बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीलाई ३ प्रश्न

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

शुक्रबारदेखि हुने भनिएको वर्षाबाट बाढीपहिरोको जोखिम कति देखिन्छ ?
जोखिम हुँदै नभएको होइन, जोखिम छ । तर, बाहिर चलिरहेको हल्लाको अनुपातमा त्यति ठुलो जोखिमको सम्भावना भने देखिएको छैन । मौसम प्रणाली बलियै देखिन्छ । तर, अझै शुक्रबारसम्मको अवस्था कस्तो हुन्छ, अहिले नै भन्न सकिने अवस्था छैन । किनकि, हिजोको तुलनामा आज नै यो प्रणाली केही कमजोर भइसकेको छ । त्यसैले, यसको जोखिम भयावह हुने सम्भावना भने छैन । ठुला नदी प्रणालीमा बाढीको अवस्था खतराको तहसम्म पुग्न सक्छ । साना नदीमा बाढीको जोखिम उच्च छ । बाढीसँगै पहाडी क्षेत्रमा पहिरोको पनि जोखिम देखिन्छ । 

यसबाट डराउनुपर्ने या सचेत हुनुपर्ने अवस्था कति देखिन्छ ?
त्रसित नै हुनुपर्ने अवस्था अहिलेसम्म देखिएको छैन । एक, डेढ सय मिलिमिटरसम्म वर्षा हुन सक्छ । बाढी पक्का आउँछ । त्यो खतराको तहआसपास नै सीमित हुन सक्छ । नदीकिनार तथा तराई, मधेशमा सामान्य डुबान हुन सक्छ । ससाना पकेट क्षेत्रमा चाहिँ ठुलै पानी पर्न सक्छ । पहाडी र हिमाली क्षेत्रमा आकस्मिक बाढी, हिमपात र पहिरोको जोखिम हुन सक्छ । ट्रेकिङ गइसकेकालाई फर्काउन र आगामी दुई–चार दिन ट्रेकिङमा नपठाउन सुझाव दिएका छौँ । त्यसैले, आगामी केही दिन हामी सबै सामान्यभन्दा अलि बढी सचेत रहनु राम्रो हुन्छ । 

सम्भावित जोखिमबाट बच्न केकस्ता पूर्वतयारी गर्नुपर्ला ?
हामीले पूर्वतयारीमा तीनटा विषय उठाएका छौँ । दुई–तीन दिन झरी पर्ने हुनाले धान काटेको छैन भने काट्नुभएन र काटिसकेको छ भने पर्सिसम्ममा थन्क्याइसक्नुपर्छ । अत्यावश्यकबाहेक यात्रा सकभर गर्नुहुँदैन । एक साताका लागि पर्वतारोहण बन्द गर्न सुझाव दिएका छौँ । त्यसबाहेक बाढीपहिरोको जोखिम रहेका स्थानबाट सकभर टाढै बस्दा राम्रो हुन्छ । 
 

सुझावित समाचार