रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा पहिलोपटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट ४३ सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा ग्रिडको विद्युत् पुर्याएको हो । बत्ती पुगेसँगै गोसाइँकुण्ड क्षेत्र झिलिमिली भएको छ ।
धार्मिक एवं पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुर्याइएको हो । गोसाइँकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाइँकुण्डमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुर्याइएको बताए ।
उनले भने, ‘प्राधिकरणमा जागिर सुरु गर्नासाथ मैले प्युठानस्थित धार्मिक एवं पर्यटकीय स्थल स्वर्गद्वारीमा विद्युत् पुर्याएको थिएँ, अहिले देशलाई पूर्ण रूपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाइँकुण्ड, अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिरजस्ता धार्मिक, पर्यटकीय एवं ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्याइरहेका छौँ ।’
रसुवाको सदरमुकामबाट गोसाइँकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब आठ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाइँकुण्डमा पुर्याइएको छ । यसका लागि निकुञ्जसँगको समन्वयमा दुई सयवटा पोल राखिएका छन् । पोल, ट्रान्सफर्मरलगायतका उपकरणहरू मानिस र खच्चडले ढुवानी गरिएको थियो ।
गोसाइँकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ । बर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभिएको ट्रान्सफर्मर राखिनेछ । बर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गोसाइँकुण्डमा १५–१५ केभिए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जीव भट्टराईले बताए ।
भट्टराईले गोसाइँकुण्ड जाने बाटोमा पर्ने जोलाङपाटी, लौरीबिना र बुद्धमन्दिरमा ५०–५० केभिएको वितरण ट्रान्सफर्मर राखिने बताए । जोलाङपाटी र लौरीबिनामा केही होटेलहरू सञ्चालित छन् ।
मेलाका यात्रुलाई लक्षित गरी त्यस क्षेत्रमा छाप्रा बन्ने गरेका छन् । गोसाइँकुण्डमा विद्युत् पुर्याउन गत वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो । उक्त कार्यको अनुमानित लागत करिब तीन करोड रुपैयाँ रहेको छ ।