जलवायु परिवर्तनबाट प्रभावितका लागि हानिनोक्सानी कोष भनेको कस्तो कोष हो ?
जलवायु प्रतिकार्यका लागि तीनवटा पिलरमा काम गरिन्छ- न्यूनीकरण, अनुकूलन र हानिनोक्सानी। कोषले तेस्रो पिलर अर्थात् हानिनोक्सानीमा मात्र काम गर्छ। जलवायु परिवर्तनका कारण मानव जाति तथा पारिस्थितिक प्रणालीमा अनुकूलन हुन नसक्ने अवस्थामा प्रभावितलाई क्षतिपूर्ति दिनु यो कोषको उद्देश्य हो । तर, कोषले ‘क्षतिपूर्ति’ शब्द प्रयोग गरेको भने छैन । क्षतिपूर्ति या सहायता जे भने पनि त्यसमा औद्योगिक राष्ट्रहरूले अझै आनाकानी गरिरहेका छन्, उनीहरूको हिच्किचाहट कायमै छ । विगतमा जलवायु परिवर्तनबाट सबैभन्दा बढी असर परेका टापु राष्ट्रहरूले यससम्बन्धी आवाज उठाएपछि सन् २०२२ को कोप २७ बाट यस्तो कोष बनाउने घोषणा गरियो र २०२३ मा युएईमा आयोजित कोप २८ मा रकम जम्मा गरेर कोष सुरु गरियो । कोषमा हाल करिब साढे चार सय मिलियन डलर जम्मा भएको छ।
भाेटेकोशी बाढीको विनाशपछि नेपालले पनि त्यस्तो कोषबाट क्षतिपूर्ति पाउन सक्छ ?
भोटेकोशी बाढीको क्षतिपछि नेपालले गरेको दाबीअनुसार करिब २० मिलियन डलर पाउने सम्भावना बलियो छ । तर, कहिले र कसरी पाइन्छ, निश्चित छैन । हाम्रो अहिलेको क्षतिअनुसार यो रकम निकै न्यून हो । तर, सहायता रकम दिन सुरु भयो भने भविष्यमा अन्य प्रभावित राष्ट्रहरूका लागि पनि दाबीको बाटो खुल्छ । त्यसैले, यसलाई ‘सिम्बोलिक’ रूपमा सकारात्मक मान्न सकिन्छ ।
यस्तो क्षतिपूर्तिका लागि नेपालले प्रस्तुत गरेको दाबी प्रक्रियासम्मत छ त ?
सो कोषबाट अहिलेसम्म कसैले पनि क्षतिपूर्ति या सहायता नपाएको अवस्थामा नेपालको दाबीलाई कोषको बोर्डले कसरी लिन्छ, हेर्न बाँकी नै छ । यो तात्कालिक सहयोगका लागि गरिएको दाबी हो । यस्ता विपत्तिबारे प्रस्तावना लेखेर र घटना जलवायु परिवर्तनका कारण भएको हो भनेर पुष्टि गर्नुपर्ने अवस्थामा प्रस्तावनासहित जानुपर्ने पनि हुन सक्छ ।