तेस्रोपटक एसिया कप खेल्न लागेको नेपाल १९ जुलाईदेखि श्रीलंकामा सुरु हुने प्रतियोगितामा भारत र पाकिस्तानको समूहमा छ
श्रीलंकाको कोलम्बोमा नवौँ संस्करणको महिला एसिया कप क्रिकेट प्रतियोगिता १९ जुलाईदेखि सुरु हुँदै छ । एसिया कपको मुख्य विशेषता नै नेपाली महिला क्रिकेटरले भारत र तथा पाकिस्तानजस्ता ठूलो प्रतिस्पर्धीविरुद्ध खेल्ने अवसर पाउनु हो । नेपाल, पाकिस्तान, भारत र युएई समूह ‘ए’मा छन् । भाग्यले साथ पाउँदा यसपटक नेपालले एसिया कप खेल्न मौका पाएको हो । गत फेब्रुअरीमा एसिसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको थियो ।
प्रिमियर कपको फाइनल पुग्ने दुई टोली एसिया कपमा छनोट हुने प्रावधान थियो । मलेसिया र युएईले फाइनल स्थान बनाउँदै एसिया कपको टिकट पक्का गरेका थिए । सेमिफाइनलबाटै बाहिरिएपछि नेपालको एसिया कप खेल्ने सपना समाप्त भयो । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले एसिया कपलाई प्रतिस्पर्धात्मक बनाउन सहभागी संख्या आठ पुर्याइयो ।
एसिसीले सेमिफाइनलमा पराजित भएका दुई टोली नेपाल (तेस्रो भएको र थाइल्यान्ड (चौथो)लाई पनि एसिया कपमा सहभागी गराउने निर्णय गर्यो । एसिसीले थप गरेको कोटामै नेपालले स्थान बनाएको हो । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को पूर्णकालीन सदस्यका रूपमा प्रतियोगितामा सहभागिता जनाएको हो । गत वर्ष पुरुषतर्फको एसिया कपमा नेपाली पुरुष टोलीले एसिया कपका भारत र पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्न अवसर पाएको थियो ।
नेपालले पाकिस्तानको घरेलु मैदानमा पाकिस्तानसँग भिडेको थियो । श्रीलंकामा भारतसँग नेपालको खेल भएको थियो । विश्व क्रिकेटकै शक्तिशाली राष्ट्रविरुद्ध पुरुष क्रिकेटरले उत्कृष्ट प्रदर्शन गरी वाहवाही कमाएको थियो । एक वर्षपछि अब नेपाली महिला टोलीसमक्ष त्यति नै चुनौती छ ।
दुई सहभागितामा जितविहीन
श्रीलंकाले आयोजना गरेको यो नवौँ संस्करणको एसिया कप हो । नेपालको भने तेस्रो सहभागिता हो । सन् २०१२ र २०१६ मा नेपालले स्थान बनाएको थियो । चीनमा भएको पाँचौँ संस्करणमा नेपालले पहिलोपटक भाग लिँदा श्रीलंका, बंगलादेश र चीनविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपाल समूह चरणभन्दा माथि उठ्न सकेन । नेपालले आफ्नो समूहमा तीनवटै खेल गुमाएको थियो । सन् २०१६ मा थाइल्यान्डमा भएको छैटौँ संस्करणको एसिया कपमा नेपालको दोस्रो सहभागिता रह्यो । एसिसीले यो संस्करणमा केवल ६ राष्ट्रबीच लिग आधारमा प्रतिस्पर्धा गराएको थियो ।
यसपटक पनि नेपालले कुनै खेल जित्न सकेन । नेपालले आठ वर्षअघि नै भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्न अवसर पाउँदा गतिलो प्रदर्शन गर्न सकेन । नेपाल पाकिस्तानसँग नौ विकेट, श्रीलंकासँग आठ विकेट, बंलादेशसँग ९२ रन, थाइल्यान्डसँग आठ विकेट तथा भारतसँग ९९ रनको फराकिलो अन्तरले पराजित भएको थियो । समग्रमा नेपालले दुई संस्करणमा भाग लिँदा एक जित पनि निकाल्न सकेन । ब्याटिङ, बलिङ र फिल्डिङमा नेपाली महिला खेलाडीको कमजोर प्रदर्शन भएको थियो ।
