राजनीतिक विश्लेषक माधव न्यौपानेलाई ३ प्रश्न

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

फुटको डिलमा उभिएको कांग्रेसमा एकताको सम्भावना कति देखिन्छ ?
सोमबार दिउँसोअघिको परिस्थिति हेर्दा संस्थापनइतर समूहले बार्गेनिङ गरिरहेको छ जस्तो देखिन्थ्यो । तर, सोमबार सो समूहले ३ असोजको वडा अधिवेशनमा होइन, १५ असोजको वडा सम्मेलनमा भाग लिनुहोस् भनेर जुन सर्कुलर गरेको छ, त्यसले अब मिल्ने सम्भावना समाप्त भएजस्तो देखिएको छ । देश अनेकौँ संकटमा घेरिएको अवस्थामा कांग्रेसजस्तो लोकतान्त्रिक दल मिलेर जानुपर्ने विषम परिस्थितिमा यसरी फुटको दिशामा अघि बढ्नु दुःखद छ । पार्टीमा वैचारिक विवाद हुनु स्वाभाविक हो । तर, कांग्रेसमा विचारको विवाद छैन । यो त निश्चित व्यक्ति र उसको पदकेन्द्रित स्वार्थमा आधारित विवाद मात्र हो । 

कांग्रेस संस्थापनले एकताका लागि गरेको लचिलो निर्णयलाई पनि संस्थापन इतर समूहले नमान्नुले के संकेत गर्छ ?
शेरबहादुर देउवाले विगतमा पनि पार्टी फुटाउनुभएकै हो । अहिले फेरि उहाँकै जोडबलमा पार्टी फुट्ने सम्भावना देखिँदै छ । यतिखेर संस्थापन पक्ष हदैसम्म लचिलो भएको र संस्थापनइतर पक्ष व्यक्तिगत इगो लिएर बसेको देखिन्छ । यसले उहाँहरूले परिवर्तन र आफूभन्दा जुनियर युवाको नेतृत्वलाई स्विकार्न सक्नुभएको छैन भन्ने संकेत गरेको छ ।

यस्तोमा पार्टी नफुटाउन कांग्रेसका दुवै समूहका नेताले के गर्नुपर्थ्यो ?
यतिखेर बाहिरबाट सर्सर्ती हेर्दा संस्थापन पक्ष अहिलेको भन्दा लचिलो हुन सक्ने ठाउँ देखिँदैन । १४औँ महाधिवेशनबाट आएका केन्द्रीय सदस्य सबैलाई समेटेर महाधिवेशन आयोजक समिति बनाउने भन्ने संस्थापन पक्षको निर्णय सहमतिको अन्तिम प्रयास हो । यसलाई स्विकारेर संस्थापनइतर समूह पनि त्यसैगरी लचिलो भएर आउनुपर्छ । यतिखेरको देशको राजनीतिक परिस्थिति, भूराजनीति, राष्ट्रिय विपत्को अवस्था आदिलाई ध्यानमा राखेर पनि कांग्रेस मिल्नैपर्छ । त्यसका लागि संवाद एउटा विकल्प बन्न सक्छ । तर, संवादमा बस्नुअघि दुवै खेमाले आआफ्ना इगोलाई त्याग्न सक्नुपर्छ ।

सुझावित समाचार