एमाले केन्द्रीय सदस्य ठाकुर गैरेलाई ३ प्रश्न

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

बिहीबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकको सन्देश के हो ?
पछिल्लो केन्द्रीय कमिटी बैठकले नेतृत्व तहमा हामी सबै एकताबद्ध छौँ भन्ने प्रस्ट सन्देश दिएको छ । साथै, बैठकले आगामी दिनमा थप सशक्त र एकताबद्ध भएर अगाडि जाने प्रतिबद्धता पनि व्यक्त गरेको छ । पार्टीलाई एकढिक्का राखेर थप गतिशील भई जनतामाझ जाने विषयमा बैठकले जोड दिएको छ । 

पार्टी पुनर्गठनसँगै उठेको नेतृत्वमा हस्तान्तरण र पुस्तान्तरणको मुद्दाको निरूपण किन हुन सकेन ?
पार्टीमा पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा उठेको त हो । तर, अहिलेका लागि त्यो मुद्दा निर्णयको तहमा पुग्न सकेन । वर्तमान नेतृत्व र एमालेविरुद्ध घेराबन्दी गरी विपरीत जनमत बनाउने प्रयास भइरहेको अहिलेको समयमा थप एकताबद्ध भएर जानु नै सही र बुद्धिमत्तापूर्ण निर्णय हो भन्नेमा बैठकले आफ्नो अभिमत प्रकट गर्यो । पार्टी अप्ठ्यारोमा परेको यस्तो समयको माग बुझेर तत्कालका लागि पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दालाई थाती राख्ने काम गरियो । 

यही बैठकको निर्णयले एमाले पुनर्जागृत हुन सक्ला त ?
नेपालमा राष्ट्रियताको संवर्धन, लोकतन्त्र तथा संविधानको रक्षा तथा समयसापेक्ष रूपमा संशोधन गरी कार्यान्वयन तहबाट संविधानलाई थप समृद्ध बनाउने दिशामा एमालेका लक्ष्य, उद्देश्य र विचार सही छन् । पछिल्लो एउटा निर्वाचन परिणामले मात्र पार्टीको भविष्य निर्धारण गर्दैन । त्यसैले, एकताबद्ध भई देशव्यापी पुनर्जागरण अभियान लिएर तल जनस्तरसम्म पुग्ने निर्णय भएको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्ष्य बनाएर एकताबद्ध भएर जनतामाझ जाँदा निर्वाचनबाट शक्ति आर्जन गरी पहिलेकै अवस्थामा फर्किन सकिन्छ भन्नेमा सिंगो एमाले दृढ छ । 

सुझावित समाचार