टेलिमेडिसिन सेवा भनेको के हो ?
टेलिमेडिसिन भनेको टेलिफोन तथा भर्चुअल माध्यमबाट प्रवाह हुने स्वास्थ्य सेवा हो । यसमा टेलिफोन, भिडियो कन्फरेन्स तथा डिजिटल प्लाटफर्मका माध्यमबाट बिरामी जहाँ छन्, त्यहीँ परामर्श तथा सल्लाह सुझावसहित आवश्यक समन्वय गरिन्छ । यसले विशेषतः दूरदराज र वैदेशिक रोजगारीमा गएका नेपालीलाई फाइदा पुग्छ । यो प्रविधि र टेलिफोनको दुनियाँ हो । त्यसैले, यसको माध्यमबाट पनि विश्वमा छरिएका नेपालीलाई स्वास्थ्य सेवा तथा परामर्श दिन सकिन्छ ।
नेपालमा टेलिमेडिसिनको आवश्यकता र सेवा कस्तो छ ?
समग्र नेपालमा टेलिमेडिसिन सेवा त्यति राम्रो छैन । तर, वीर अस्पतालले दिइरहेको सेवा धेरै नै प्रभावकारी छ । दैनिक २०–२५ जनाले विदेशबाट फोन गरेर स्वास्थ्य परामर्श तथा सुझाव सल्लाह लिइहनुभएको छ । उचित परामर्श पाएपछि कतिपयको जीवन पनि बचेको छ । गएको साउनयता बिहान ९ बजेदेखि बेलुकी ९ बजेसम्म टेलिमेडिसिन सेवा प्रदान गरिन्छ । त्यसका लागि अस्पतालका दुइटा मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२, ह्वाट्सयाप, भाइबर र इमोलगायतबाट सम्पर्क गरेर टेलिमेडिसिन सेवा लिन सकिन्छ । विशेषगरी, वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जानुभएका नेपालीले यो सेवालाई रुचाउनुभएको छ । यसको प्रचारप्रसारचाहिँ कमै छ ।
नेपालमा टेलिमेडिसिनलाई कसरी प्रभावकारी बनाउन सकिएला त ?
दुर्गममा विशेषज्ञ चिकित्सक सेवा पुर्याउन नसकिने भएकाले त्यहाँका लागि टेलिमेडिसिन प्रभावकारी हुन सक्छ । सरकारको डिजिटल नेपाल फ्रेमर्वकमा आठ क्षेत्रमध्ये स्वास्थ्य एउटा क्षेत्र थियो । त्यसमा टेलिमेडिसिन सेवा सुरु गर्ने उल्लेख थियो । तर, त्यसलाई प्रभावकारी रूपमा अघि बढाइएन । अर्कातर्फ हामीकहाँ यसको नीति स्पष्ट छैन । तर, अब भने यसको नीति स्पष्ट हुनुपर्छ । टेलिमेडिसिनलाई पनि आवश्यकता ठानेर काम गर्नुपर्छ । अन्य अस्पतालमा यसलाई विस्तार गर्नुपर्छ । वीरलाई टेलिडेडिसिनको हब बनाउने गरी अन्य अस्पतालसँग पनि समन्वय भइरहेको छ । अझ यहाँबाट टेलिमेडिसिनमा दिइएको पेसक्रिप्सन अन्य देशमा पनि स्वीकार्य होस् भनेर समन्वय भइरहेको छ । वर्तमान समयमा नेपाली विश्वभर हुनुहुन्छ । नेपालकै पनि दूरदराजमा भनेजस्तो स्वास्थ्य सेवा छैन । त्यसका लागि टेलिमेडिसिन सेवा प्रभावकारी हुन्छ ।