काठमाडौं । विजयादशमीको बिदा अवधिमा पनि काठमाडौं जिल्ला अदालतले अत्यावश्यक न्यायिक सेवा प्रवाह गर्ने भएको छ। अदालतले असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म अदालत बन्द रहने भए पनि तोकिएका केही दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा सञ्चालन गर्ने जनाएको छ।
काठमाडौं जिल्ला अदालतले शुक्रबार जारी गरेको सूचनाअनुसार घटस्थापना, शनिबार, फूलपाती र विजयादशमीको टीकाको दिनबाहेक अन्य दिन अदालत खुला रहनेछ। दसैँ बिदाका समयमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता, जरुरी पक्राउ पुर्जीको समर्थन तथा सोही क्रममा उपस्थित अभियुक्तको म्याद थप गर्ने सेवा उपलब्ध हुने अदालतले जनाएको छ।
त्यसैगरी, कल डिटेल्स (सिडिआर) को अनुमति प्रदान गर्ने, पक्राउ अनुमति जारी गर्ने तथा धरौटी दाखिला गर्न नसकी थुनामा रहेका प्रतिवादीले धरौटी रकम बुझाउन ल्याएमा रकम बुझिलिने व्यवस्था गरिएको छ। फैसलाबमोजिम ठहर भएको जरिवाना रकम तिरेर छुट्नुपर्ने व्यक्तिका लागि जरिवाना रकम बुझिलिने सेवासमेत बिदाको अवधिमा सञ्चालन हुनेछ।
अदालतले दसैँ बिदाका समयमा अत्यावश्यक न्यायिक काम प्रभावित हुन नदिन यस्तो व्यवस्था गरेको जनाएको छ। उक्त व्यवस्थाबाट बिदाको समयमा पनि सेवाग्राहीले आवश्यक न्यायिक सेवा प्राप्त गर्न सक्नेछन्।