संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन्। उनले आफ्नो ठाउँमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिनाको अन्त्यमा विनाशकारी बहस प्रदर्शनपछि चुनावमा आफ्नो व्यावहारिकताबारे बढ्दो संख्यामा डेमाेक्य्राटहरूले चिन्ता व्यक्त गरेपछि राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गरेका हुन्।
‘मैले उम्मेदवारी नदिने र राष्ट्रपतिको रूपमा बाँकी कार्यकालको आफ्नो कर्तव्य पूरा गर्नमा मात्र ध्यान केन्द्रित गर्नु मेरो पार्टी र देशको हितमा छ भन्ने मलाई विश्वास छ,’ सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्।
उनले आफ्नो निर्णयबारे विस्तृत रूपमा यस हप्ताको अन्त्यमा राख्ने बताएका छन्।
अर्को पोस्टमा, उनले यस वर्ष डेमोक्य्राटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो पूर्ण समर्थन र प्रस्ताव गर्न चाहेको बताएका छन्। ‘डेमोक्य्राटहरू एकजुट भएर ट्रम्पलाई हराउने समय हो । यो गरौँ,’ उनले लेखेका छन्।
वर्तमान अमेरिकी राष्ट्रपति र सम्भावित उम्मेदवार यसअघि चुनावी प्रक्रियामा यति ढिलो दौडबाट बाहिरिएका छैनन्। हाल ८१ वर्षका बाइडेनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतबार राति नै आफ्नो दल र देशको हितका लागि आफूले पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने योजनालाई अन्त्य गरेको बताएका हुन्।
उनले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले ‘ठूलो सम्मानको रूपमा लिएको’ र सन् २०२५ जनवरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।
अब अमेरिकी राष्ट्रपतिमा डेमोक्य्राटिक पार्टीका तर्फबाट उपराष्ट्रपति ह्यारिस र रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने सम्भावना छ।
यद्यपि, डेमोक्य्राटिक पार्टीको अगस्टमा हुने राष्ट्रिय सम्मेलनबाट राष्ट्रपतिको उम्मेदवार चयन गरिने कार्यतालिका छ। गत जुन २७ मा भएको राष्ट्रपतीय निर्वाचनको बहसमा फितलो प्रस्तुति भएको भन्दै डेमोक्य्राटहरूबाटै उनको आलोचना भएको थियो।
उपराष्ट्रपति ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनीत हुन पाउँदा सम्मानित महसुस भएको बताएकी छिन्। उनले आफूले ट्रम्पविरुद्ध ‘देशलाई एकताबद्ध गर्ने’ पनि बताएकी छिन्।