कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म हुने

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ।

दिउँसो ३ बजेसम्मको समय तोकिएकामा मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टा लागेसँगै ढिलाइ हुँदा साँझ ५ बजेसम्मको समय थपिएको हो । 

केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको जनाएको छ ।

बिहान ७ बजेपछि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन् । मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सात हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन् । महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहितलाई गरी २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो । 

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका हुन् ।

सुझावित समाचार