस र दिनेशले गल्तीरहित इनिङ्स खेल्दै १६.५ ओभरमा लक्ष्य पूरा गरे । पोखरा यसअघि जनकपुरसँग सात विकेट तथा चितवनसँग ८७ रनले पराजित भएको थियो । लुम्बिनीको यो लगातार दोस्रो हार हो । लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो ।
पोखराका ओपनरद्वय गौस र दिनेशले पहिलो विकेटका लागि कीर्तिमानी एक सय ७६ रनको साझेदारी गरे । एनपिएलमा पहिलो विकेटको अहिलेसम्मकै ठुलो साझेदारी हो । यसअघि जनकपुरका विदेशी खेलाडी लाहिरू मिलान्था र हर्ष ठाकुरले विराटनगर किंग्सविरुद्ध एक सय १६ रनको साझेदारी गरेका थिए । अमेरिकी राष्ट्रिय टिमबाट खेलिरहेका ३१ वर्षीय गौसले ५५ बलमा १२ चौका र पाँच छक्कासहित एक सय चार रनको योगदान दिए । उनी २० मा ५० रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनले सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीको रेकर्ड भंग गरेका छन् ।
दीपेन्द्रसिंहले विराटनगरविरुद्ध २३ बलमा अर्धशतक बनाएका थिए । दुई वर्षअघि भएको नवौँ राष्ट्रिय खेलकुद एनआरएनएबाट खेलेका दिनेशले ४६ बलमा समान चार चौका र छक्कासहित ६१ रन जोडे । लुम्बिनीले पोखराविरुद्ध ६ बलर प्रयोग गरेको थियो । स्पिनर सूर्यकुमार तामाङ, कप्तान पौडेल, दुर्गेश गुप्तासँगै साद विन जफर, रामोन सिमोन्ड्स र दीपेश अधिकारीले बलिङ गर्दा पनि पोखराको विकेट गुमेन ।
कप्तान रोहित चुके शतक बनाउन
लुम्बिनीका कप्तान रोहित शतकीय इनिङ्स खेल्न चुकेका छन् । पोखराविरुद्ध उनी ९५ रनमा आउट भए । गौसबाट रनआउट हुनुअघि उनले ५९ बलमा १० चौका र चार छक्का प्रहार गरेका थिए । उनी इनिङ्सकै अन्तिम बलमा रनआउट भएका थिए । प्रतियोगितामा उच्च रन बनाउने पहिलो नेपाली खेलाडी उनी नै हुन् । उनले ३५ बलमा अर्धशतक बनाएका थिए । उनले विराटनगरसँग ४६ रन जोडेका थिए । प्रतियोगितामा अर्धशतक बनाउने रोहित दसौँ खेलाडी हुन् । यसअघि नेपालकै लोकेश बम, अनिलकुमार शाह र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेका थिए ।
रोहित र टम मुर्सले चौथो विकेटका लागि एक सय १० रनको बलियो साझेदारी गरेका थिए । रनआउट भएका टमले ३८ बलमा समान दुई चौका र छक्कासहित ४५ रन बनाए । ओपनर आसुतोष घिरैया र भारतलाई यू–१९ विश्वकप जिताएका ओपनर उन्मुक्त चन्द डकआउट भएका थिए । २.२ ओभरमा लुम्बिनीले १४ रन जोड्दा दुई विकेट गुमाएको थियो । ६.१ ओभरमा ४६ रन बनाउँदा तेस्रो विकेटका रूपमा सन्दीप जोरा व्यक्तिगत १८ रन बनाएर आउट भए । पोखराका विपिन खत्रीले दुई तथा म्याट क्रिच्लीले एक विकेट हात पारे ।
अन्तिम बलमा कर्णाली विजयी
