युद्धले समस्या समाधान गर्न सक्दैन : मोदी

बुधबार, २७ असार, २०८१
डिजिटल संस्करण

रुसको भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरे । भेटमा मोदीले पुटिनलाई ‘युद्धले समस्याको समाधान नगर्ने’ बताउँदै शान्तिलाई महत्व दिन आह्वान गरे ।

पुटिनसँग मोदीले हिन्दीमा कुराकानी गरेका थिए, जसलाई इन्टरप्रेटरले रुसी भाषामा अनुवाद गरेर छेउमा रहेका पुटिनलाई अर्थ्याएका थिए । मस्को भ्रमणका क्रममा पुटिन र आफूले युक्रेनमा रुसी सैन्य अभियानलगायत धेरै विषयमा छलफल गरेको मोदीले जानकारी दिए ।

‘एउटा सच्चा मित्रका रूपमा हामीले धेरै मुद्दामा छलफल गर्यौँ । युक्रेनबारे हामी दुवैले आफ्नो विचार खुला र विस्तृत रूपमा राख्न सकेकामा खुसी लागेको छ,’ मोदीले भने । भारतीय सरकारी स्रोतले उपलब्ध गराएको वार्ताको विषयवस्तुका अनुसार मोदीले युक्रेन द्वन्द्वको समाधान युद्धभूमिमा पाउन नसकिने धारणा रोखका थिए ।

प्रधानमन्त्री मोदीले मंगलबार सैनिकको चिहानमा पुष्पचक्र अर्पण गरे भने रोसाटम मण्डपको भ्रमण गरे । यसअघि सोमबार प्रधानमन्त्री मोदी २२औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति पुटिनको निमन्त्रणामा दुईदिने आधिकारिक भ्रमणका लागि मस्को पुगेका थिए । रुसका प्रथम उपप्रधानमन्त्री डेनिस मन्टुरोभले प्रधानमन्त्री मोदीलाई भ्नुकोवो–२ विमानस्थलमास्वागत गरेका थिए ।

रुस भारतका लागि न्यून मूल्यको तेल र हतियारको प्रमुख आपूर्तिकर्ता हो । तर, पश्चिमबाट मस्कोको एक्लोपन र बेइजिङसँगको बढ्दो मित्रताले नयाँदिल्लीसँगको उसको साझेदारीलाई असर गरेको बताइँदै छ । हालैका वर्षमा पश्चिमी शक्तिले पनि चीन र एसिया–प्रशान्तमा उनीहरूको बढ्दो प्रभावका रूपमा भारतलाई रुसबाट टाढा रहन दबाब दिँदै भारतसँग सम्बन्ध विकास गरेका छन् । 

See More On

सुझावित समाचार