काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरलाई तीन प्रश्न

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाभित्रकै बाढीपीडितले राहत पाएनन् भन्ने गुनासो आएको छ नि ?
हामीले महानगरभित्रका बाढीपीडितलाई अहिले खाना खुवाउने र बस्ने व्यवस्था मिलाएका छौँ । बल्खुसँगै कुलेश्वर क्षेत्र, फलफूल बजार, खाद्यान्न स्टोर क्षेत्र र करखुसी नदीलगायत सबैभन्दा बढी प्रभाव परेको क्षेत्रमा वडाले शनिबार नै बाढी प्रभावित एक सय २५ जनालाई कम्बल र म्याट वितरण गरेको छ । राहत भनेको त यही नै होला । यसबाहेक उहाँहरूलाई के चाहिएको हो ?

अहिले महानगरभित्रका बाढीपीडितको अवस्था कस्तो छ त ?
महानगरको बागमती, विष्णुमती, रुद्रमती, मनोहरा, सामाखुसी खोला, करखुसी खोला, बल्खु खोला, भचाखुसी खोलालगायत महानगरपालिकाभित्रका नदी र अविरल वर्षाका कारण नदीसँगै ससाना खोल्सामा पनि पानीको तीव्र बहाब आएको थियो । जसका कारण महानगरको वडा नम्बर १० र १४ मा धेरै असर गरेको छ । त्यहाँका प्रभावित स्थानीय बासिन्दाहरू आफू बसेको भन्दा फरक ठाउँमा, फरक अवस्थामा बस्न बाध्य हुनुभएको छ । उहाँहरूलाई एकद्वार प्रणालीबाट वडामार्फत राहत पठाएका छौँ । हामी आफैँ पनि गएर प्रभावित क्षेत्र हेरेका छौँ । समस्या परेको ठाउँमा भन्नुस्, हामी थप सहयोग गर्न तयार छौँ । 

बाढीपीडितहरूका लागि अब महानगरले केके गर्छ ?
अहिलेलाई उहाँहरू ‘सेफ जोन’मा हुनुहुन्छ या हुनुहुन्न भन्ने विषय सबैभन्दा ठुलो हो । उहाँहरूको खानपिन र बसोबासका लागि महानगरले सघाइरहेको छ । महानगरप्रति पीडितको अपेक्षा ठुलो छ । उहाँहरूलाई पुनस्र्थापना नै गर्न त समय लाग्छ । 

सुझावित समाचार