बंगलादेशमा बिआरआईअन्तर्गत निर्मित १७२ किलोमिटर लामो रेलमार्ग तयार

आइतबार, २४ भदौ, २०८०
डिजिटल संस्करण

बंगलादेशमा चीनद्वारा निर्मित पद्या पुल हुँदै बनेको मेगा रेल्वे अर्को महिना उद्घाटन हुने भएको छ। चीनद्वारा निर्मित यात्रुवाहक डिब्बासहितको रेल्वे सेवा नवनिर्मित रेललाइनमा सञ्चालन गरी परीक्षण गरिएको हो। 

बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गतको १७२ किलोमिटर लामो रेलमार्ग चाइना रेल्वे ग्रुप लिमिटेड (सिआरइसी) ले निर्माण गरेको हो। यसमा एक्सपोर्ट—इम्पोर्ट बैंक चाइनाको लगानी छ। रेलमा बंगलादेशका रेलमन्त्री नुरुल इस्लाम सुजन, वरिष्ठ अधिकारी, सांसद र पत्रकारहरू सवार थिए।

बंगलादेश र चीनबीचको आर्थिक सम्बन्ध राम्राे रहेको र भविष्यमा अझै सहयोग हुने अपेक्षा गरेको बंगाली सांसद सैफुज्जमान शिखरले बताए। 

उनले बंगलादेशका लागि यो क्षण ऐतिहासिक भएको भन्दै विगतको सपना अहिले पूरा भएको बताए। यस्तै साढे पाँच वर्षपछिको मिहिनतबाट आयोजना सफल भएकोमा पद्या रेल लिंक परियोजनाका परियोजना निर्देशक शी युआनले खुसी व्यक्त गरे। 

उनले शनिबार रेलमार्ग परीक्षण गरेको र अर्को महिनाबाट उद्घाटन हुने बताए। शनिबार ६ सय यात्रु बोकेर रेल गन्तव्यमा पुगेको थियो। एक सय ७२ किलोमिटर पार गर्न करिब दुई घन्टा लाग्ने बताइएको छ। 

सिन्ह्वाको सहयोगमा तयार पारिएको समाचार सामग्री । 
 

सुझावित समाचार