‘स्क्रिन टाइम’ बढी भएका बालबालिकामा के–कस्ता समस्या देखिन सक्छन् ?
स्क्रिन टाइम बढी भएका बालबालिकामा मूलतः ‘फिजिकल र मेन्टल हेल्थ’सम्बन्धी समस्या देखिने गरेका छन् । उनीहरूमा दृष्टिसम्बन्धी समस्या बढी देखिन्छ । खासगरी स्क्रिनमा भुल्दै गर्दा शारीरिक गतिविधि कम हुने र ‘प्रोसेस्ड फुड’ बढी खाइने हुँदा मोटोपनको समस्या बढ्न सक्छ । यसबाट दीर्घकालमा मोटोपनसँगै जोडिने मुटुसम्बन्धी समस्या, सुगर र कोलेस्ट्रोलको समस्या पनि देखिन सक्छ । यसका साथै, मेन्टल हेल्थमा पनि समस्या आउन सक्छ । बालबालिकाको आनिबानीसम्बन्धी समस्या बढ्छ । पठनपाठन या कुनै काममा ध्यान दिन नसक्ने, रिसाहापन बढ्ने, एकोहोरो हुनेजस्ता समस्या देखिन सक्छन् । ‘स्क्रिन’ भनेको ‘वान वे ट्राफिक’ हो । यसले बालबालिकाको दोहोरो सञ्चारमा असर पुर्याउँछ । उमेरअनुसार हुनुपर्ने भाषिक विकासमा अवरोध ल्याउँछ । स्क्रिनमा हिंसालगायत बालमस्तिष्कप्रतिकूल दृश्य हेर्दा त्यसले एन्जाइटी बढाउन सक्छ ।
स्क्रिन टाइमको विकल्प के हुन सक्छ ?
स्क्रिन टाइमको विकल्प भनेको ‘अल्टरनेटिभ इन्टरटेनमेन्ट’को व्यवस्था गर्नु हो । यसका लागि बालबालिकालाई मन पर्ने ‘आउटडोर’ र ‘इनडोर’ खेलमा व्यस्त गराउन सकिन्छ । उनीहरूको उमेर र रुचिअनुसार ब्याडमिन्टन, टेबलटेनिस, फुटबल, बास्केटबल, क्रिकेट, लुकामारी, पजल, क्यारेमबोर्डजस्ता अनेकौँ खेल गतिविधिमा उनीहरूलाई सरिक गराउन सकिन्छ । अतिरिक्त पुस्तक अध्ययनको व्यवस्था पनि प्रभावकारी हुन सक्छ । साथै, सांगीतिक गतिविधिमा सरिक गराउनु पनि राम्रो हुन्छ । छुट्टीका दिनमा हाइकिङ, घुमफिर आदिको व्यवस्था मिलाउनु पनि स्क्रिन टाइमको विकल्प हुन सक्छ ।
बढ्दो स्क्रिन टाइमलाई रोक्ने जिम्मेवारी कसको हो ?
यसको सुरुवात घरपरिवारबाटै हुनुपर्छ । तर, यसमा परिवारसँगै, विद्यालय, समुदाय, स्थानीय तह, सरकार सबैको जिम्मेवार भूमिका हुन्छ । समुदायमा पार्क बनाउने, खेलमैदान, पौडी पोखरी आदिको व्यवस्था गर्ने कार्य स्थानीय सरकारका जिम्मेवारी हुन् ।