आठ वर्षपछि मौका
सन् २०१६ पछि नेपाली महिला क्रिकेटरले एसिया कपमा भाग लिन आठ वर्ष प्रतीक्षा गरेका छन् । त्यो पनि एसिसीले थप कोटा लागू गरेपछि नेपाल र थाइल्यान्डको भाग्य चम्केको हो । तेस्रोपटकको सहभागिता विशेष बनाउन खेलाडीहरूले त्रिवि क्रिकेट मैदानमा लगातार प्रशिक्षण गरेका थिए । त्रिवी मैदानमा भएको क्लोज क्याम्पमा महिला क्रिकेटरले आइसिसी टी–२० विश्वकपमा सहभागी भएका पुरुष खेलाडीबाट अनुभव बटुल्ने अवसर पाए ।
कप्तान रोहितकुमार पौडेल, लेग स्पिनर सन्दीप लामिछाने, पूर्वकप्तान तथा नेपाली राष्ट्रिय टोली ‘ए’का प्रशिक्षक ज्ञानेन्द्र मल्ललगायत सिनियर क्रिकेटरबाट महिला खेलाडीले टिप्स पाए । उनीहरूले ठूला प्रतियोगितामा खेललाई कसरी नियन्त्रणमा लिनुपर्छ जस्ता सैद्धान्तिक ज्ञान दिएका थिए । क्लोज क्याम्पपछि नेपाली टोली श्रीलंकामा प्रतियोगितामा सहभागी हुन पुगेको छ । नेपाली खेलाडीले सोमबार श्रीलंकाली पूर्वक्रिकेटर रत्नाकेरबाट विशेष प्रशिक्षण अवसर मिल्यो ।
वर्तमान महिला टोलीकै सिनियर खेलाडी रुविना क्षेत्रीले पुरुषले झै महिला क्रिकेट टोलीले पनि राम्रो प्रदर्शन गर्न सक्ने बताइन् । ‘विश्वकपमा एसोसिएट टोलीले ठूला प्रतिद्वन्द्वीलाई चुनौती दिन सक्ने देखाए, अव हामीले पनि राम्रो खेल्नुपर्छ,’ उनले भनिन् । नेपाली महिला क्रिकेटका लागि यो सर्वाधिक ठूलो प्लेटफर्म हो । नेपाल, थाइल्यान्ड र युएईजस्ता राष्ट्रलाई टेस्ट टोलीविरुद्धको एक्सपोज निकै प्रभावकारी हुने विश्वास खेलाडीले लिएका छन् ।
नेपाल अभ्यास खेलमा ३३ रनले पराजित
तेस्रोपटक एसिसी एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मंगलबार भएको अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टसँग ३३ रनले पराजित भएको छ । श्रीलंकाली टोलीले पहिलो ब्याटिङ गरी २० ओभरमा आठ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । दोस्रो इनिङ सुरु हुने वेलामा वर्षाले प्रभावित बनाएको थियो । नेपालले नयाँ लक्ष्यअनुसार १५ ओभरमा ९६ रन पायो । लक्ष्य पछ्याउँदा नेपालले १५ ओभरमा सबै विकेट गुमाएर ६३ रन बनायो । नेपालको ब्याटिङमा रुविना क्षेत्रीले सर्वाधिक १७ रन तथा सिता रानामगरले ११ रनको योगदान दिए ।
बलिङमा डेभलपमेन्टकी देवमी विहांगाले ३ विकेट लिइन् । घरेलु टोलीकी सेहानीले २ विकेट लिइन् । ब्याटिङमा डेभलेपमेन्टकी दुलानीले २७ रन बनाइन् । नेपालकी सबनम राईले सर्वाधिक तीन र राजमति ऐरीले १ विकेट लिएका थिए । नेपालले श्रीलंका डेभलपमेन्टसँग तीन टी–२० खेलको सिरिज खेल्नेछ । नेपालले दोस्रो खेल बुधबार र तेस्रो खेल आगामी मंगलबार खेल्नेछ । नेपालले एसिसी एसियाकप अघि तयारी खेल खेलेको हो ।