अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसी तेल उद्योगमाथि गरिने लामो दूरीका आक्रमण तत्काल रोक्न दबाब बढाएसँगै युक्रेनी सेनाको स्टारलिंक स्याटेलाइट इन्टरनेट टर्मिनलहरूमाथिको पहुँच अचानक संकुचित पारिएको छ ।
इलान मस्कको स्वामित्वमा रहेको ‘स्पेस–एक्स’द्वारा वितरित तथा व्यवस्थापन गरिने यी टर्मिनलहरू युक्रेनको सैन्य कारबाहीका लागि महत्वपूर्ण रहँदै आएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सैन्य प्रविधि सल्लाहकारका अनुसार, मंगलबार साँझदेखि उच्च गतिमा चलिरहेका टर्मिनलहरूमा अचानकको सुस्तता आउन थालेको थियो । यसले गर्दा कैयौँ लडाकु मिसनहरू असफल भएको युक्रेनी सरकारले जनाएको छ ।
स्पेस–एक्समा अचानकको अवरोध यस्तो समयमा आएको छ, जब रुसले लगातार दोस्रो रात युक्रेनमा ठुलो संख्यामा ब्यालिस्टिक मिसाइलहरू प्रहार गर्यो । यसपटक अमेरिकाबाट आक्रमणको पहिले नै आउने पूर्वसूचना युक्रेनी पक्षले पाएन । युद्ध सुरु भएदेखि नै रुसी आक्रमण हुनुअघि अमेरिकाले युक्रेनलाई ‘गुप्तचर सूचना साझेदारी’अन्तर्गत जानकारी उपलब्ध गराउँदै आएको थियो ।
राष्ट्रपति ट्रम्पले भने आफ्ना सरकारले युक्रेनसँगको गुप्तचर सूचना आदानप्रदान बन्द गरेको कुरा अस्वीकार गरेका छन् । जेलेन्स्कीले पनि बुधबार अमेरिकी मिडिया ‘एनपिआर’मा प्रसारित अन्तर्वार्तामा अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान जारी राखेको संकेत गरे । तर, सैन्य सल्लाहकारहरूले भने गुप्तचर सूचनाको साझेदार पनि कम हुन सक्ने भनी अमेरिकाबाट धम्की पाएको कुराको पुष्टि गरे ।
स्पेस–एक्सले स्टारलिंकको कार्यक्षमतामा कुनै परिवर्तन भएको पुष्टि गरेको छैन । युक्रेनी रक्षा मन्त्रालयका प्रविधि सल्लाहकार सेरही बेस्क्रेस्टनोभका अनुसार, १०० माइल प्रतिघण्टाभन्दा बढी गतिमा चलिरहेका र सेना तथा अन्य राष्ट्रिय सुरक्षा निकायहरूका लागि स्टारलिंकको संस्करण प्रयोग गरिरहेका टर्मिनलहरूको सम्पर्क अचानक विच्छेद भएको थियो । यो सैन्य कारबाहीमा अवरोध पुर्याउने उद्देश्यले गरिएको लक्षित अवरोधजस्तो देखिन्थ्यो ।
स्टारलिंकको पहुँचको गति सीमित हुँदा युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा ठुलो असर पर्नेछ । किनभने यसको प्रयोग ‘सबैभन्दा आधुनिक र प्रभावकारी समाधान’मा भइरहेको बेस्क्रेस्टनोभले बताए । अर्थात्, युक्रेनमा बमबारी गर्न ठुलो संख्यामा प्रयोग हुँदै आएको रुसी ‘सहिद’ ड्रोनहरू खसाल्ने इन्टरसेप्टरहरूमा यसको प्रयोग गरिन्छ ।
अन्य सञ्चार प्रभावित हुँदा स्थिर स्टारलिंक टर्मिनलहरूको पहुँच भने काटिएको छैन । यसले गर्दा सैनिकहरूका लागि युद्धमैदानको महŒवपूर्ण सञ्चार व्यवस्थामा भने कुनै असर नपर्ने देखिन्छ । रुसी मिसाइल र ड्रोन आउँदै गरेको पत्ता लगाउने कार्य अन्य प्रविधिहरूमा निर्भर गर्दछ ।
ट्रम्पका सहयोगी मस्कले यसअघि पनि रुसी भूभागको सानो हिस्सा कब्जा गर्ने क्रममा गरिएको आक्रमणका वेला युक्रेनी सैनिकहरूका लागि स्टारलिंक सेवा बन्द गरिदिएका थिए । दुई राष्ट्रपतिबिचको व्यक्तिगत विवाद छताछुल्ल भएसँगै, मस्कले युक्रेनका नेताका रूपमा जेलेन्स्कीलाई हटाउनुपर्ने ट्रम्पको मागलाई समर्थन गरेका छन् ।
युद्धको अग्रमोर्चामा ‘स्टारलिंक’को गति सीमित पारिएको भन्ने खबरलाई केहीले अमेरिकाद्वारा युक्रेनमाथि युद्ध अन्त्य गर्न र जुनसुकै मूल्यमा रुससँग सम्झौता गर्नका लागि थप दबाबको रूपमा अथ्र्याएका छन् । ट्रम्पले केहीअघि युक्रेनलाई रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण रोक्न माग गरेका थिए ।
उनले विश्वभर डिजेलको उच्च मूल्यका लागि यी आक्रमणलाई दोषी ठहराएका छन् । जबकि विश्लेषकहरूले भने विश्वव्यापी ऊर्जा मूल्यमा देखिएको वृद्धि ‘स्ट्रेट अफ होर्मुज’को आवागमन बन्द हुनुको प्रभाव भएको बताइरहेका छन्, जुन मार्ग ट्रम्पले इरानमाथि युद्ध सुरु गरेदेखि प्रभावित छ ।
गत हप्ता ट्रम्पले एकतर्फी रूपमा रुस र युक्रेनबिच ‘ऊर्जा युद्धविराम’को घोषणा गरेका थिए, जसको पुष्टि रुस र युक्रेन पक्षले गरेका छैनन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भने ‘ट्रम्पले प्रस्ताव गरेको ऊर्जा युद्धविरामबारे विस्तृत विवरण दिइएको थिएन । त्यसैले, रुसले यसको पालना गरिरहेको छैन भनेर दाबी गर्न सकिँदैन ।’
ट्रम्पका दबाबपछि युक्रेनले रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गर्ने कार्यमा अल्पकालीन रोक लगाएको छ । किभ ट्रम्पसँग सम्बन्ध सुधार गर्नका लागि रुससँग वार्ता गर्न तयार रहेको देखाउन चाहन्छ । यसै दिशामा जेलेन्स्की अमेरिकासँग नयाँ वार्ताको प्रयास गरिरहेका छन् ।
द गार्जियनबाट