नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्देश के हो ?
१५औँ महाधिवेशनको खास मर्म भनेको पार्टीभित्र विगतमा भएका राम्रा, नराम्रा दुवै कामको विश्लेषण गर्दै भावी योजना बनाउनु हो । कांग्रेसलाई मुलुक र पार्टीभित्र थपिएका चुनौती सामना गर्न सक्ने पार्टी बनाई नागरिकबिच लोकप्रिय बनाउने र राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका अभिभावकीय तथा नेतृत्वदायी बनाउन कांग्रेसलाई रूपान्तरित र परिवर्तनशील बनाउँदै बलियो कांग्रेसका रूपमा स्थापित गर्नु नै यस महाधिवेशनको मूल सन्देश हो ।
आगामी दिनमा कांग्रेस कसरी अघि बढ्ला ?
यो सांगठनिक संरचना निर्माण गर्ने महाधिवेशन मात्रै होइन । सभापति गगन थापाले पार्टीको नीति तथा कार्यक्रम पेस गर्नुभएको छ । पार्टीलाई कसरी जनमुखी बनाउने, कसरी राष्ट्रियता बलियो बनाउने, नेपालको अर्थतन्त्रलाई कसरी बलियो बनाउने भन्ने प्रस्ट ढाँचा दिनुभएको छ । अहिले हामी प्रतिपक्षमा छौँ । कांग्रेसले सरकारलाई जनउत्तरदायी बनाउनु छ । कांग्रेसको संरचनालाई जनताको घरदैलोमा अझ बढी लोकप्रिय बनाउनु छ । अबको राष्ट्रिय राजनीतिमा रहेका चुनौतीको सामना गर्नु छ । सभापति थापाले यसबारे प्रस्ट मार्गचित्र प्रस्तुत गर्नुभएको छ । त्यही मार्गचित्रका आधारमा कांग्रेस अगाडि बढ्छ । नयाँ नीति, नयाँ दृष्टिकोण, नयाँ सिद्धान्त, नयाँ संगठनात्मक संयन्त्र निर्माण गरी बदलिएको कांग्रेसलाई जनतामाझ लिएर जाने हो ।
युवा प्रतिनिधित्वदेखि समावेशितासम्ममा आगामी दिनमा कस्तो प्रभाव पर्ला ?
जननायक बिपी कोइरालाले उहिल्यै कांग्रेसको केन्द्रीय समितिमा नेपालको अनुहार झल्काउने प्रयास गर्नुभएको थियो । नेपालको चित्र झल्किने मन्त्रिमण्डल बनाउनुभएको थियो । त्यसपछि हामी अलमलियौँ । अबको कांग्रेस कार्यसमितिमा नेपालका सबै जातजाति, वर्ग, लिंग र भूगोल देखिने गरी, सबै पुस्ता, सबै पेसा, व्यवसायको प्रतिनिधित्व हुने गरी नेपालमा भएका सबै वर्ग र समुदायको समावेशी चरित्र झल्किनेछ । नेपालका नयाँ हुन् कि पुराना दल, सबैभन्दा बढी समावेशी, उमेर समूह तोकिएको, नेपालको भूगोल समेटिएको, नेपालका सबै जातजातिको अनुहार देखिने, हिमाल, पहाड र तराईको पनि अनुहार देखिने, सबै क्षेत्रका विज्ञ पनि अटाउने क्रान्तिकारी र प्रगतिशील कांग्रेस बनाउने गरी पार्टीको विधान तयार गरिएको छ ।