साबिक विजेता चेन्नई तेस्रो स्थानमा

राजस्थानलाई पाँच विकेटले हराएको साबिक विजेता चेन्नई १४ अंकका साथ आइपिएलको तेस्रो स्थानमा उक्लेको छ

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

इन्डियन प्रिमियर लिग (आइपिएल)को साबिक विजेता चेन्नई सुपर किंग्स तेस्रो स्थानमा उक्लेको छ । प्रतियोगिताअन्तर्गत ६१औँ खेलमा चेन्नईले राजस्थान रोयल्सलाई पाँच विकेटले हराउँदै स्थान सुधार गरेको हो । जितसँगै चेन्नईले प्ले अफको सम्भावना बलियो बनाएको छ । पहिलो ब्याटिङ गरेको राजस्थानले २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो । प्रत्युत्तरमा चेन्नईले १८.२ ओभरमा पाँच विकेटको क्षतिमा १४५ रन बनायो । चेन्नईले १० बलअघि नै पाँच विकेटको जित निकालेको हो ।

अंक तालिकामा चेन्नईले १३ खेलबाट १४ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको कोलकाता नाइटराइडर्सले १२ खेलबाट सर्वाधिक १८ अंक जोडेको छ । चेन्नईसँग पराजित राजस्थान १६ अंकका साथ दोस्रो स्थानमा छ । यसैगरी, सनराइजसं हैदराबाद १४ अंकका साथ चौथो स्थानमा छ ।

लक्ष्य पछ्याउँदा चेन्नईको संघर्ष
राजस्थानले प्रस्तुत गरेको १४५ लक्ष्य पछ्याउन चेन्नईले संघर्ष गर्नुपरेको थियो । राचिन रविन्द्रा र ऋतुराज गाइकवाडले पहिलो विकेटका लागि ३.२ ओभरमा ३२ रनको साझेदारी गरेका थिए । रविचन्द्रन आश्विनले राचिनलाई कट एन्ड बोल्ड गरे । राचिनले १८ बलमा २७ रन बनाए । त्यसपछि ऋतुराज र डर्यल मिचेलले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । मिचेलले १३ बलमा २२ रनको योगदान दिए । उनले आफ्नो इनिङ्समा चार चौका प्रहार गरे । कप्तान ऋतुराजले मोइन अलीसँग तेस्रो विकेटका लागि २१ रन जोडे । अलीले १३ बलमा १० रन बनाए । 

चेन्नईले मध्यक्रमका ब्याट्सम्यानले गतिलो रनको योगदान नदिँदा सहज लक्ष्य पछ्याउन संघर्ष गरेको हो । शिभम दुबेले ११ बलमा १८ रन बनाए । समीर रिज्वीले आठ बलमा तीन चौकाको सहयोगमा १५ रन बनाए । अनितमसम्म आउट नभएका ऋतुराजले ४१ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ४२ रनको योगदान दिए । 

कसिलो बलिङ
पहिलो ब्याटिङ गरेको राजस्थानले चेन्नईको कसिलो बलिङ सामना गर्न सकेन । सिमर्जित सिंहले चार ओभरमा २६ रन खर्चंदै तीन विकेट लिए । रवीन्द्र जडेजाले चार ओभरमा २४ रन खर्चेका थिए । राजस्थानको ब्याटिङमा रियान परागले सर्वाधिक ४७ रन जोडेका थिए । उनले ३५ बलमा तीन छक्का र एक चौका प्रहार गरेका थिए । राजस्थानले पहिलो विकेटका लागि ६.२ ओभरमा ४३ रन जोडेको थियो । ओपनर यशस्वी जैसवालले २१ बलमा एक छक्का र तीन चौकाको सहयोगमा २४ रन बनाए । जोस बटलरले २५ बलमा २१ रन जोडे । ध्रुव जुरेलले १८ बलमा २८ रन बनाए । 

See More On

सुझावित समाचार