पहिलोपटक पेरिस ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिता जनाउन लागेका नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पहिलो खेलमै कठिन प्रतिद्वन्द्वी पाएका छन् । मलेसियामा बिहीबार ब्याडमिन्टन विधाको ड्र निकालिँदा प्रिन्सले विश्व ब्याडमिन्टन महासंघको दोस्रो वरीयतामा रहेका डेनिस खेलाडी भिक्टर एक्सलसनले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रिन्स र भिक्टर समूह ‘पी’मा छन् । यस समूहमा आयरल्यान्डका ४३औँ स्थानमा रहेका नियात नुयन, इजरायलका मिस जिल्वरमन ५९औँ वरीयताका छन् । नेपालका प्रिन्सको विश्व ब्याडमिन्टनमा एक सय ७२औँ स्थान हो । महासंघले पेरिस ओलम्पिकमा प्रतिस्धर्पा गर्ने ब्याडमिन्टन खेलाडीलाई १६ समूहमा विभाजन गरेको छ । पेरिस ओलम्पिकमा पुरुष एकलमा कुल ४१ खेलाडी छन् । ड्र निकाल्दा १२ समूहमा तीन खेलाडी परेका छन् ।
प्रिन्स रहेको समूहमा मात्र चार खेलाडी छन् । हरेक समूहका शीर्ष दुई खेलाडीले अन्तिम ३२ मा स्थान पक्का गर्नेछन् । यद्यपि, प्रिन्सको समूहका विजेता सीधै क्वार्टरफाइनलमा पुग्नेछन् । १९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछन् । प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्न लागेका हुन् । ब्याडमिन्टनमा यसपटक एक सय ६६ नियमित कोटा (८३ पुरुष र ८३ महिला), तीन युनिभर्सालिटी कोटा र एक ओलम्पिक रिफ्युजी कोटामार्फत खेलाडी प्रतिस्पर्धा गर्दै छन् । आयोजक कोटामा फ्रान्सका खेलाडी वरीयताबाट योग्य हुँदा त्यसमा अर्का योग्य खेलाडीले खेल्नेछन् ।
प्रशिक्षकविहीन ओलम्पिक यात्रा
पछिल्लो समय नेपाली ब्याडमिन्टनमा एकपछि अर्को उपाधि हात पारेका प्रिन्सले लामो समयदेखि ओलम्पिक लक्षित तयारी थालेका छन् । तर, नेपाल ब्याडमिन्टन संघले समयमै प्रशिक्षकको नाम सिफरिस नगर्दा प्रिन्स आफ्नो पहिलो ओलम्पिक यात्राका प्रशिक्षकविहीन हुनेछन् ।
यद्यपि, उनलाई ओलम्पिकमा सहयोग गर्न श्रीलंकाली प्रशिक्षकलाई नेपाल ओलम्पिक कमिटीले आग्रह गरेको छ । उनी दुई महिनादेखि श्रीलंकाको कोलम्बोमा प्रशिक्षणमा छन् । तीन वर्षअघि प्रिन्स यू–१९ उमेर समूहकै विश्व वरीयताको शीर्ष स्थानमा उक्लेका थिए । प्रिन्सले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका आधारमा अंक हासिल गरेका थिए । जसका कारण उनलाई ओलम्पिक खेल्ने बाटो खुलेको हो ।