युरोपका विभिन्न मुलुक पठाउने प्रलोभनमा ६ सयभन्दा धेरैबाट ५९ करोड ठगी गर्ने युरो विङ्स इजुकेसन कन्सल्टेन्सीका सञ्चालक विकास वाइबा भनिने सुजन तामाङ पक्राउ परेका छन् । काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुरको पुल्चोकबाट बुधबार पक्राउ गरेको हो ।
तामाङले युरोपियन मुलुक माल्टा, पोल्यान्ड र क्रोसियासहित क्यानडा पठाउने प्रलोभनमा ६ सयभन्दा धेरैबाट ५९ करोड उठाएका थिए । जसमध्ये ६ सय दुई पीडितको उजुरी प्रहरी कार्यालयमा परिसकेको छ । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले फर्जी कागजात बनाएर तामाङले सर्वसाधारण ठग्ने गरेको बताए । ‘६ सयभन्दा धेरै युवा ठगेको भन्दै वैदेशिक रोजगार विभागबाट जाहेरी आयो । घटनाको अनुसन्धान थाल्दा ७० जनाको जाहेरी नै परिसकेको छ ।
उनीहरूले तीन करोड २५ लाख २२ हजार रुपैयाँ ठगी भएको जाहेरी दिएका छन् । सबै पीडितको जाहेरी आउँदा ठगिएको रकम ५९ करोड नाघ्छ । पीडितबाट जाहेरी आउने क्रम जारी छ,’ उनले भने । प्रहरीका अनुसार तामाङले विकास वाइबाको आवरणमा ठगीधन्दा चलाउँदै आएका थिए । उनीसँग वाइबाको नाममा नागरिकता प्रमाणपत्र छ । सोही प्रमाणपत्रका आधारमा उनले गत वैशाखबाट बालाजुमा युरो विङ्स इजुकेसन कन्सल्टेन्सी खोलेका थिए । सोही कन्सल्टेन्सीबाट उनले ६ सयभन्दा धेरै युवासँग रकम असुलेको प्रहरीको भनाइ छ ।
‘तामाङले विकास वाइबाको नागरिकता प्रयोग गरी कन्सल्टेन्सी खोलेको देखिन्छ । आफूलाई सोही आवरणमा परिचित गराउँथे । युवालाई विदेश पठाइदिने सपना देखाउँथे र ठगीधन्दा चलाउँथे,’ अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले भने ।
प्रहरीका अनुसार उनले क्यानडाका लागि प्रतिव्यक्ति १८ लाख, माल्टाका लागि प्रतिव्यक्ति आठ लाख, पोल्यान्डका लागि प्रतिव्यक्ति सात लाख र क्रोसियाका लागि प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँसम्म उठाउँथे । प्रहरीका अनुसार तामाङको आवरणमा धन्दा चलाउँदा पक्राउ परिने डर भएपछि उनले यस्तो गरेका हुन् ।
सुजनविरुद्ध प्रहरीले ०७७ मै ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनी केही वर्ष भारतको विभिन्न सहरमा लुक्दै आएका थिए । नेपाल फर्केपछि भने उनी विकास वाइबाको नाममा परिचित भएका थिए । सुजन ०७३ देखि ०७७ सम्म विभिन्न मेनपावर कम्पनीमा एजेन्टका रूपमा काम गर्थे । सोही क्रममा उनले विभिन्न व्यक्तिलाई ठगी गरेका थिए । सोही मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।