प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहाललाई तीन प्रश्न

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री कार्यालयअन्तर्गतका विभाग र कार्यालयको प्रभावकारिता किन कमजोर भएको होला ? 
हामीकहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यबोझ अत्यधिक भयो । कार्यालयअन्तर्गत ११ वटा विभाग र कार्यालय छन् । प्रधानमन्त्री कार्यालयले सीधै हेर्ने गरी धेरै संस्था ल्याउनु र राखिनु ठिक होइन । यसले काममा असर पार्छ । प्रधानमन्त्री कार्यालयले त समन्वय र सहजीकरण गरी आवश्यक निर्देशन दिने हो । 

प्रधानमन्त्री कार्यालयकै भूमिका किन कमजोर भएको होला ? 
प्रधानमन्त्री कार्यालयलाई ४८ वटा कार्यको जिम्मेवारी तोकिएको छ । विश्वविद्यालयदेखि अनेकौँ संस्थामा प्रधानमन्त्रीलाई कुलपतिदेखि अध्यक्ष तोकिएको छ । प्रधानमन्त्रीको काम धेरै छ । प्रधानमन्त्रीसँग राष्ट्रिय अन्तर्राष्ट्रिय दायित्व बढी हुन्छ । संसदीय प्रणालीमा त प्रधानमन्त्री सरकार र सदन दुवैको नेता हो । यी दुवैलाई अघि बढाउने अहम् दायित्व प्रधानमन्त्रीकै हुन्छ । यसका अलावा पार्टी र अन्तरपार्टीको विषय पनि व्यवस्थापन गर्नुपर्छ । यसले गर्दा प्रधानमन्त्रीले सबैतिर ध्यान दिन भ्याउनुहुन्न । यस्तो अवस्थामा सम्बन्धित मन्त्रालय, मन्त्री र सचिवलाई नै जिम्मेवार बनाउनुपर्छ । बरु यसका लागि जनशक्ति, क्षमता र दक्षता बढाउनुपर्छ ।

यसको समाधान के हुन्छ त ? 
प्रधानमन्त्री कार्यालयलाई छरितो बनाउनुपर्छ । कार्यालयले अनुगमन, समन्वय र सहजीकरण गर्ने हो । आवश्यक ठाउँमा निर्देशन दिने हो । यही भूमिकामा कार्यालयलाई राख्नुपर्छ । प्रधानमन्त्री कार्यालयले सबै मै हेर्छु भन्न लाग्यो भने कतै पनि भ्याउँदैन । अधिकार प्रत्यायोजन र हस्तान्तरण गरेर प्रधानमन्त्री कार्यालयले तत्तत् निकाय र अधिकारीलाई नै जिम्मेवार बनाउनुपर्छ । अधिकारको निक्षेपण गरी नियमन र निगरानीको भूमिकामा प्रधानमन्त्री कार्यालय रहनुपर्छ । यसले मात्र प्रधानमन्त्री कार्यालय प्रभावकारी हुन सक्छ । 

सुझावित समाचार