हाम्रो बजारमा पाइने उपभोग्य वस्तु उपभोगका लागि कति सुरक्षित छन् ?
हाम्रो बजारमा पाइने कुनै पनि उपभोग्य वस्तु उपभोगका लागि पटक्कै सुरक्षित छैनन् । म्याद गुज्रेका, लेभल नलागेका वस्तु उपभोक्ताको भान्सासम्मै पुगिरहेका छन् । कानुनले गर भनेका काम गरिएका छैनन् र नगर भनेका काम गरिएका छन् । दैनिक उपभोग्य दुध, पानी, तेल, चिनी, चाउचाउलगायत हरेक वस्तुमा अखाद्य वस्तुको मिलावट पाइने हुनाले ती उपभोगयोग्य नै छैनन् । नाम खाद्यवस्तुको भए पनि ती खानयोग्य छैनन् ।
गुदपाक, मिठाईजस्ता खाद्यवस्तुको उत्पादनमा किन जहिल्यै लापरबाही गरिन्छ ?
यस्ता खाद्यवस्तुका उत्पादक उपभोक्ताप्रति जिम्मेवार छैनन् । सरोकारवाला निकायमा भएका कानुन कार्यान्वयनको इच्छाशक्ति छैन । यसमा राजनीतिक नेतृत्व र उद्योगी, व्यापारीको व्यापक प्रभाव र दबाब छ । बजार अनुगमन नाम मात्रको अत्यन्त फितलो छ । कारबाही निकै कमजोर छ । त्यसले गर्दा कैफियत भेटिएका उद्योगी, व्यवसायी थप उत्साही बन्ने अवस्था छ ।
हाम्रा अधिकांश अनुगमन चाडपर्वलक्षित र कर्मकाण्डी किन देखिन्छन् ?
राज्यका निकायहरूले गर्ने अनुगमन बजारलाई स्वच्छ, स्वस्थ, मर्यादित र अनुशासित बनाउन होइन, सामान्य कर्मकाण्ड पूरा गरेर उपभोक्तासामु अनुगमनको ‘डेटा’ पुर्याउनमा मात्र सीमित देखिन्छन् । यस्ता अनुगमन उपभोक्ता अधिकारकर्मी र मिडियालाई बोलाएर उनीहरूलाई साक्षी राखेर गरिनुपर्ने हो । मिडियालाई साक्षी राखे पो अनुगमनको वास्तविक रिपोर्ट उपभोक्तासम्म पुग्न सक्छ र अनुगमन पनि पारदर्शी हुन्छ । नत्र, चाडपर्वको समय पारेर बजार घुम्दैमा कसरी हुन्छ र प्रभावकारी अनुगमन ? देखाउनकै लागि मात्र गरिने अनुगमनले परिणाम दिँदैन । यसलाई प्रभावकारी बनाउने हो भने खुद्रा व्यापारीलाई होइन, स्रोतमै पुगेर अनुगमन गरिनुपर्छ । विडम्बना, हाम्रा अनुगमन देखाउन या कर्मकाण्ड पूरा गर्नकै लागि गरिन्छ । जसले कुनै परिणाम नदिने र बजारलाई झन् फुक्काफाल बनाउने निश्चित छ ।