गत साता दुई इजरायली बख्तरबन्दले दक्षिणी लेबनानस्थित आफ्नो एक आधारको मुख्य गेट ध्वस्त पारेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल युनिफिलले रिपोर्ट गर्यो । मुख्य गेट ध्वस्त पार्नुभन्दा अघिल्लो दिन लेबनानमा युनिफिलका कर्मचारीको गतिविधिलाई अवरुद्ध गरेपछि बख्तरबन्दहरू ‘जबर्जस्ती प्रवेश’ गरे । यो उल्लंघन सप्ताहन्तमा संयुक्त राष्ट्रसंघका सेना र अखडामाण् इजरायली आक्रमणको एउटा हिस्सा थियो ।
हिजबुल्लासँग बढेको तनावबिच सेप्टेम्बर २३ देखि इजरायल रक्षाबलले लेबनानविरुद्ध एक गहन हवाई अभियान चलाउँदै छ । ‘उत्तरको तीर’ उपनाम दिइएको उक्त हवाई अभियानले दक्षिणी लेबनानमा युनिफिलको अखडाहरूलाई पनि निसाना बनाएको छ । ती हमलामा गत हप्तामा संयुक्त राष्ट्रका पाँचजना शान्तिसैनिक घाइते भएका थिए ।
इजरायलको रक्षा फौज आइडिएफले घटनाक्रमको फरक संस्करण सार्वजनिक ग¥यो । आफ्ना एन्टिट्यांक मिसाइलले घाइते भएका सिपाहीहरूलाई बाहिर निकाल्न युनिफिलका अखडामा अतिक्रमण गरेको इजरायलकोे दाबी ग¥यो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शान्ति सैनिकमाथि हुने कुनै पनि आक्रमणलाई ‘युद्ध अपराध’ हुन सक्ने चेतावनी दिएका छन् । ‘संयुक्त राष्ट्रसंघीय अन्तरिम बल युनिफिलका कर्मचारी र यसको परिसरलाई कहिल्यै पनि निसाना बनाउनुहुँदैन,’ गुटेरेसका प्रवक्ताले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘शान्ति सैनिकविरुद्धको आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनलगायत अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो ।’
इजरायलले आफ्नो उन्मादलाई रोकेर उचित राजनीतिक निर्णय लिनुपर्छ । लेबनानको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लंघन तत्काल बन्द गर्नुपर्छ र यस क्षेत्रलाई नयाँ विपत्तिमा तान्न सक्ने खतरनाक कार्यको अन्त्य गर्नुपर्छ ।
इजरायलले सेप्टेम्बर ३० मा सशस्त्र समूह हिजबुल्लालाई निसाना बनाएर लेबनानमा स्थलगत आक्रमण सुरु गरेपछि लडाइँ तीव्र भएको भन्दै दक्षिणी लेबनानका क्षेत्रबाट फिर्ता हुन संयुक्त राष्ट्र शान्तिसेनालाई बारम्बार आग्रह गरेको छ । करिब ५० देशका लगभग १० हजार शान्ति सेना आठ सय नागरिक कर्मचारीसँगै लेबनानका विभिन्न क्षेत्रमा तैनाथ छन् । सन् १९७८ देखि तिनीहरूले लितानी नदी र लेबनान र इजरायलबिच संयुक्त राष्ट्रद्वारा मान्यताप्राप्त सीमाक्षेत्र ‘नीलो रेखा’ भनेर चिनिने बिचको क्षेत्रमा गस्ती गर्दै आएका छन् ।
लेबनानमा संयुक्त राष्ट्र शान्ति मिसनमा योगदान गर्ने देशहरूमध्ये एक चीन गम्भीर रूपमा चिन्तित छ । परिसरमा आइडिएफको हमला र युनिफिलको अवलोकन टावरमा भएका आक्रमणको कडा निन्दा गर्दछ । ती आक्रमणमा युनिफिलका केही कर्मचारी घाइते भएका थिए । युनिफिलले आफ्नो शान्ति स्थापना कार्य संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावबाट जनादेशअन्तर्गत गर्दछ । संयुक्त राष्ट्र शान्ति सैनिकमाथि कुनै पनि जानाजानी आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुन र युएनएससीको प्रस्ताव १७०१ को गम्भीर उल्लंघन हो । यो बिल्कुल अस्वीकार्य छ । इजरायलले यस्ता आक्रमणलाई तुरुन्तै बन्द गर्नुपर्छ ।
चीनले घटनाको छानबिन गर्न माग गर्दै जिम्मेवार व्यक्तिलाई कारबाही गर्ने प्रयासमा इजरायली पक्षलाई सचेत गराएको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि पहल गर्न बेइजिङले जेरुसेलमसँग आग्रह गरेको छ । द्वन्द्वका पक्षले युनिफिललगायत संयुक्त राष्ट्रका सबै कर्मचारी र सम्पत्तिको सुरक्षालाई गम्भीरतापूर्वक सुनिश्चित गर्नुपर्छ । चीनले सबै पक्ष विशेष गरी इजरायललाई तनाव कम गर्न संयुक्त राष्ट्र शान्तिसेनाका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न र द्वन्द्वलाई थप विस्तार हुन वा नियन्त्रणबाहिर जानबाट रोक्न तत्काल कदम चाल्न आग्रह गरेको छ ।
गाजा पृथ्वीमा नरक बनेको छ । यसबिचमा लेबनानमा नागरिक सुविधाको ठुलो विनाश भएको छ । हजारौँ हताहत भएका छन् र ठुलो संख्यामा प्यालेस्टिनी शरणार्थीसहित १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । युद्धविरामलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ । लेबनानका सबै पक्षले तत्काल युद्धविरामका लागि आह्वान गरिसकेका छन् । अरब लिगले पनि स्पष्ट अपिल जारी गरेको छ ।
यो संकट अन्त्य गर्ने कुन्जी कसको हातमा छ भन्ने स्पष्ट छ । इजरायलले बल प्रयोगको साथ आफ्नो उन्मादलाई हटाउनुपर्छ । उसले सही राजनीतिक निर्णय लिनुपर्छ । लेबनानको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लंघन गर्न बन्द गर्नुपर्छ र यस क्षेत्रलाई नयाँ विपत्तिमा तान्न सक्ने खतरनाक ‘साहसिक’ कार्यको अन्त्य गर्नुपर्छ ।
इजरायलको सम्पूर्ण क्षेत्रमा सैन्य अपरेसनका लागि विनासर्त सैन्य र आर्थिक सहयोग प्रदान गर्ने एक मात्र देशको रूपमा संयुक्तराज्य अमेरिका आफ्नो निष्क्रिय ढिलाइ, ढाकछोप र सहयोग बन्द गर्नुपर्छ । स्थिति थप बिग्रन नदिन जिम्मेवारीपूर्वक काम गर्न र रचनात्मक भूमिका खेल्न वासिङ्टन बाध्य छ ।
–चाइना डेलीका लागि ली याङको रिपोर्ट