प्यालेस्टिनी सशस्त्र संगठन हमास र प्यालेस्टिन अथोरिटीका राष्ट्रपति महमुद अब्बासको फताह पार्टीले युद्धपछिको गाजा सञ्चालन गर्न संयुक्त समिति बनाउन सहमति जनाएका छन् ।
योजनाअन्तर्गत अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, मानवीय सहायता र पुनर्निर्माणसँग सम्बन्धित मामिलामा अधिकारसम्पन्न १० देखि १५ जना तटस्थ व्यक्ति सम्मिलित समिति गठन गरिने प्रस्तावको मस्यौदामा उल्लेख छ । इजिप्टको मध्यस्थतामा कायरोमा सम्पन्न वार्तापछि दुई प्रतिद्वन्द्वी गुटबिच यस्तो सहमत भएको हो ।
सहमतिअन्तर्गत समितिले इजिप्ट–गाजापट्टीको सिमानामा अवस्थित रफाह चौकीको पनि गर्नेछ । रफाह चौकी इजरायलसँग नजोडिएको गाजाको एक मात्र सीमाचौकी हो ।
फताहको केन्द्रीय पार्टी कमिटीका सदस्य अजम अल–अहमदको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल प्यालेस्टिन अथोरिटीका राष्ट्रपति महमुद अब्बासको अन्तिम स्वीकृति लिन मंगलबार रमल्लाह फर्कने दुवै पक्षका वार्ताकारले बताएका छन् । हमास प्रतिनिधिमण्डलको नेतृत्व पोलिटब्युरो सदस्य खलिल अल–हøयाले गरेका थिए ।
प्यालेस्टाइनका दुई प्रतिद्वन्द्वी समूहबिचको सम्बन्ध सुधारको यो प्रयास गाजामा जारी युद्ध अन्त्य गर्न नयाँ कूटनीतिक प्रयास तीव्र भएको समयमा आएको छ । इजिप्ट, कतार र टर्कीसँगै संयुक्त राज्य अमेरिकाले लेबनानमा इजरायल र हिजबुल्लाहबिच नाजुक युद्धविराम लागू भएको लगभग एक हप्तापछि गाजा युद्ध पनि अन्त्य प्रयासलाई नेतृत्व गरिरहेका छन् ।
सन् २००६ को चुनावमा हमासको सानदार विजयपछि भएको घातक झडपपछि हमासका लडाकुहरूले गाजापट्टीबाट फताहलाई लखेटेका थिए । त्यसपछि हमास र फताह एक–अर्काका कठोर प्रतिद्वन्द्वी बनेका छन् । हमासले सन् २००७ मा गाजामाथि पूर्ण नियन्त्रण कायम गर्यो ।