सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाको अलगअलग अपिलपछि कांग्रेस फुट्न लागेको हो ?
लोकतान्त्रिक पार्टीभित्र विचार, नेतृत्व र कार्यशैलीका विषयमा मतभिन्नता हुनु स्वाभाविक हो । लोकतान्त्रिक पार्टीभित्र फरक धारणा आउनुलाई कमजोरीका रूपमा लिनु हुँदैन । तर, अहिलेको चुनौती भनेको मतभिन्नतालाई विभाजनमा परिणत हुन नदिनु हो । हामी सबैले कांग्रेसलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउनुपर्छ । सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवा दुवै कांग्रेसकै महत्वपूर्ण नेतृत्व हुनुहुन्छ । त्यसैले, व्यक्तिगत वा गुटगत आग्रहभन्दा माथि उठेर संवाद र सहमतिका माध्यमबाट समस्याको समाधान खोजिनुपर्छ । कांग्रेस फुट्ने होइन, अझ व्यवस्थित र एकताबद्ध भएर अघि बढ्नुपर्छ ।
अबको कांग्रेसमा नीतिगत हस्तक्षेप गर्न सक्ने स्थानमै पुग्न सक्लान् त युवा ?
वडादेखि केन्द्रसम्म युवाको प्रतिनिधित्व सुनिश्चित हुनु आफैँमा ठुलो उपलब्धि हो । तर, संख्या बढाएर मात्र पुग्दैन । युवाले पार्टीको नीति निर्माण, संगठन सञ्चालन, उम्मेदवार छनोट र देशका समसामयिक मुद्दामा आफ्नो धारणा प्रभावकारी रूपमा राख्ने र नीतिगत हस्तक्षेप गर्न सक्ने अवस्था सिर्जना हुनुपर्छ । अबका दिनमा युवालाई सुन्ने मात्र होइन, युवासँगै बसेर नीति बनाउने कांग्रेस आवश्यक छ । युवाको सहभागिता केवल प्रतिनिधित्वमा सीमित नभई नीतिगत नेतृत्व र निर्णय प्रक्रियासम्मै पुग्नुपर्छ ।
अब नेपाली कांग्रेसको प्राथमिकता के हुनुपर्छ ?
आन्तरिक एकता, संगठन सुदृढीकरण र जनताको विश्वास पुनः मजबुत बनाउनु नै कांग्रेसको पहिलो प्राथमिकता हुनुपर्छ । हामीले पद र गुटको बहस मात्र गरेर हुँदैन । कांग्रेसले जनताका वास्तविक समस्या समाधान गर्ने स्पष्ट एजेन्डा दिनुपर्छ । विशेषगरी पाँचवटा विषयलाई प्राथमिकता दिनुपर्छ । पहिलो– सुशासन र भ्रष्टाचार नियन्त्रण, दोस्रो– युवाका लागि रोजगारी र अवसर, तेस्रो– आर्थिक विकास र उद्यमशीलता, चौथो– संगठनको पुनर्जागरण र पाँचौँ– पुस्तान्तरणसँगै पुस्ताबिचको सहकार्य नै अहिलेको आवश्यकता हो । नयाँ पुस्तालाई अगाडि ल्याउँदा पुरानो पुस्ताको अनुभवलाई अस्वीकार गर्ने होइन, पुरानाको अनुभव र नयाँको ऊर्जाको संयोजनबाट कांग्रेसलाई नयाँ उचाइमा पुर्याउनुपर्छ ।