दाङमा आठ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी हिरासतमै मृत फेला परेका छन् । दाङको २९ नम्बर ज्वालामाई गणमा कार्यरत रहेका सहायक हवल्दार रेवन पचभैया हिरासतमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले बताए ।
बिहान ५ बजेतिर शौचालयमा झुन्डिएको अवस्थामा पचभैया फेला परेका थिए । उनको बयान लिइसकिएको प्रहरीले बताएको छ । बालिका बलात्कारको आरोपमा दुईजना सुरक्षाकर्मीलाई ८ कात्तिकमा पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा अर्का सहायक हवल्दार भरत रोका रहेका छन् ।
उनीहरूलाई वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा राखिएको थियो । २४ असोजमा भालुवाङ पुल्चोक बजारमा डेरा गरी बस्ने आठ वर्षीया र अर्की १४ वर्षीया बालिका पिङ खेल्न गएका थिए । त्यस क्रममा आठ वर्षीया बालिकामाथि बलात्कार भएको थियो । बलात्कारपछि पीडितले उनीहरूको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो ।