एमाले नेतृत्वमा पुस्तान्तरण र रूपान्तरणको सम्भावना कति देखिन्छ ?
तत्कालका लागि एमालेमा झिनो रूपान्तरण त हुन सक्ला, तर नेतृत्वमा पुस्तान्तरण भने हुने अवस्था देखिन्न । चितवन महाधिवेशनमा प्रतिस्पर्धालाई पूर्णतः निषेध गरियो र दोस्रो, तेस्रो तहका पदाधिकारी र केन्द्रीय सदस्यहरू सबै टीके प्रणालीबाट चुनिए । त्यसयता गत निर्वाचनअघिको महाधिवेशनबाट तेस्रो कार्यकालका लागि केपी शर्मा ओलीलाई अध्यक्ष पदमा ल्याउँदा पनि चरम गुटबन्दी देखियो । स्वस्थ प्रतिस्पर्धा हुन दिइएन । जसका कारण पार्टीमा अध्यक्षको विरोधमा मुख खोल्न सक्ने या प्रश्न उठाउन सक्ने पंक्ति नै तयार भएन । त्यसले गर्दा एमालेमा तत्कालका लागि पुस्तान्तरण सम्भव देखिन्न ।
नेतृत्व स्वयंले गठन गरेको कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरी त्यसलाई पुनर्लेखन गर्न लगाउनुले के संकेत गर्छ ?
एमालेको केन्द्रीय समितिमा अझै पनि अध्यक्ष ओलीको एकलौटी वर्चस्व छ । जसले गर्दा त्यहाँ उनी जे चाहन्छन्, त्यही निर्णय हुन्छ । अहिले आफैँले गठन गरेको कार्यदलबाट आएको प्रतिवेदन आफूअनुकूल नदेखिएपछि उनले आफ्ना विश्वास पात्र रामबहादुर थापालाई अगाडि सारेर प्रतिवेदन पुनर्लेखनको नाटक मञ्चन गराइरहेका छन् । यसले अध्यक्ष ओली पार्टीमा आफूले चाहेजस्तो भएन भने जे पनि गर्न तयार छन् भन्ने देखिन्छ ।
एमालेमा पुस्तान्तरणका लागि यति ठुलो सकस किन भइरहेको होला ?
एमालेमा नेतृत्वको विकल्प को हो भन्नेमा ‘ग्रासरुट’ तहसम्मै अन्योल देखिन्छ । कांग्रेसमा पार्टीभित्र जुधेर, संघर्ष गरेर र नेतृत्वलाई प्रश्न गरेर आएका नेता जति पनि थिए । त्यसैले, त्यहाँ पुस्तान्तरण सहज देखियो । तर, एमालेमा नेतृत्वलाई चुनौती दिन सक्ने नेता कोही देखिएनन् । कसैले चुनौती दिन खोज्दा उसको राजनीतिक जीवन नै समाप्त पार्ने र खुट्टा टेक्ने ठाउँसम्म नदिने काम गरियो । त्यसैले, भित्रभित्रै गुम्सिरहेको भए पनि एमालेमा अझै पुस्तान्तरणका लागि दबाब दिन सक्ने बलियो विकल्प तयार नभएको हुनाले यस्तो सकस भइरहेको हो ।