संघसँग राखेपले माग्यो निर्वाचनको कार्ययोजना

आइतबार, २ बैशाख, २०८१
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय खेल संघलाई ११ बुँदे निर्देशन दिँदै निर्वाचन नभएका खेल संघ तथा महासंघसँग निर्वाचनको कार्यतालिका माग गरेको छ । ‘सदस्यसचिवस्तरीय निर्णयअनुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार निर्वाचन नभएका खेल संघ तथा महासंघसँग कार्यतालिका माग गरिएको छ,’ राखेपले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । राखेपले आर्थिक कारोबार गर्दा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६’ अनुसार हुनुपर्ने जनाएको छ । 
यसैगरी, राष्ट्रिय खेल संघ र महासंघको विषयमा परेका निवेदन र उजुरीको सम्बन्धमा परिषद्बाट माग गरिएको राय र प्रतिक्रिया एवं आवश्यक कागजात तोकिएको समयभित्र अनिवार्य रूपमा बुझाउनुपर्ने राखेपले निर्देशन दिएको छ । संघ तथा संस्थाले अन्तर्राष्ट्रिय संस्था वा व्यक्तिबाट सहयोग प्राप्त गर्दा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को देहाय (ज)बमोजिम परिषद्को सिफारिसमा मन्त्रालयमार्फत अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने निर्देशन राखेपले गरेको छ । 

‘परिषद्बाट प्राप्त अनुदान वा अनुदानबाहेक संघ तथा महासंघको अन्य स्रोतबाट सञ्चालन भएका खेलकुदसम्बन्धी कार्यक्रम सम्पन्न भएपछि १५ दिनभित्र त्यसको प्रतिवेदन परिषद्मा अनिवार्य रूपमा बुझाउनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

राखेपले खेल संघ र महासंघको आयोजना एवं सहभागितामा हुने गतिविधिका लागि सम्बन्धमा वार्षिक लेखापरीक्षण प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख गरी परिषद्समक्ष पेस गर्नुपर्ने जनाएको छ । साथै, संघहरूको नियमित प्रशिक्षण, सेमिनार, ग्रेडिङ, संगठन संरचना तथा आर्थिक क्रियाकलापलगायतका विषयमा १५ दिनभित्र निर्देशन कार्यान्वयनसम्बन्धी खाका राखेपसमक्ष पेस गर्न भनिएको छ । 

See More On

सुझावित समाचार