एनपिएलको १०औँ खेलमा कर्णाली याक्सले पहिलो जित निकालेको छ । कर्णालीले चितवन राइनोजलाई अन्तिम बलमा पराजित गरेको हो । पहिलो ब्याटिङ गरेको चितवनले सात विकेट गुमाएर एक सय ३० रन बनाएको थियो । प्रत्युत्तरमा कर्णालीले १९.५ ओभरमा चार विकेट गुमाएर जित निकाल्यो । कर्णालीले तीन खेलमा दुई हार र एक जित निकालेको छ । कर्णालीलाई रोमाञ्चक जित दिलाउने क्रममा भारतका शिखर धवनले ४१ बलमा चार चौका र एक छक्काको सहयोगमा ४५ रन जोडेका थिए । देव खनालले ३४ बलमा समान एक चौका र छक्का प्रहार गरी ३५ रन बनाए । वेस्ट इन्डिजका चाडविक वाल्टनले १९ बलमा तीन छक्का प्रहार गरी ३० रन बनाए । यसअघि ब्याटिङ गरेको चितवनका लागि इंग्ल्यान्डका रभी बोपाराले नटआउट ५९ रनको योगदान दिए । उनले ४० बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । कप्तान कुशल मल्लले २७ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २३ रन बनाए । अघिल्ला दुई खेलमा चम्केका पाकिस्तानका सोहेल तन्विर पोखराविरुद्धको खेलमा विकेटविहीन भए ।

नेपाल समर्थकसँग परिचित मक्सुद
ओमानका अलराउन्डर जिसन मक्सुद नेपाली समर्थकका लागि नयाँ नाम होइन । मक्सुद धेरैपटक ओमानको राष्ट्रिय टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नेपाल आइसकेका छन् । यस कारण उनलाई यहाँको मैदान र समर्थकबारे राम्रोसँग जानकारी छ । नेपाल प्रिमियर लिगमा नेपाल र यहाँका हजारौँ समर्थकको मायाले नै आएको प्रतिक्रिया उनले दिएका छन् । ‘नेपाल मलाई मन लाग्छ । अझ त्रिवि मैदानमा घरेलु खेल हुँदा हजारौँ दर्शक आएको दृश्य हेर्न खुबै मन लाग्छ,’ मक्सुदले भने । उनी एनपिएलमा कर्णाली याक्समा आबद्ध छन् । सन् २०२० देखि उनले नेपालविरुद्ध सात एकदिवसीय खेल खेलेका छन् । उनले नेपालविरुद्ध एउटा खेलमा शतकीय इनिङ खेलेका छन् । उनले शुक्रबारको खेलपछि धेरैजसो समय नेपाल र नेपाली समर्थककै प्रशंसा गरेका थिए । ‘नेपालका समर्थक प्रत्येक बल, रन र बाउन्ड्रीमा चियर गर्छन्, जुन अन्य एसोसिएट राष्ट्रमा देख्न पाइँदैन,’ मक्सुदले भने ।
चितवनविरुद्ध उनले तीन विकेट लिएका थिए । कर्णालीमा विपिनसँगको बलिङ स्पेल राम्रो भइरहेको उनको भनाइ छ । ‘अहिले विपिनसँगको बलिङ पार्टनरसिप गतिलो भइरहेको छ,’ उनले भने, ‘१६ वर्षीय विपिनसँग मिडल ओभरमा बलिङ गर्दा राम्रो लाग्छ ।’ लगातार दुई खेलमा पराजित भए पनि एनपिएलमा कमब्याक गर्न सकिने विश्वास रहेको मक्सुदले बताए । ‘हामीले दुई खेल गुमाएका थियौँ, तर एनपिएलमा फर्कन विश्वास थियो,’ आत्मविश्वासी हुँदै उनले भने, ‘तेस्रो खेलमा जितबाहेक अरू विकल्प थिएन ।’ भारतीय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटको राम्रो अनुभव बटुलेका शिखर धवन टोलीमा रहँदा कर्णाली बलियो भएको उनको बुझाइ छ । ‘शिखरसँग धेरै अनुभव छ । उनले धेरै अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जुन कुरा उनले मैदान पनि देखाइसकेका छन्,’ धवनको प्रशंसा गर्दै मक्सुदले भने ।