दक्षिण एसियाली मुलुक बंगलादेशको विश्वसनीय आर्थिक प्रगतिको श्रेय पाएकी प्रधानमन्त्री शेख हसिना सन् २००९ देखि सत्तामा थिइन् । उनी सबैभन्दा लामो समय (१५ वर्ष) सत्तामा रहेकी दक्षिण एसियाली नेतृ हुन् । पछिल्लो चुनावमा उनी नेतृत्वको अवामी लिगले प्रत्यक्ष निर्वाचन भएका २९९ मध्ये २२३ सिट जितेको थियो । ३५० सदस्यीय बंगलादेशी संसद्मा उनको पार्टीका मात्रै २७२ सांसद छन् । शेख हसिनाले लगातार चारवटा आमनिर्वाचन त जितिन्, तर त्यसको निष्पक्षतालाई लिएर अन्तर्राष्ट्रिय समुदायले सधैँ आवाज उठाइरह्यो ।
विश्लेषकहरू मान्छन् कि बंगलादेशको प्रगतिमा हसिनाको हात छ । कुनै समय अस्थिर राजनीति भएको देश उनकै नेतृत्वमा दक्षिण एसियामा सबैभन्दा तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने देशका रूपमा स्थापित भएको छ । तर, उनमा बहुमतको दम्भले तानासाही प्रवृत्ति बढ्दै गएको थियो । आलोचकहरू त उनलाई ‘लोकतान्त्रिक तानासाह’समेत भन्न थालिसकेका थिए ।
यद्यपि, लगातार बढिरहेको तानासाही सोचकै कारण उनले देशको प्रगति गरेकी हुन् भन्ने मान्यता राख्नेहरू पनि छन् । ७६ वर्षीया हसिनाले प्रधानमन्त्रीका रूपमा चीन र भारतसँग सम्बन्ध सन्तुलित बनाएकी थिइन् । उनीमाथि कैयौँपटक हमलाको प्रयास भए । मानव अधिकार हनन मुद्दामा पनि उनले धेरैपटक प्रदर्शनको सामना गर्नुपरेको थियो ।
बंंगलादेशले वार्षिक ५५ अर्ब डलरको गार्मेन्ट निर्यात गर्दै आएको छ । २०१५ मा निम्नमध्यम आय भएको मुलुक रहेकामा सन् २०३१ मा प्रतिव्यक्ति आय चार हजार अमेरिकी डलर पुर्याउने लक्ष्य थियो । २०४१ मा विकसित मुलुक बन्ने महत्वकांक्षा थियो । नयाँ परिवर्तनसँगै यो महत्वकांक्षा के हुन्छ, स्पष्ट छैन ।